© २०२३
गुल्मी, १ पुस । चिसो मौसम शुरु भएसँगैै गुल्मीका कफी कृषकहरू चिन्तीत बन्न थालेका छन । चिसो मौशममा तुसारो पर्ने र कफीमा गँवारोको समस्या बढी देखिने भएका कारण चिसो मौशममा कफीका विरुवा र बोटहरू जोगाउन समस्या देखिएको छ । चिसो मौसम शुरु हुन थालेपछि कफीका बिरुवा जोगाउन समस्या परेको र सोंचे अनुसार कफी खेतीबाट प्रतिफल आउन नसकेको किसानहरूको गुनासो छ ।
कृषि ज्ञानकेन्द्र गुल्मीले कफीको जननी जिल्ला गुल्मीमा कफी खेतीमा कसरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिन्छ भन्ने उद्देश्यले जिल्लाका कफी किसानहरूसँग राय तथा सुझाबहरू संकलन गरेको छ । छलफलका क्रममा कफी कृषहरूले आफूले भोगेका समस्या राखेका थिए । कफी किसानका समस्याको बारेमा प्रत्यक्ष रूपमा जानकारी लिने उद्देश्यले ज्ञान केन्द्रले केही समय अघि कृषकहरूसँग गरेको सामूहिक छलफलसँगै कफी कृषकहरूले आफ्ना अनुभव राखेका हुन ।
कार्यालयले आयोजना गरेको छलफल कार्यक्रममा बोल्ने अधिकांस कृषकहरूले कफीवाट आफुहरूले सोंचे अनुसारको प्रतिफल प्राप्त गर्न नसकेको बताएका थिए । उनीहरूले कफी खेतीको विस्तारका लागि राज्यले कफीका बिरुवामा अनुदान उपलब्ध गराएर कफीको उत्पादन र उत्पादकत्व बृद्धि नहुने बताए । किसानहरूलाई राज्यले कफीका बिरुवामा अनुदान दिनु भन्दा बरु एक जना ज्यामी बराबरको पारिश्रमीक उपलब्ध गराउनु पर्नेमा उनीहरूले जोड दिए । व्यावसायीक रूपमा कफी खेती गरि एक हजारदेखि १५ सयसम्म कफी लगाउने किसानलाई मासिक एक जना ज्यामी बराबरको रकम उपलब्ध गराउनु पर्ने उनीहरूको माग रहेको छ ।
रुरुक्षेत्र गाउँपालिका १ अन्तर्गत भड्कुवाकी कफी कृषक मना भट्टराईले चिसो मौसम शुरु भएपछि कफीका बिरुवाहरू मर्ने र फल्ने समयमा सेतो गँवारो, तुसारो, छहारीको समस्या जस्ता कारण कफीका बोटहरू सुक्दै जाने गरेको बताए । भट्टराई जस्तै लामो समयदेखि व्यवसायीक रूपमा कफी खेती गर्दै आएका भडकुवा, बलेटक्सार, आँपचौर मुसिकोट लगायतका अधिकांस कफी कृषकहरूको पनि उस्तै गुनासो थियो । संघ, प्रदेश र स्थानीयतहले कफीमा दिने अनुदान नीतिमा पनि परिमार्जन गर्नु पर्नेमा उनीहरूको मुख्य जोड छ ।
स्थलगत रूपमा अध्ययन नगरि कफी लगाउने नाममा विरुवामा दिईने अनुदानले किसानहरूलाई फाईदा नपुग्ने किसानहरूको भनाई छ । कफी किसानहरूले अनुदान दिने प्रणालीमा परिवर्तन गरि कफी लगाएको आधारमा स्थलगत रूपमा निरिक्षण गरेर मात्र किसानलाई अनुदान उपलब्ध गराउने नीति बनाउन आग्रह गरेका छन । यसबाट मात्र किसानलाई व्यवसायीक कफी खेतीमा आकर्षण गराउन सकिने किसानको सुझाब थियो ।
कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले पनि कफी कृषकहरूले राखेका समस्या उपयुक्त भएको भन्दै कफीमा दिने अनुदानको नीतिलाई परिवर्तन गरि कसरी व्यवसायीक रूपमा थप आकर्षण गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धित निकायलाई पनि सोचनीय विषय रहेकोे बताए । उनले कफीको उत्पादन भएमा त्यसको बजारीकरणका लागि खासै समस्या नरहेको बताए । कफीको उत्पादन र प्रबिधि विस्तारको लागि कार्यालयले आगामि दिनमा थप प्रभावकारी योजना बनाउने उनले स्पष्ट पारे
कफी उत्पतिको जननी जिल्ला गुल्मीमा अहिले २ सय ४१ हेक्टर क्षेत्रफलमा कफी खेती गरिदै आएको छ । जिल्लामा यस वर्ष ३० मेट्रीक टन कफी उत्पादन भएको थियो । जस अन्र्तगत आठ टन ग्रिनविन मात्र तेश्रो मुलुकमा निर्यात भएको छ । पछिल्लो समयमा गुल्मीमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना अन्र्तगत कफी सुपर जोन, आँपचौर कफी विकास केन्द्र, कफी अनुसन्धान केन्द्र लगायत स्थानीय तहले कफी खेतीमा काम गर्दै आईरहेका छन ।
जिल्लामा यति धेरै कफीको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू भएपनि कफी किसानहरू भने सेतो गँवारो र तुसारोको समस्याबाट सधै ग्रसित बन्दै आईरहेका छन । गुल्मीमा पछिल्लो तथ्याङ्क अनुसार कफी खेतीमा आवद्ध बनेका किसानहरूको संख्या १८ सयको हाराहारीमा रहेको बताइन्छ ।