© २०२३
पाल्पा, ७ पुस ।
पाल्पाको तिनाउ गाउँपालिका सत्यवतीका सनविर गाहा उमेरले ९० वर्ष पुग्न लागे । उनी तन्नेरी अवस्था हँुदा लगाएका तेजपत्ता अहिले उनका लागि पेन्सन जस्तै भएको छ । गाउँमा सबैभन्दा पहिले आफुले परीक्षणका लागि लगाएको विरुवा फैलिएर यतिखेर आफु जस्तै सिङ्गो गाउँका जनताका लागि आम्दानीको मुख्य स्रोत बनेको छ ।
गाउँबस्तीलाई यातायात सञ्जालले जोड्यो । मानवीय श्रमको प्रयोग गरेर बजार तथा राजमार्गमा संकलन केन्द्र सम्म ढुवानी गर्न नपर्ने, नगदमा किनबेच गर्न सकिने भएकाले मुख्य नगदे वालीका रुपमा तेजपत्ता स्थापित भएको हो । वार्षिक रुपमा आफुले दस लाख रुपैयाँ सम्म कारोवार गरेको उनी सम्झन्छन् ।
कोलडाँडाको सत्यवती गाउँमा मात्र दालचिनीको पात र बोक्राको बिक्रीबाट मात्र १ करोड रुपैया भित्रिने गर्दछ । गाउँको चार सय परिवारको लागि आम्दानीको मुख्य श्रोत बनेको स्थानीयहरु बताउँछन् ।
“पहिले पहिले पात बोकेर चौबिस माइल लैजानु पर्ने वाध्यता थियो । २ घण्टाको बाटो भारी बोकेर जानु पथ्र्यो । मूल्य भने व्यापारीको आफुखुसी नै हुन्थ्यो । तौल गर्ने भन्ने नै हुँदैनथ्यो । भारी आनुरुप पैसा दिन्थे । त्यही पैसाबाट खाजा खाने हो । अनि आफ्नो घर परिवारका लागि आवश्यक पर्ने चामल, नुन, तेल जस्ता सामग्रीहरु ल्याउने हो । पछिल्लो समयमा बस्ती बस्तीमा मोटर पुग्यो । वस्तुको मूल्यमा एक रुपता छ । अनि तौल गरेर बिक्री गर्ने हो”– पातबोक्रा स्थानीय सिमबहादुर ढाडा बताउँछन् ।
अन्नवालीका तुलनामा तेजपातबाटै फाइदा बढी हुने भएकाले पछिल्लो समयमा बारी, खेतका कान्लामा मात्र होइन, जताततै तेजपात छ । स्थानीय तहमा अत्यन्तै न्युन मात्रमा खपत हुन्छ । यसको मुख्य बजार भनेको भारत नै हो । यसको पात, बोक्रा मसलाको लागि प्रयोग हुन्छन् । त्यसैगरी भारतीय बजारमा अर्बल बनाउने, पातबाट तेल पनि निकाल्ने भएकाले यसको मुख्य बजार भनेको भारत नै हो । आफुले पात तथा बोक्राबाट ४ लाख भन्दा बढी आम्दानी लिन सफल भएको स्थानीय दलबहादुर चौहान बताउँछन् ।
यसवर्ष यतिबेला पात प्रतिकेजी ४५ र बोक्रा प्रतिकेजी १०५ रुपैयाँमा बिक्री भएको स्थानीय व्यापारी तथा कृषक दलबहादुर गाहा बताउँछन् । “यस गाउँमा मात्र ५ वटा तौल केन्द्र छ । एउटा केन्द्रमा वार्षिक रुपमा ८०, ९० लाखको खरिद हुने गर्दछ । यहाँका कृषकका लागि त मुख्य नगदे वाली नै हो तेजपात”– उनले भने ।
पहिले पहिले जस्तो उज्यालो नहँुदै सिद्धार्थ राजमार्गको चौविस माइल बोकेर लैजानु पर्दैन । मूल्य पनि समय सापेक्ष भएकाले यहाँका कृषकहरुको आम्दानीको मुख्य स्रोत बन्न पुग्यो । बारीमा अन्नवाली लगाउँदा वन्यजन्तुबाट जोगाउनै कठिन भयो । त्यसैले गर्दा यस खेतितर्फ सबैको ध्यान बढ्दै गएको स्थानीय तिलक बहादुर दर्लामी बताउँछन् ।
पछिल्लो समयमा यहाँका कृषकहरुको जीवनस्तर नै बदलिएको छ । गरिबीका कारण चेतनाको स्तर अत्यन्तै तल थियो । आज सबैका घरका छानाहरु टिनले छाएको छ । घर आँगन सफा छन् । गाउँका विद्यालयमा आफ्ना छोराछोरीहरु पढाउने अवस्था थिएन । आज उनैका सन्तानहरु शहरमा पढ्न पुगेका छन् । दुईदशक अगाडि सम्म कनिकाको भात खानेहरु आज चामलको भात खाने भएका छन् । तेजपातका कारण गाउँ बदलियो, जनताहरु बदलिए । पछिल्लो समयमा वन कार्यालयले व्यावसायिक बन्न र बनाउनका लागि नर्सरी देखि बोक्रा तयार गर्ने जस्ता प्राविधिक विषयमा ज्ञान दिएका कारण थप हौसला बढेको स्थानीय कल्पना दलार्मी बताउँछिन् ।
तेजपत्तालाई पछिल्लो समयमा रैनादेवी छहराको सत्यवती बल्डेङ्गढी, जुठापौवा, भुवनपोखरी, सोमादी, रिब्दीकोट गाउँपालिकाको फेक, निस्दी गाउँपालिकाको ज्यामीरे अर्चले जस्ता गाउँमा २० हजार भन्दा बढी घर परिवारको आम्दानीको मुख्य श्रोत बनेको डिभिजन वन कार्यलयका सूचना अधिकारी संयोग बस्नेत बताउँछन् । सुख र सुविधाको खोजीमा पुरानो गाउँ बस्ती छोडेर शहरी क्षेत्रतर्फ आकर्षित हुने क्रम बढ्दोसंगै गाउँका बारी सबै बाँझो हुने अवस्था आयो त्यसैमाथि अन्नवालीमा वन्यजन्तुको आक्रमण बढ्दै गयो । तेजपातलाई वन्यजन्तुबाट पनि जोगाउन सकिने, नगदमा बिक्री गर्न सकिने भएका कारण वन कार्यालयको अभियानका रुपमा यसको खेति विस्तारको क्रम बढ्दै गएको कार्यालयका सहायक अधिकृत रामचन्द्र लामा बताउँछन् ।
जिल्लाको कुल खेति योग्य जमिनमध्ये ३० प्रतिशत जमिनमा तेजपातको खेति गरिन्छ । जिल्लामै यसको प्रशोधन केन्द्रको निर्माण भएको खण्डमा स्थानीय तहमा नै रोजगारको अवसरसंग आम्दानीको र विदेशी मुद्रा आर्जन गर्न सकिने थियो ।