© २०२३
दाङ, १९ असोज ।
राप्ती गाउँपालिका वडा नम्बर ३ का बेदुलाल चौधरीले माछा पालन गर्न थालेको १२ वर्ष बित्यो । कृषि विकास बैंकमा जग्गा धितो राखेर ऋण लगानी गरेर माछापालन गर्दै आएका चौधरीले कृषि अनुदानको पहल गर्दा पनि पाउन सकेका छैनन् । उनी जस्तै धेरै किसान सरकारले अनुदानमा पहुँच पुग्न सकेको छैन । कागजी प्रकृया झन्झटिलो, थोरै अनुदान, कार्यविधि बारे अनभिज्ञता जस्ता कारणले पनि अनुदान नलिने कृषकहरु धेरै रहेका छन् ।
जिल्लाका १० वटै पालिका हेर्ने गरी लुम्बिनी प्रदेशअन्तर्गत २०७५ भदौ २८ गते स्थापना भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुपंक्षी, मत्स्य विकास, पशु उपचार, प्रयोगशाला र परामर्श लगायत काम गर्दै आएको छ ।
अनुदान वितरण गर्ने गरी बजेट विनियोजन गरेका सरकारी कार्यालय वास्तविक कृषकसम्म पुग्न नसक्दा पनि यसको उचित प्रयोग हुन नसकेको देखिएको हो । जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा वर्षेनी आउने बजेटमध्ये कृषि सम्बन्धी बजेट खर्च नभई फिर्ता हुने गरेको छ । एकातिर कृषकले अनुदान नपाउने अर्कोतिर बजेट खर्च नभई फिर्ता हुने परिपाटी बढेको छ । लक्षित कार्यक्रम कार्यान्वयन गर्ने भनेर खुलेको कार्यालयले अपेक्षा गरिए अनुसार काम गर्न सकेको छैन । अर्कोतिर लाभग्राहीले पनि अपेक्षा अनुसार सेवा सुविधा पाउन सकेका छैनन् । कार्यक्रममा व्यावसायिक कृषकलाई अनुदानमा समेट्नु पर्ने कृषकहरुको सुझाव छ । वर्षेनी आउने अनुदानलाई थप पारदर्शी र व्यवस्थित बनाउँदै वास्तविक किसानलाई प्रोत्साहन गर्न ध्यान दिन पनि आम कृषकहरु आग्रह गर्छन् ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आर्थिक वर्ष २०७९–०८० का लागि विनियोजन भएको बजेट समयमै खर्च हुन सकेन । विभिन्न शीर्षकमा आएको रकम फ्रिज भएको हो । किसानका लागि आएको बजेट खर्च नहुँदा कार्यालयको वित्तीय प्रगति निराशाजनक देखिएको छ । पशु सेवा विज्ञ केन्द्रमा गत वर्ष आएको ९ करोड १ लाख ५० हजार ३ सय रुपैयाँमध्ये ५ करोड ८६ लाख ४७ हजार ६ सय रुपैयाँ मात्रै खर्च भयो । अरु ३ करोड १५ लाख २ हजार ७ सय रुपैयाँ खर्च हुन नसक्दा फ्रिज भयो । विज्ञ केन्द्र दाङमा चालु बजेटतर्फ ८ करोड ५३ लाख २९ हजार ८ सयमा ५ करोड ७८ लाख ८२ हजार ५ सय रुपैयाँ खर्च भई २ करोड ७४ लाख ४७ हजार ३ सय रुपैयाँ फ्रिज भयो । त्यसैगरी पूँजीगततर्फ ४८ लाख २० हजार ५ सय रुपैयाँ आएकोमा ७ लाख ६५ हजार १ सय रुपैयाँ मात्रै खर्च भयो । अरु ४० लाख ५५ हजार ४ सय रुपैयाँ फ्रिज भयो ।
यसैगरी ४० लाख ५८ हजार ४ सय रुपैयाँ विनियोजन गरिएको मत्स्य विकास कार्यक्रमको पनि १४ लाख ९१ हजार ६ सय रुपैयाँ, २ करोड २ लाख ४८ हजार ६ सय रुपैयाँ विनियोजन भएको सेवा टेवा विस्तार कार्यक्रमको ३० लाख ९ हजार ५ सय रुपैयाँ, कार्यालयले पशु स्वास्थ्य नियमन कार्यक्रमका लागि ८२ लाख ४२ हजार ९ सय रुपैयाँ विनियोजन गरेकोमा ३२ लाख ५३ हजार २ सय रुपैयाँ फ्रिज भएको छ । यस्तै २३ लाख रुपैयाँ विनियोजन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (व्लक विकास)कार्यक्रमको पनि ३ लाख ११ हजार ८ सय रुपैयाँ फ्रिज भयो ।
सशर्त अनुदानतर्फ प्राप्त रकम पनि झण्डै आधा रकम फ्रिज भएको कार्यालयले जनाएको छ । संघ सशर्त अनुदानतर्फ ७ लाख ५० हजार रुपैयाँ आएकोमा ३ लाख १९ हजार ४ सय रुपैयाँ फ्रिज भयो । सेवा प्रभावकारी हुन नसक्दा तथा तय गरिएका कार्यक्रम संचालनमा समस्या हुँदै गएपछि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङकोे बजेट वर्षेनी घट्दै गएको छ । जिल्लाको दश वटै पालिकामा कार्यक्रम संचालन गर्न प्रदेश सरकारबाट चालु आर्थिक वर्ष २०८०–०८१ का लागि विभिन्न शीर्षकमा ६ करोड ६१ लाख ८८ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । यो गत आर्थिक वर्षको भन्दा २ करोड ९६ लाख १२ हजार रुपैयाँले कम हो ।कार्यक्रम अन्तरगत साधारण खर्चतर्फ २ करोड १५ लाख १ हजार, खाद्य तथा पोषण सुरक्षा कार्यक्रम तर्फ १ करोड ६९ लाख ४४ हजार, स्मार्ट कृषि गाउँ कार्यक्रमतर्फ ७० लाख, मत्स्य विकास तथा प्रवद्र्धन कार्यक्रम तर्फ ६१ लाख ८४ हजार रुपैयाँ विनियोजन भई आएको छ ।
पशुपंक्षी श्रोत प्रविधि सेवा टेवातर्फ १ करोड १७ लाख ४८ हजार रुपैयाँ, पशु स्वास्थ्य नियमन कार्यक्रमतर्फ २१ लाख ६१ हजार रुपैयाँ र पशुसेवा विभाग संघ शसर्त अनुदानतर्फ ६ लाख ५० हजार रुपैयाँ विनियोजन भई आएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख सुदाम भट्टले जानकारी दिए । उनका अनुसार, गत आर्थिक वर्षमा ९ करोड ५८ लाख विनियोजन भएकोमा यो पटक घटेर ६ करोड ६१ लाख ८८ हजार विनियोजन हुनुले वर्षेनी बजेटको आकार घट्दै गएको देखिएको छ । कुल बजेटको ३ करोड ५७ लाख ५० हजार अनुदानमा आधारित रहेको पनि उनले बताए ।