© २०२३
क्यानाम, कालजमाना ठीक छैन केटा !
पिढींमा बसेर तमाखु तान्दै किच्किच गरिरहने किच्किचे बूढा नभन् मलाई तँ । यो जुगसँग मेरो बहुत बडा गुनासो छ । यसको छाँटकाँट बिलकुलै ठीक छैन । यो कलि भुक्तमानको बेला हो ।
तुइनमा झुण्डेको एउटा निर्दोष जवानलाई दुष्टले नदीमा खसालेर बेपत्ता पारिदिएको खबरले किन मान्छेको दिमाग र छाती पोल्दैन ? हुन त बन्दाबन्दैको पक्की पुल हावाले उडायो भन्ने जस्तो सफेद झूठलाई विश्वास गर्ने कानुन भएको देशमा तुइनबाट मानिस खस्नु उदेक लाग्ने कुरा नहुन सक्छ । तर मलाई त उदेक लाग्छ । बहुतै दुःख लाग्छ ।
हेर् केटा ! मेरो त जुनी बित्नै लाग्यो । यी कपाल त्यसै तुसारो बनेका होइनन् । मभित्र पूरा इतिहास छ । बहुत कथाहरूका श्रोत छन् । मैले काली गण्डकीको चोखो पानीलाई छोएको छु । त्यसको किनारमा शालिग्राम भेटेको छु । त्यसबाट जिन्नकीको गीत निस्केको देखेको छु । मानिसहरूको जीवनले त्यसैमा विश्राम गरेको देखेको छु ।
देखेको छु– आफ्नै रगत, पसिना र काली गण्डकीको पानीले सिंचेर पुर्खाहरूले आर्जेको फूलबारी मासिंदै मासिंदै गएको छ । फूलका बोटहरू उखेलेर देशमा बाहिरबाट ल्याएको धतुरो र सिउँडी रोपिएको छ । प्लाष्टिकका गमलाहरूमा प्लाष्टिककै फूलहरू कोचेर बार्दली र आँगनमा लहरै राखिएको छ । अन्ट्याँटी, प्लाष्टिकका फूलहरूको सिंचाइका लागि भन्दै काली गण्डकीमाथि राजनीति सवार भएको छ । कालीगण्डकीको अहोरात्र दोहन भइरहेको छ । मध्य रातमा पनि कालीगण्डकीमाथि डाँका परिरहेछ ।
क्यानाम, यो सब कलियुगको प्रताप हो ।
मैले देखेको देश त भोटे हो । मैले छामेको देश त कोदे हो । मैले चिनेको देश त पाखे पनि हो । तर हेर्दा हेर्दै फापर, कोदो र मकैबारीको पाखो छाडेर भोको पेटमा विकासे चामलका राहत गोदामहरूमा किन लइन लाग्न थाले गाउँका मानिसहरू ? किन तिनले दुधालु भैंसी काटेर सुकुटी बनाउने तरीका सिके ? शहरमा कोकाकोला र वियरसँगै रक्सीको खपत किन बढाए मानिसहरूले ? छिमेकीको आँगनतिर फोहर फालेर किन आफ्नो कोठामा अत्तर छर्किन थाले ?
भन्लास्– के जाति गणतन्त्र आयो नि ! अब के जाति विकासको मूल फुट्छ भन्लास् । के जाति दरबार गाउँतिर पुगो भन्लास् । जमाना काँ पुगो भन्लास् । खै काँ पुगो तेरो जमाना ? यार्सागुम्बाको लेकभन्दा माथि पुगो ? भन्लास्–सगरमाथाको टुप्पामा पुगो ।
तर के त्यो विदेशीको भरिया नबनीकन पुगो ?
कुरा गर्छस् नयाँ जमानाको ! सप्पै तल तिरैको साइत छ । मास्तिर लाग्ने छाँट छैन । तलतिर, तलतिर, तलतिर । मुगलानतिर । मलेशियातिर । कोरियातिर । अरबतिर । जहाँबाट हरएक दिन बाकसमा बन्द भैकन तीन जवानको लाश देश फर्किन्च भन्चन् ।
राजा फालेको होइन ? तब हात हातमा राजदण्डा लिएर मानिसका इच्छा र सपनाहरूलाई लखेटिरहेको यो भीड कसको हो ? विभिन्न दरबारबाट निस्केर त्यो भीडले न्याय, विवेक र इमानलाई किन यस्तरी लखेटिरहेछ ? यस्तरी त केटा, अग्निपरीक्षाका नाममा रामले पनि लखेटेका थिएनन् होला है सीतालाई !
नयाँ जमानाको यो कस्तो नयाँ भीड हो ? जो सँधै इमानजमानलाई लछारपछार गरिरहेछ ।
यस्तरी त दुःशासनले पनि लछारपछार गरेको थिएनन् होला द्रोैपदीलाई । नियाँनिसाफको यतिविधि हुर्मत त कहिल्यै कसैले पनि लिएका थिएनन् होला !
कुर्चीकै लागि यति जातिबित्ती अन्धा त धृतराष्ट्र पनि भएका थिएनन् होला । तेरो यो कस्तो जमाना हो ? जहाँ हे¥यो, त्यही धृतराष्ट्रहरू मात्र देखिन्छन् । अग्लो अग्लो कुर्चीमा बसेका अन्धाहरू मात्रै देखिन्छन् । अन्धाहरूले देशलाई कुन भीरबाट खसाल्ने हुन् ?
यो सब कलिको प्रताप हो । उहिल्यै राजा परीक्षितले कलिलाई जुवाघर, मदिरालय, वधशाला लगायत सुनमा पनि बस्न सक्ने वचन दिएपछि कलि सुनमा बसेको हो । राजाले श्रीपेंच लगाउँछन् । देख् वा नदेख्– देशमा अहिले माथिदेखि तलसम्म राजाहरूको भीड छ । देख् वा नदेख्–राजा भनेका श्रीपेंचधारि नै हुन्छन् । तिनका श्रीपेंचमा सुन हुन्छ । जहाँ सुन हुन्छ, त्यहाँ कलि बस्छ ।
देशमा सरकारै सरकार भएको त राम्रै होला तर राजै राजा भएको बिलकुल राम्रो होइन । जति धेरै राजा, त्यति नै धेरै श्रीपेंच । जति धेरै श्रीपेंच, त्यति धेरै सुन । जति धेरै सुन, त्यति नै कलिको प्रताप !
गन्गने बूढाको गन्गन् नभनेस् केटा । यो जुगसँग मेरो बहुत बडा गुनासो छ । यसको छाँटकाँट बिलकुलै ठीक छैन । यो कलि भुक्तमानको बेला हो ।
क्यानाम, कालजमाना ठीक छैन केटा !