© २०२३
बुटवल, १३ पुस । रूपन्देही र पाल्पा जिल्लाको माटोमा प्रांगारिक पदार्थको मात्रा ज्यादै न्यून भएको पाइएको छ । व्यवसायिक रूपमा खेती गर्दै आएका किसानहरूको माटोको नमुना परिक्षण गर्दा प्रांगारिक पदार्थको मात्रा ज्यादै न्यून भएको पाइएको हो ।
माटो तथा मल परिक्षण प्रयोगशाला बाँकेबाट खटिएको प्राविधिक टोलीले गरेको माटोको नमुना परिक्षणमा माटोमा प्रांगारिक पदार्थको मात्रा ज्यादै न्यून भएको पाइएको हो । बुटवलमा रूपन्देही व्यापार संघद्वारा जारी लुम्बिनी एक्स्पो २०८० मा कृषि विकास निर्देशनालय बुटवलको सह–आयोजना र माटो तथा मल परिक्षण प्रयोगशाला बाँकेको प्राविधिक सहयोगमा जारी निःशुल्क माटो परिक्षण शिविरमा ल्याएका अधिकांस नमुनामा माटोमा प्रांगारिक पदार्थको कमी देखिएको हो ।
माटो तथा मल परिक्षण प्रयोगशाला बाँकेका प्राविधिक (नायव प्राविधिक सहायक) पाँचौ तिलक केसीका अनुसार बिहीवार सम्ममा १ सय २० वटा भन्दा बढि नमुना परिक्षण गरिएको छ । जसमा रूपन्देहीका विभिन्न स्थान तथा पाल्पाबाट समेत किसानले आफ्नो खेत बारीको माटोको नमुना संकलन गरी ल्याएका थिए । ती नमुना जाँच गर्दा माटोमा अम्लीय र क्षारियको जाँच गर्दा न्युट्रलको मात्रा पाइएपनि अधिकांसमा पनि अम्लीय माटो पाइएको हो । यस्तै माटोमा पाईने खाद्य तत्व, पोषक तत्वको जाँच गर्दा प्रांगारिक मात्रा ज्यादै कम भएको प्राविधिक केसीले जानकारी दिए । उनले भने–‘अधिकांस नमुनामा प्रांगारिक पदार्थको मात्रा कम छ, माटो सुधार गर्न प्रांगारिक पदार्थ बढाउन जरुरी रहेको छ ।
‘परिक्षण गरिएका १२० वटा नमुनामा नाईट्रोजनको मात्रा पनि धेरै कम पाइएको छ । यस्तै फष्फोरसको मात्रा पनि कम पाइएको छ भने पोटासको मात्रा भने मध्यम रहेको छ । माटो तथा मल परिक्षण प्रयोगशाला बाँकेबाट ४ जना प्राविधि सहितको ५ जनाको टोलीले बुटवलमा जारी मेलामा निःशुल्क माटो परिक्षण गरेका छन् ।
माटोमा प्रांगारिक पदार्थको मात्रा बृद्धि गर्नको लागि एकीकृत कृषि पद्धति अबलम्बन गर्नमा जोड दिनुपर्दछ । यस अन्तर्गत दीगो माटो व्यवस्थापनको कार्यक्रमहरूलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाउनु पर्दछ । विगतमा विभिन्न जिल्लाहरुमा कार्यान्वयन भएका दीगो माटो व्यवस्थापनको कार्यक्रमको सिकाईहरूलाई र राम्रा अभ्यासहरूलाई देशव्यापी रूपमा सम्प्रेशण गनुपर्दछ । घर घरमा गोठेमल, कम्पोष्ट बनाउनसाथै पशुमूत्र सकंलन र प्रयोगमा जोड दिनुपर्दछ । दीर्घकालीन रूपमा प्रांगारिक पदार्थ बढाउने कृषि पद्दतिहरू जस्तै बाली चक्र, अन्तरबाली, कोशेबाली, बालीको जमिनमुनिको भागलाई माटो मिलाउने, छाता बालीलाई प्रवद्र्धन गर्नुपर्र्ने माटोविज्ञ आश्वीनी कुमार शर्मा बताउँछन् ।
प्रांगारिक पदार्थले माटोलाई मलिलो र फरफराउदो बनाउँदछ । साथै यसले नाइट्रोजन, फोसफोरस र पोटासलाई सहजरूपमा बिरुवालाई उपलब्ध गराउन मद्दत गर्दछ । त्यसैले प्रांगारिक पदार्थले कृषि उत्पादनमा प्रत्यक्ष भूमिका खेलेको हुन्छ । पानीको अभावले गर्दा माटो सुख्खा, कडा हुनुको साथै माटोको उत्पादकत्व पनि ह्रास हँुदै गइरहको छ । पानि सोस्ने र पानीलाई प्रतिधारण गर्ने क्षमता पनि प्रांगारिक पदार्थमा निर्भर गर्दछ । प्रांगारिक पदार्थको राम्रो भएको माटोको पानी प्रतिधारण गर्ने क्षमता पनि निकै बढि हुन्छ । साथै माटोले जैविक कार्बनको ठूलो अंश भण्डार गर्न सक्ने क्षमता राख्दछ । कृषि क्षेत्र मात्र एक यस्तो क्षेत्र हो । जसमा दीगो कृषि बिकास र माटो व्यवस्थापनका अभ्यासहरूले हरित गृह उत्र्सजनमा कमी र जैविक कार्वन व्यवस्थापनमा पनि ठूलो भूमिका खेल्दछ ।