© २०२३
नवलपुर, १७ कात्तिक ।
नवलपुरको गैंडाकोटमा नमुना माध्यमिक विद्यालय छ जहाँ विद्यालय जाँदा विद्यार्थीले किताब बोक्नु पर्दैन । गैँडाकोट ८ स्थित यस विद्यालयले फरक अभ्यास सुरु गरेको छ ।
प्रायः विद्यालय जाँदै बालबालिकाले सकी नसकी पुस्तक, कापी, कलम, खाजा, पानी र झोला बोकेको देखिन्छ । बालबालिकालाई भारी बोकाउन हुँदैन भनिए पनि बालबालिकाहरु गह्रौ झोला बोकेर विद्यालय जान बाध्य हुन्छन् । त्यस्तो अवस्था आउन नदिन कालिका नमुना माध्यमिक विद्यालयले किताब बोक्न नपर्ने गरी व्यवस्था मिलाएको छ ।
सुरुवाती अवस्थामा विद्यालयमा कक्षा ३ सम्म पढ्ने विद्यार्थीले झोलामा किताब बोकेर विद्यालय जान नपर्ने गरी व्यवस्था मिलाएको हो । विद्यालयको हरेक कक्षामा बुक कर्नर बनाएर विद्यार्थीलाई आवश्यक पाठ्यक्रमका पुस्तक उपलब्ध गराउने गरेका छन् । अहिले विद्यार्थी झोलामा कापी, कलम मात्र बोकेर विद्यालय जाने गरेका छन् । खाजा विद्यालयमा नै उपलब्ध हुन्छ । यसले विद्यार्थीलाई निकै सजिलो बनाएको छ । कक्षा २ का विद्यार्थी दिनेश बोहोराले पहिले सबै किताब ल्याउँदा गाह्रो हुने गरेकोमा अहिले त्यो भार कम भएको सुनाए । उनले भने, “अहिले कापी कलम मात्र लिएर आउँछु सजिलो भएको छ ।”
वैशाखबाट विद्यालयले यस्तो सुबिधा विद्यार्थीहरुलाई उपलब्ध गराउँदै आएको छ । पहिले झोला गह्रुङ्गो भयो भन्ने विद्यार्थी अहिले खुसी भएर विद्यालय आउने गरेका छन् । कक्षा २ कि विद्यार्थी वर्षा भुसाल पनि विद्यालयको सुबिधाले खुसी व्यक्त गरिन् । शिक्षकले किताब नल्याउन र स्कूलकै किताब पढ्न भनेपनि वर्षाले कहिलेकाँही किताब लिएर आउने गरेको बताइन् । उनले भनिन्, “स्कुलमै किताब छ तर कहिलेकाहीँ एक–दुइ वटा किताब ल्याउँछौं । तर हामीले कक्षामा नै किताब पाउँछौँ ।”
कक्षा ३ का आदित्य गौतमले आफ्नै कक्षामा भएको बुक कर्नरबाट जुन विषय अध्ययन गर्ने हो सोही किताब निकालेर पढ्ने गरेको सुनाए । आदित्यले यसरी पढ्न पाउँदा सजिलो भएको सुनाउँदै भने, “किताव घरमा छुट्यो भन्न पनि पर्दैन, स्कूलमा पाइन्छ अझै आफ्नै कक्षामा हुन्छ । आफैँ किताव निकाल्छु अनि साथीसँग मिलेर पढ्छौँ ।”
बालबालिकालाई सहज सिकाइ गराउन कक्षा कोठामा नै पाठ्यपुस्तकको उपलब्धता गराउने व्यवस्था गरेको विद्यालयका प्रधानाध्यापक प्रजानाथ कँडेलले बताए । उनले बालबालिकालाई सहज तरिकाले सिकाइ गराउन यो व्यवस्था गरेको बताए । उनले अलिकति आर्थिक भार भएको बताए । अझ अर्को शैक्षिक सत्रदेखि सहज हुने प्रधानाध्यापक कँडेलको विश्वास छ । अहिले विद्यार्थीको घरमा एक सेट पुस्तक छ भने उनीहरुले विद्यालयमा पनि सोही किताब पढ्न पाउँछन् । विद्यालयमा यस शैक्षिक सत्रमा २ विद्यार्थीका लागि १ सेट पुस्तक उपलब्ध छ भने २०८१ को शैक्षिक सत्रदेखि प्रत्येक विद्यार्थीलाई १ सेट पुस्तक उपलब्ध गराउने तयारी गरेको छ । प्रधानाध्यापक कँडेल भने, “हामीले पहिले सोही कक्षामा पढेका विद्यार्थीले विद्यालयमा पुस्तक फिर्ता गराउनका लागि अभिभावकसँग सल्लाह पनि गरेका छौँ । अब अर्को शैक्षिक शत्रदेखि सहज हुन्छ । हामीले ३ कक्षासम्म मात्र नभइ अब ५ कक्षासम्म पनि त्यही प्रक्रियामा जाने योजना बनाउँदै छौँ ।”
विद्यार्थीलाई सहज बनाउन विद्यालयले गरेको प्रयासलाई अभिभावकले पनि प्रशंसा गरेका छन् । गह्रुङ्गो झोला बोकेर विद्यालय जाँदा हुने सास्तीबाट विद्यार्थीले भने राहत पाएका छन् । साना उमेरका बालबालिकाहरुका लागि कालिका नमुना मध्यमिक विद्यालयले कार्यान्वयनमा ल्याएको यो अवधारणा अरुका लागि पनि अनुरकणीय योग्य छ ।