© २०२३
वसन्त पोखरेल
मलाई राम्रो सम्झना छ एकपटक खेतबाट धानको पाँजा गायब भएपछि छिमेकी मानबहादुरले चोरको आरोपमा नरे दर्जीलाई आँगनमा उभ्याए । नरेको चरित्रमा गाउँघरमा चोरी गर्ने छाप लागेको थियो । त्यो छाप हामीमा पनि परेको थियो । गाउँघरका मानिसले जे जसो भन्छन् त्यहि कुरा सुन्ने र त्यहि छाप हाम्रो दिमागमा पनि भरिने कुरा भयो । त्यो अर्थमा हामीले नरेलाई भेट्दा सासै सासको भाखामा ऊ चोर आयो भन्ने गथ्र्यौं । यद्यपि उसले हाम्रो केही पनि चोरेको थिएन । नरेलाई आँगनमा उभ्याइएको थियो । मानिसहरु खिरिम्म जम्मा भएका थिए ।
तैँले नचोरेर कसले चोर्छ हँ ? कहाँबाट चामल आयो र तेरो भान्सामा भात पाक्यो ? मैले बुझेछैन भन्याछस् ? तेरो छोरालाई के खाएको भनेर सोध्दा भात खाएको भन्याथ्यो । भात कहाँबाट पाक्यो खेतै नभएको मानिसको घरमा ? मेरो खेतबाट धानको पाँजा हराउनु, तेरो भान्सामा भात पाक्नु ल भन् त तँ चोर होस् कि हैनस् ? तामा तुलसी भकाउँछु । मानबहादुर कड्के ।
नखाएको बिष त लाग्दैन हो बराजु । म माडीखोलातिर काम खोज्न गएको थिएँ । धान काट्ने काम मिल्यो । तीन दिनसम्म काम गरेर ज्याला बुझेर दुकानबाट चामल किनेर ल्याएको हो । नपत्याए प्रभुदयालको दुकानमा सोधे हुन्छ । नरेले सफाइ दियो ।
यसलाई तामा तुलसी नभकाई भएन । आज मानबहादुरको पाँजा हरायो । भोलि अरुको हराउँछ । चोर त पत्ता लाग्नुपर्यो नि । प्रेमनारायणले कुरा थपे । नरेले हुन्छ भकाउनुस् भनेर स्विकारोक्ति दियो । भित्रबाट तामाको अम्खोरा र मैराबाट तुलसीको पात ल्याएर नरेलाई छुन पठाउँदै कसम खान लगाइयो । नरेले कसम खायो । मानबहादुरले प्रभुदयालको दुकानमा सोधे । नरेले एक पाथी चामल किनेर लगेको प्रमाणित भयो । मानबहादुर आफै लज्जित भए ।
हामी टुकुर टुकुर विद्यालयमा पढ्न जाने क्रममा ठूला तरेलीका विद्यार्थीले निकै कसम खान्थे । उनीहरुको कसम हुन्थ्योः बिद्या कसम । मेरो कापी कल्ले लग्यो हँ, तैँले लग्याहोलास् भनेर कसैले किटेर कसैलाई भन्यो भने उसले विद्या कसम मैले तेरो कापी देखेको पनि छैन भन्थ्यो । पढ्न जाने केटा केटीहरुले त यसो भन्थे नै, उनीहरुको कसम सुनेर स्कूलको मुख नदेखेकाहरुले पनि बिद्या कसम भनेर कसम खान्थे । तामा तुलसी भाक्ने देखि विद्या कसमतिर कसमले फड्को मार्यो । स्कूलहरुमा विद्या कसमले निकै प्रख्याति पाएको थियो । हामीले पनि कसैले आरोप लगाउँदा यहि कसम खान्थ्यौँ ।
देशअनुसारको भेष भने झैँ कसमका पनि ठाउँअनुसारका बान्की हुन्थे । कसैले सूर्य नारायणले भष्म पारुन् भनेर कसम खान्थे । कसैले आजको रात काट्न नपाम् भन्थे । कसैले एक पाइलो सार्न नपाम् भन्थे । कसैले नजिकैका ख्याति चलेका मन्दिर, थान आदिलाई छोएर ती देउताले भष्म पारुन् भन्थे । कतिले छोराछोरी भन्न नपाम् भन्थे । कतिले बाबुआमा भन्न नपाम् भन्थे । साँझको बेला छ भने बत्ति छोएर कसम खान्छु मैले त्यो गरेकै हैन भन्थे । थरि थरिका कसम यी कानले सुनियो र कतिपयबेला आफूले पनि खाइयो । आवश्यकता र परिस्थितिमा कसम खानु र खुवाउनु पनि पर्दोरहेछ । जब कसैले कसम खान्थ्यो त्यसपछि विश्वस्त भइन्थ्यो कि त्यो मानिसबाट गलत काम भएको छैन ।
आजभोलि अदालतका कठघरामा जब कसैलाई बयान लिन थालिन्छ त्यो मानिसको अगाडि गीताको पुस्तक राखेर हातले छुन लगाईः म जे भन्छु सत्य कुरा भन्छु, सत्यबाहेक अरु केही भन्दिन भन्न लगाइन्छ । त्यो पनि कसम हो । साँचै भन्ने हो भने यो देशको सम्बिधानले मान्यता दिएको कसम हो । यो कसम खाएपछि असत्य कुरा बोल्न हुँदैन भन्ने मानिसलाई छाप परेको छ । गीताको कसम खाएको कारणबाट असत्य बोल्न मानिस डराउँछ । कसम ख्वाएपछि वकिलहरुले अनेकखाले प्रश्नहरु सोध्न थाल्छन् । उल्टो, सुल्टो, घोप्टो, उत्तानो, चेप्टो, सोझो अनेकथरी प्रश्न सोध्छन् । एउटा प्रश्नको पूरा उत्तर दिन नपाउँदै अर्को प्रश्न सोधिसक्छन् । विचरालाई हायल कायल पारिदिन्छन् । उनीहरुले कसम नखाएको कारणले हुन सक्छ अनेक तरहका प्रश्न सोध्न छुट पाएका छन् । त्यसमाथि झन् न्यायाधीशहरुले पनि गीता छोएर कसम खान नपरेकै कारणले हुन सक्छ अन्याय गर्नेको पक्षमा न्याय दिन्छन् । अन्यायमा परेकालाई सजाय ठोक्छन् । वास्तवमा वकिल, न्यायाधीशलाई पनि बहर पैरबी गर्दा, फैसला गर्दा गीतामाथि हात राख्न पठाएर दिनदिनै कसम ख्वाउनु पर्ने हो । तर, उनीहरु त अरुलाई कसम ख्वाउने वर्गका परे । यसकारण पनि होला नेपालमा न्याय निसाफको अर्धमृत्यु भएको छ ।
कुनै पनि नयाँ सरकार गठन हुन थाल्छ त्यतिबेला नवनियुक्तहरुलाई सपथ खान पठाइन्छ । त्यसरी ख्वाइने सपथ पनि कसम नै हो । यो कसमले पनि सम्बैधानिक मान्यता पाएको छ । त्यो कसममा देशको हित गर्ने कुरा, कुनै पनि गलत काम नगर्ने कुरा, सम्बिधानलाई सर्बोपरी मान्ने कुरा, अनुशासन, आचरणमा शुद्धता राख्ने कुरा, देशलाई भ्रष्टाचारबाट मुक्त राख्ने कुरा, गोपनीयताका कुरा समेटिएको हुन्छ । यो सार्बजनिक रुपमा खाइएको कसम हो । कसम त खाइन्छ । तर, भ्रष्टाचार नगर्ने यहाँ कुनै पदाधिकारी नै छैन । कसैको पनि अनुशासन, आचरणमा शुद्धता भेटिँदैन । देश र जनताको हित त यिनीहरुले कति गरे कति अहिलेसम्मको मुलुकको हुलिया नै प्रष्ट देखिने साछी छ । कसम पनि खाइरहेकै छन् । र, कसमले आदेश नदिएको काम पनि गरिरहेका छन् । कसम खानु त लत लागेका मानिसले पान सुपारी खाएजस्तो भई रहेको छ । अथवा बच्चाहरुले चुइंगम र चक्लेट खाएसरह भई रहेको छ । घुस खाने गोपनीयता बाहेक अरु सबै गोपनीयता यिनीहरुबाट भंग भई रहेका छन् ।
मैले जीवनमा एकचोटी झुठो कसम खाएको छु । झुठो कसम खानुपर्ने वाध्यता आइपर्यो । भयो के भने आफ्नो कलम थिएन, अर्धबार्षिक परीक्षा चल्दै थियो । बाबाको कलम चोरेर परीक्षा दिन गएँ । मागेर लानुपथ्र्यो । त्यहाँनिर गल्ती भयो । आफूले अलि छिटै लेख्ने बानी थियो । दुई घण्टाको जाँचमा एकै घण्टामा सबै प्रश्नको हल गरियो । किन बसीराख्नु भनेर कापी बुझाएर घर फर्कने क्रममा कलम बाटोमा हरायो । झोलामा कलम हालेको हो त्यो थाहा छ । तर, घर आइपुग्ने बेलामा झोला छाम्दा कलम फेला परेन । झोलाको पिँदमा हेर्दा प्वाल परेको रहेछ । त्यहि प्वालबाट कहाँ खसेछ थाहै पाइन । अब कसरी घरमा जानु ? धर्मसंकटमा परियो । नजिकै खसेको छ कि भनेर खोज्न पनि गइयो । तर, फेला परेन । कसैले जिप्टाएको भए पनि किन दिन्थ्यो र खखर्ति लेख्ने राइटर कलम । घरमा आउँदासाथै बाबाले कलमको कुरा उठाइहाल्नु भयो । त्यसको पनि कारण रहेछ । एकजना मानिसको चिना लेखिदिनु पर्ने । कलम गायब छ । लगिस् कि भनेर सोध्नै पर्यो । मैले हैन भनेँ । बच्नको लागि कसम नै खाइदिएँ । विद्या कसम भनेँ । सूर्य नारायणले भष्म पारुन् भनेँ । बाबाले चित्त नबुझेर झोला छाम्नु भयो । केल्ले लेखेर परीक्षा दिइस् त भन्दै सोध्नुभयो । कैयौँ दिन देखि साथीको कलम माग्दै लेख्दै बुझाउँदै गरेको कुरा भनेँ । कसम खाएको कारणबाटै होला बाबाले त्यसअगाडि केही भन्नुभएन । बरु दिउँसो घर फर्कंदा नयाँ कलम ल्याइदिनु भयो ।
त्यतिबेला गल्ती गरेर पनि कसम खाएकोमा निकै डर लाग्यो । कतै सूर्य नारायणले भष्म पार्ने त हैनन् भन्ने भयो । विद्या कसम खाएकोले परीक्षामा फेल भइने त हैन भन्ने डर लाग्यो । तर, परीक्षाको रिजल्ट राम्रो आयो । सबै विषयमा पचास कटेको थियो । सूर्य नारायणले पनि भष्म पारेका छैनन् आजका मितिसम्म । त्यसपछि लाग्यो कसम भन्ने कुरा पनि केही रहेनँछ । यो जाबो खानु र नखानुमा केही अर्थ रहेनँछ । त्यहि भएर त अदालतमा गीतामाथि हात राखेकाले पनि झुटो बयान दिइरहेका छन् । सपथ खानेहरुले घुस, नजराना, कमिशन खाइरहेकै छन् । त्यसैले अचेल त्यतिबेला कसम खाँदाका दिनहरु सम्झँदा मनमा अचम्ममात्र हैन, हाँसो लागेर आउँछ ।