© २०२३
बुद्ध जन्मस्थल लुम्बिनीको शान्तिदिप नजिक रहेको आमा क्याफेको साच्चै नै फरक चिनारी छ । चौधरी समुदायका १८ देखि ४२ वर्ष सम्मका महिलाहरुले शुरु गरेको व्यवसायले शान्ति खोज्दै लुम्बिनी पुग्ने जो सुकैलाई एकपटक सोच्न बाध्य बनाउँदछ ।
000
लुम्बिनी साँस्कृतिक नगरपालिकाको महिलबार गाँउकी सुनिता चौधरी कामचलाउ नेपाली बोल्छिन । दुई सन्तानकी आमा चौधरीको आफ्नै संस्कार अनुसार सानैमा विहे भएको थियो । सधै घरको काम गरेर दिन बिताउने चौधरीलाई आज भोली सामुहिक रुपमा शुरु गरेको व्यवशायमा भ्याइ नभ्याई छ ।
पछिल्लो एक वर्षयता उनी स्वरोजगार बन्न थालेकी छिन् । चौधरी समुदायमा हुर्किएकी सुनितालाई घर बहिर निस्किएर काम शुरु गर्न त्यति सहज थिएन । अहिले उनले गाँउका अरु महिलाहरुसँग हातेमालो गर्दै व्यवसायिक काम शुरु गरेकी छिन् ।
विश्व विकास बैंकको महिला सशक्तिकरण गर्ने उद्देश्य अनुसार लुम्बिनाको महिलवारलाई आफ्नो क्षेत्रको रुपमा रोजेसँगै सुनिताको दैनिकी फेरिएको हो । महिलाहरुको दैनिकी परिर्वतन गर्नुपर्छ भन्ने चेतनामुलक कार्यक्रममा सहभागिता भएसँगै सुनितामा परिर्वतन आएको हो ।
अहिले सुनितासँगै लुम्बिनी साँस्कृतिक नगरपालिका महिलवारका १६ जना महिलाहरुले लुम्बिनीको शन्तिदिप अगाडी ‘आमा क्याफे’ को नाम दिएर केही महिना अघि शुरुवात गरेका छन् । लुम्बिनीको दर्शन गर्न आउनेहरुलाई लक्षित गरेको क्याफेको शुरुवात गरिएको क्याफेकी संचालक लक्ष्मी चौधरीले बताईन । उनले गाँउका दिदीबहिनीहरुलाई घर बाहिरसम्म ल्याउन त्यति सजिलो त थिएन तर पनि आर्थिक रुपमा आफुहरुलाई परिर्वतन हुनुपर्ने ठानेर काम शुरु गरेको बताइन ।
उनी भन्छिन, हामीले घर परिवारलाई यो विषयमा बुझाएर व्यवसाय शुरु गरेका कारणले कसैलाई नि समस्या छैन । सबै जना आफनो समयमा आउँछन् आ आफनो काम गर्दछन् ।
लुम्बिनीको बीचमा रहेको महिलाहरुले मात्रै सञ्चालनमा रहेको क्याफे सुविधा सम्पन्न छ । एसी जडित सुविधा सम्पन्न क्याफे भित्र पस्दा आन्नदको महसुस हुन्छ । क्याफेमा एकै पटकमा करिव २० जनाले खाजा खान अटन सक्ने क्षमता छ ।
तिलोत्तमा नगरपालिकाबाट साथीहरुसँग लुम्बिनी घुम्न पुगेकी सावि विश्वकर्माले सोच भन्दा पनि राम्रो व्यवस्थापनका साथमा खाजा घर स्थापना भएको अनुभव सुनाईन । उनले त्यहाँ बसेर खाजा खादा अत्यन्त खुशी र सन्देश मिलेको बताईन । शान्त वातावरणमा महिला दिदीबहिनीहरुको व्यवस्थापन सम्मान गर्न लायक रहेको बताईन । उनले लुम्बिनी घुम्न जाने जो कोहि पनि आमा क्याफेमा पसेर उनिहरुलाई हौसला प्रदान गर्नुपर्नेमा जोड दिईन । उनीहरुको हौसला बढाउन सके गरिवीका कारण कुनै महिलाले ज्यान गुमाउन नपर्ने अवस्था सिजना हुने उनी बताउँछिन् ।
क्याफेमा रहेकी ज्योति चौधरीलाई कहिल्यै पनि आफुले यसरी व्यवसाय गर्छु भन्ने कल्पना पनि नभएको सुनाईन । तर अहिलेको अवस्थाले आफुलाई जीवनको सबै भन्दा बढी खुशी मिलेको बताउँछिन । उनी भन्छिन्, हामी बाहिर आउन त्यति सजिलो थिएन । घरकै काम गर्ने छोरा छोरीलाई स्यार गर्ने हाम्रो दैनिकी थियो तर हामी पनि बाहिर आएर काम गर्न सक्छौ भन्ने सावित गर्नु चुनौती थियो ।
४१ वर्षकी मुन्नीदेवी चौधरीलाई क्याफेमा काम गर्नु सपना जस्तै लागेको छ । उनलाई यो काम २० वर्षको उमेरबाट गर्न पाएको भए साच्चै आफनो जीवन आफनै शैलीमा चलाउन सक्ने थिए होला भन्ने लाग्छ । मुन्नीलाई उमेर बढेसँगै शुरु भएको व्यवसायले आत्मसम्मान बढेको महसुस भएको छ । १६ जना दिदी बहिनीहरुले बिहान र दिउँसो दुई समयमा क्याफेमा काम गर्नु हुन्छ । क्याफेमा भुटेको चाउचाउ, सुप हालेको चाउचाउ, नमकिन, बदाम मसला, घर बनाएको आलु चिप्स, विस्कुट, नौनी कुकिज, फ्राई गरेको आलु लगायतका खाजाको परिकार पाईन्छ ।
दैनिक एक सय जनाले क्याफेमा खाजा खाने गरेको क्याफेका प्रमुख लक्ष्मी चौधरीले बताईन । यहाँबाट दैनिक जसो करिव ५ हजार बराबरको व्यापार हुन थालेको छ । चौधरीका अनुसार सबै १६ जनाले कयाफे सञ्चालन पुर्व नै एक हप्ताको तालिम लिएको बताइन । यहाँ काम गर्ने १६ जनाको मासिक तलव ८ हजार तोकिएको छ । तलव भन्दा धेरै आम्दानी भएमा क्याफे मर्मतका लागि बचत गर्ने योजना तय भएको लक्ष्मीले बताई ।
लुम्बिनीको शान्ति दिप नजिक रहेको आमा क्याफे साच्चै नै लोभ लाग्दो छ । चौधरी समुदायका १८ देखि ४२ वर्ष सम्मका महिलाहरुले शुरु गरेको व्यवसायले त्यहाँ पुग्ने धेरैको ध्यान तानेको छ । चिटिक्क गुलावी रंगको कुर्ता सुरवालमा सजिएका मिठो बोली मुसुक्क मुस्कान सहितको स्वागतले लुम्बिनी घुम्न आउनेहरुलाई स्वागत गरिरहेका भेटिन्छन् ।