© २०२३
बस्तीमा नानीहरू भोका थिए । कुपोषणले तिनका शरीर सारङ्गीजस्ता भएका थिए । त्यसैले तिनका बा आमा दुई छाक अन्नको जोहो चाहन्थे । बस्तीमा भोकको ज्वाला झन् पछि झन्झन् दन्किदै गइरहेको थियो । तर त्यो ताप अनुभव गर्ने धर्मीहरू त्यहाँ थिएनन् ।
धर्म भनेको भगवानको खोजी होइन, धर्म भनेको त ‘गर्न योग्य काम’ हो । भनिएकै छ– कर्म नै धर्म हो । तर बस्तीको सेरोफेरोबाट काम गर्नु पर्नेहरू हराए । त्यसैले धर्म हरायो । धर्म हराएपछि गतिहीनता देखियो । जडता देखियो ।
कर्म गर्छौं भन्नेहरू बस्तीका सपना र आकांक्षासँग जोडिनु पथ्र्यो । धर्म गर्छौं भन्नेहरू नानीहरूको भविष्यसँग जोडिनु पथ्र्यो । वडा सदस्यदेखि मेयरसम्मले साँझबिहान झुपडीहरूको धुरीबाट धुँवा आए–नआएको हेर्नु पथ्र्यो । वर्षा र गरिबीको डुबानबाट ती झुपडीहरूलाई जोगाउनका लागि काम गर्नु पथ्र्यो । बस्तीको भोक र दरिद्रता महशुस गर्नका लागि तिनका इन्द्रियहरू सक्षम हुनु पथ्र्यो । नानीहरूको भविष्यसँग तिनका योजनाहरू गाँसिनु पथ्र्यो ।
तर वडा सदस्यदेखि मेयरसम्म, कार्यकर्तादेखि नेतासम्म सबै सबै सांसद् र मन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्रीसम्मको चाकडीमा व्यस्त देखिए । कोही चाकडीबाट प्राप्त आशीर्वादले दिलाएको शिकार भक्षणमा व्यस्त थिए । कोही शिकारको जोहो गर्दै थिए । कोही शिकारको ताकमा थिए ।
तिनको शिकार बनेका खासमा तिनै बस्तीको भाग्य र भविष्य थियो । देशको ढुकुटी थियो । देशको जमीन थियो । देशको मर्यादा थियो । देशको कानुन थियो । भोका नानीहरूको भविष्य थियो । दुःखिया मानिसको वर्तमान थियो । तिनका सपना र सौभाग्य थियो ।
इमानमा चल्नु पर्ने राजनीति बेइमानीमा चल्न थाल्यो । कर्मले बाँच्नु पर्ने जनप्रतिनिधिहरू क्रूरताले बाँच्न थाले । उच्च ओहोदाका सांसद्, मन्त्री, नेता, कथित् युवा नेता र सबै सबै शासकहरू पापको काखमा बस्न गए । ती लोभी भए । ढोंगी भए । दुई जिब्रे भए । नीति शास्त्र पाठ गर्दै कुकर्म गर्ने भए । ती आफ्नै पापको डरले डर छेरुवा भए । बस्तीका अगुवा भएर पनि ती अन्धो शासकीय प्रवुत्तिको पछुवा भए ।
बस्तीको बिजोग ओ होइन । कुपोषणसँग लड्दा लड्दै बस्तीका धेरै नानीहरू मरिगए । हरेक गर्मी बस्तीमा लाग्ने आगो र लू भएर आउँछ । हरेक जाडो बस्तीलाई जमाउने शीतलहर भएर आउँछ । हरेक वर्षा बस्तीलाई डुबाउने झरी र बाढी भएर आउँछ । सयौं वर्षदेखि स्वाभिमान, स्वतन्त्रता र समृद्धिको सपना देख्दै आएको बस्तीको आश्वासनको लालपूर्जा त्यही बाढीले बगाउँछ । त्यो भेलले नानीहरूका सानासाना चप्पलहरू आँगनबाट बगाएर लैजान्छ । दुःखले जोहो गरिएका तिनका कापी किताब झुपडीभित्र पसेको त्यही बाढीले भिजाउँछ ।
बस्तीमा पसेको त्यो बाढीबाट वडा सदस्यदेखि मेयरसम्म, कार्यकर्तादेखि नेतासम्म, सांसद्देखि मन्त्रीसम्म र मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्म सबै सबै निरपेक्ष छन् । ती सबै पापको अङ्गालोमा बेरिएका छन् । सबैलाई अथाह सम्पत्ति कमाउनु छ । कुनै उद्योगधन्दा, बन्दबेपार, लगानी र मिहिनेत बिना नै राजनीति, सत्ता र शक्तिको दुरुपयोगले अरबपति खरबपति बन्नु छ । बस्ती डुबिरहोस् । देश डुबिरहोस् । मान्छेको भाग्य र भविष्य डुबिरहोस् । तिनलाई आफू उत्रिन पाए पुग्छ ।
मर्नु नै छ भनी मान्छेले जन्मनै छोड्यो भने धरती कस्तो हुनेछ ? भाग्यमा यस्तै लेखेको रहेछ भनी प्रतिरोध र प्रतिकार गर्न छोड्यो भने के हुन्छ ? अँध्यारोबाट उछिट्टिएर उज्यालोतिर जाने प्रयास गर्न नै छोड्यो भने के हुन्छ ?
यी प्रश्नहरू बिल्कुलै कल्पनातीत छन् । यो त त्यस्तै प्रश्न भया,े जस्तो–हुरिले चुँडिलान्छ भनेर फूलले फुल्न छोड्यो भने बगैचा कस्तो हुन्छ ? जस्तो–धमिलो भइन्छ भनेर मूलले बग्न छाड्यो भने नदी कस्तो हुन्छ ? जस्तो–अस्ताउनु पर्छ भनेर घाम र जूनले उदाउनै छोडे भने पृथ्वी कस्तो हुन्छ ?
फुल्नु नै फूलको धर्म हो । बग्नु पानीको । उदाउनु र अस्ताउनु घाम जूनको । जन्मनु, अँध्यारोबाट उज्यालोतिर लाग्नु र मर्नु मानिसको ।
बाढी र डुबानमा तैरिरहेका भोको बस्तीको सबैभन्दा कुपोषणग्रस्त बालक वा बालिका नै भोलि सबैभन्दा ठूलो विद्रोही बन्ने संभावना हुन्छ । संभावना त, ऊ नै सबैभन्दा ठूलो ‘माओवादी’ बन्ने पनि हुन्छ । ऊ नै सबैभन्दा ठूलो ‘आतंककारी’ बन्ने पनि हुन्छ । ऊ नै सबैभन्दा ठूलो तानाशाह बन्ने पनि हुन्छ ।
पापको अङ्गालोमा बेरिएकाहरू भने अनवरत सत्ताको लुछाचुँडी, भागवण्डा र लडाइँमा व्यस्त छन् । तिनलाई बाढी र डुबानमा तैरिरहेका बस्तीतिर हेर्ने फुर्सद छैन ।