© २०२३
खग प्रसाद चापागाई
काठमाण्डौको चलेको तालिमगृहमा तीन दिनको कार्यशाला शुरु हुँदै थियो । बिभिन्न जिल्लाका सहभागी पहिलो दिनको हाजिरी लगाउँदै परिचायात्मक औपचारिकतामा व्यस्त थिएँ । नयाँ मित्रहरुसँग नव परिचयका लागि मेरो अग्रसरता कायमै थियो । सहभागी जुट्दै थिए, त्यहिबिचमा तालिम गृहका वेटरले बिहानीको खाजा तयारी भएको जानकारी थिए । सबैजना खाजाका लागि खाजास्थलमा जान थाले । खाजा खानेहरुको लाम लाग्यो । चिया, जुस, ब्रेड, अण्डा र जामसगै खाजाका बिभिन्न परिकार । जेठको टन्टलापुर गर्मीबाट राहत पाएको अनुभव गर्दै धेरै सहभागी खाजा खान व्यस्त भए । खाजाका बिभिन्न परिकारमध्ये सबैलाई बढि मन थियो “तारेको हरियो मकै” । हुन पनि दुधिलो मकैलाई केप्सिकम, लसुन, पियाज र मसलाको मिश्रणमा लोभलाग्दो गरि तेलमा तारिएको थियो । धेरै सहभागीले मकै नै थपेर खाए । मैले पनि मिठो लागेपछि तारेको हरियो मकै थपेँ । मकै दुधिलो थियो, त्यसै माथि न छोडाउनु पर्ने झन्झट न त मुखभरी कालो लाग्ला कि भन्ने चिन्ता । काठमाण्डौ मात्रै होइन प्रायः अधिकांश रात्रीकालीन पार्टीहरुमा पनि ग्राहकले रुचाउन थालेछन् “तारेको हरियो मकै” । मकैलाई हरियोमा मात्रै होइन फुला बनाएर पनि चलेका रिसोर्ट र सिनेमाहरुमा पनि “पप कर्न” भन्दै मिठो मानी मानी खाएको भेटेँ । सजाइएका कागजमा ठेउला नभएका फुला मकैलाई “पप कर्न” को संज्ञा दिएर मिठो मानी मानी खान थालिएछ ।
आफनै ठाउँका रेष्टुरेन्टमा रात्रीकालिन खाजामा पनि “तारेको हरियो मकै” खानेहरु बढि नै देखिए । सामान्य चलेको रेष्टुरेन्टका सञ्चालकसँग सोधेँ बारीमा मकै लाउनु भएको छ र ? उनले जवाफ दिए “रेष्टुरेन्टबाटै फुर्सद छैन कहाँ मकै फलाउनु हजुर ?” । फेरि सोधेँ यस्ता दुधिला र हरिया मकै कहाँबाट ल्याउनु भयो त ? मधेसको दक्षिणतिर अझै मकै फल्ने सिजन नै भएको छैन । हुन पनि हाम्रोतिर साउनको अन्तिम सातातिर मकै फल्छ । उनले जवाफ फर्काएः अहिले त “तारेको हरियो मकै” प्याकिङ्गमा आउँछ । फ्रिजमा राख्छौँ । धेरैले मन पराएर मकै नै खान खोज्छन् । अहिले त धेरैले मन पराउन थालेपछि ताजा किनेमात्रै हो स्टकमा पाउनै मुस्किल छ । यिनै संबाद बिच मकै र मकैका परिकारका कथा मेरा लागि रोचक थियो । कारण थियो २०÷२२ बर्षअघि मकैको खाजा भन्दा हितनाबोध गराइने मकै अहिले चलेको परिकार बनेछ । कक्षा ६मा पढ्दा, मेरो दैनिकीको खाजा हुन्थ्यो “पोलेको मकै” अनि कहिलेकाहीँ “भुटेको मकै” । हाम्रा कक्षा शिक्षक थिए अमेरिकाबाट नेपाल बुझ्न आएका एरिक सम्बोय । धेरैपछि नेपालमा बालमैत्री शिक्षाको अवधारणा आए पनि नेपालमै बालमैत्री शिक्षाको अभ्यास गर्ने हामी भाग्यमानी बिद्यार्थी थियाँै । उनै अमेरिकी कक्षा शिक्षकले हाम्रो मासिक परीक्षा लिन्थे, अनि अमेरिकाबाट लिएर आएको बिभिन्न ताराका स्टिकर कापीमा लगाइदिन्थे, अनि कक्षाका उत्कृष्टताको आधारमा उतैबाट ल्याएको चक्लेट बाँड्थे । कक्षामा सबैभन्दा सानो बिद्यार्थी भएकाले उनले अन्य बिद्यार्थी भन्दा मलाई औधी माया गरेको अनुभूति हुन्थ्यो । मैले तिनै शिक्षकबाट लिइएको एउटा मासिक परिक्षामा दुईवटा तारा र चक्लेट पाएको थिएँ ।
हाम्रो कक्षामा महेन्द्र प्राथमिकमा कक्षा ५ सम्म पढेर आएका केहि साथीहरु ६ कक्षामा थपिएका थिए । मेरा साथीहरु प्रायः सदरमुकाम दक्षिणका थिए । मधेसी समुदायका उनीहरु खाजाका लागि घरबाट चामल लिएर आउँथे अनि भुजा भुटने भारमा चार भाग लगाएर एक भाग भुजा भुट्नेलाई दिएर बाँकी तीन भागको भुजा भुटाएर दिउसोको खाजा खान्थे । मेरो खाजा भने कहिले घरबाट ल्याएको पोलेको मकै त कहिले भुटेको मकै हुन्थ्यो । धेरै साथीहरुले खाजा खान घरबाटै १÷२ रुपैया बोकेर आउँथे । उनीहरुले टिफिनको समयमा त्यहि पैसाले टिकिया र चटपटे खान्थे । घरबाट चामल ल्याउने साथीहरु मध्ये केहिले कहिलेकाहीँ चामल चोरेर ल्याउँथे । एकजनाले चामल बेचेर चटपटे र टिकिया किन्थे र सामुहिक रुपमा खाजा खान्थे । साथीहरुको दैनिकको फरक परिकारका बीच मेरो सधैँको मकैको परिकार देख्दा केहि साथीहरुले “मकैवाला” भन्न समेत भ्याउँथे । मलाई दैनिक भुटेको र पोलेको मकै लिएर जादाँ हिनताबोधको अनुभूति हुन्थ्यो । फरक परिकारको खाजा भएकाले मेरो साथीहरुसँग सामुहिक खाजा खाने मेलो मेसो नै पर्दैन्थ्यो, अनि लुकेर भुटेको मकै र पोलेको मकैको खाजा खान्थेँ । टिकिया र चटपटे खान पैसा पनि हुँदैनथ्यो अनि लाग्थ्यो मैले पनि टिकिया र चटपट खाने दिन कहिले आउला ?
त्यसबेला भारतीय चलचित्रको प्रभाव बढि थियो । शनिबार र आइतबार सबै काम छोडेर एन्टिना मिलाउने जिम्मा लिएर डिडि नेशनलमा फिलिम हेरिन्थ्यो । यसो झ्यार झ्यार भएको कि छतमा गएर एन्टिना मिलाएर सफा बनाउने मेरो जिम्मामा पथ्र्याे । फिलिममा हेरेको जस्तो आफु पनि ठूलो भएर हिरो बनौँ बनौँ जस्तो लाग्थ्यो । हामी अध्ययन गर्ने बेलासम्म स्कुले जीवनमा प्रायः छात्राहरुसँग बोल्ने बानी थिएन । बोल्नु परे लाज लाग्थ्यो । तर सोहि कक्षामा अध्ययनरत एक छात्रा हिरोइन जस्तो र म हिरो जस्तो छु भनेर साथीहरु सधै जिस्काउँथे । सबै साथीहरुले दैनिक जिस्काउँदा मलाई पनि कता कता त्यस्तै अनुभूति हुन थालेको थियो ।
गणित बिषयको कक्षा थियो, मैले आमालाई दुई दिनअघि रोई कराई गरेर नयाँ ज्यामेट्रिबक्स किनेको कक्षाका सबै साथी साथीलाई थाहा थियो । धेरै साथीले त्यो दिन ज्यामेट्रिबक्स ल्याउन बिर्सिएछन् । अनि तिनै हिरोइन जस्तै भनेर मसँग जोडिने गरिएकी छात्राले मेरो छेउँमा आएर ज्यामेट्रि बक्समा भएको गोलाकार बनाउने कम्पास मागिन् । उनको कुराले साह्रै अतालिएको मैले “ज्यामेट्रिबक्स ल्याउन बिर्सिएछु ।” भन्ने जवाफ दिएँ । कारण ज्यामेट्रिबक्स सँगै मैले खाजाका लागि ल्याएको दुईवटा पोलेको मकै राखेको थिएँ । कम्पास दिन मन भए पनि पोलेको मकै देखिने डरले मैले त्यो दिन झुठो बोल्नुपर्दा साह्रै चित्त दुखेको थियो । एकातिर झुठो बोलेकोमा पश्चाताप अर्कातिर कतै झोला खोल्दा कम्पास देखिएला कि भन्ने पिर । यिनै दोधारका बीच म कक्षा छोडेर भागेँ । मनमा कता कता लाग्यो आज झोलामा पोलेको मकै नराखेको भए म यसरी कक्षा छोडेर भाग्नुपर्ने थिएन । त्यसपछि धेरै दिन खाजामा पोलेको मकै लान मानिन । केहि दिनपछि बारीका हरिया मकै सिद्दिए अनि मैले पोलेको मकै खाजामा लैजाने झन्झटै सकियो । हो यो त्यहि मकैको कथा थियो जसले मलाई स्कुले जीवनमा साथीहरुका बीच फरक भएको अनुभूति गराएको थियो । बिगतको स्मरणले झसङ्ग बनायो, हो मेरो स्कुले जीवनमा पटक पटक मेरा लागि हितनाबोधको पर्याय बनेको “पोलेको र भुटेको मकै” अहिले ठूला होटल र सिनेमा घरमा चलेको तथा सबैका लागि रुचिलो खाजा बनेछ ।
कपिलवस्तु