© २०२३
पाल्पा, १ असार ।
रैनादेवी छहरा ७ बल्ढेङगढीकी शतीकला विश्वकर्माको यतिखेर दैनिकी फेरिएको छ । बिहान उज्यालो नहुँदै खोरमा पालिएका बंगुरको दानापानी व्यवस्थापन गरिसक्नु पर्दछ । त्यसपछिको समयमा वन व्यवस्थापन, समूह सदस्यको आय आर्जनमा कसरी टेवा पुर्याउन सकिन्छ भन्ने छलफल संवादमा नै बित्ने गर्दछ ।
२५३ हेक्टरमा फैलिएको चुरे क्षेत्रको वनमा पहिलो त सुख्खा मौसममा डढेलो नियन्त्रण, सुखेका, ढलेका काठ, दाउराहरुको व्यवस्थापन, त्यसैगरी वनबाट हुने चोरी निकासी उनका लागि मुख्य चुनौती थियो । आफ्ना समूह सदस्यसंग आफ्नो समेत आय आर्जनको लागि बाटो पहिल्याउनु नै मुख्य चुनौती हुन् । नभन्दै वन समूहको नेतृत्व संग अन्य पधाधिकारी समेत सवल र सक्षम भएकै कारण चुनौतीलाई अवसरको रुपमा लिन सफल भएको उनी बताउँछिन् ।
वन व्यवस्थापन सँगसँगै सामुदायिक वनबाट आफुसंगै सबै सदस्यको दैनिक जीवनस्तरमा परिवर्तन आएको छ । वनबाट अवैध रुख कटान गरी चोरी निकासी भएका बखतमा तस्कर समूहलाई पक्राउ गरी डिभिजन वन कार्यालयमा कानुनी कारवाहीका लागि पठाउन पाएकोमा सबै खुसी भएको समूहका सचिव खुम बहादुर विश्वकर्मा बताउँछन् । सुकेका, ढलेका रुख व्यवस्थापनबाट प्राप्त श्रोतबाट स्थानीय एवं आफ्नो गाउँको गहते मावि शिक्षकको लागि तलब व्यवस्थापन गरेको वनले व्यवस्थापन चोरी नियन्त्रणका लागि हेरालु राखेको । हेरालु चिन्ता बहादुर सुनारले आफूले मासिक पाउने १२ हजार तलबले आफ्नो घर खर्च राम्रो संग चल्दै आएको बताउँछन् । मासिक १० हजार कमाउन टाढै जानु पर्दछ तर आफुले त्यो भन्दा बढी आम्दानी लिन सफल भएकोमा निकै खुसी लागेको उनी बताउँछन् ।
पहिलो विषय भनेको आम्दानीको श्रोत पहिचान गर्ने हो । यही क्रममा पहिलो पटक परक्षणका लागि समूहमा १० जना छनोट गरियो । त्यस मध्ये ५ जना कुखुरा पालन गर्ने, ५ जना बंगुर पालन गर्ने, त्यसवापत सामुदायिक वनबाट कर्जा वापत २०–२० हजार रुपैयाँ उपलब्ध गराएको उनको भनाई छ । “परीक्षणको क्रममा थियौं परिमाण कल्पना गरे भन्दा राम्रो भएकाले अबका दिनमा बाँकी ३५ घर परिवारलाई लक्षित गरेर योजना बनाएको, कुखुरा, बंगुर, बाख्रा पालन १५ महिना बिना व्याज फिर्ता गर्ने गरी ५ लाख रुपैयाँ विनियोजन गरिएको छ”–सचिव खुम बहादुरले भने ।
गरिबी संगै विपन्नता, अशिक्षाले नराम्रो संग च्यापिएको दलित समुदायबाट पहिलो पटक सामुदायिक वनको नेतृत्वमा पुग्दा आफुलाई सपना देखे जस्तो भएको शतीकला बताउँछिन् । वनका कारण विभिन्न तालिमहरुमा सहभागी बन्ने अवसरका कारण नेतृत्व विकास संगसंगै टोलको समेत परिवर्तन भएको छ । सबैका घर घरमा पक्की शौचालय छन् । वातावरणीय र व्यक्तिगत सरसफाइमा पनि उत्तिकै सचेत भएका छन् । शिक्षाको विकासमा पनि धेरै परिवर्तन भएको छ । खानेपानीको धारा थिएन । आय आर्जन संगै खानेपानीको समेत धारा निर्माण गरिदिदा निकै सहज भएको स्थानीय मुन बहादुर विश्वकर्मा बताउँछन् ।
१५ महिनामा साँवा फिर्ता गर्ने गरी २० हजार रुपैयाँबाट कुखुरा ालन व्यवसाय सुरुवात गरेका खुम बहादुर बिश्वकर्मा भन्छन्, “गरिब र काम गर्नका लागि त्यो रकम पनि ठुलो नै हुँदो रहेछ । त्यसै रकमबाट गिरिराज जातको ५० वटा चल्लावाट थालनी गरेको र पछि झण्डै २० हजार रुपैयाँ आम्दानी भयो । त्यसैले वन आफ्नो लागि वरदान नै सावित भयो ।” समुहकै अध्यक्षले वंगुर पालन गरेको र २ वटा वंगुर पालन गरेको बताउने शतीकला एउटै वंगुरबाट राम्रो आम्दानी भएको बताउँछिन् । वंगुर पालनबाट राम्रो आम्दानी गर्न सफल भएका दोलख बहादुर विश्वकर्मा भन्छन्, “वंगंर पालनबाट राम्रो आय आर्जन भएको र आफुले आधुनिक प्रविधि समेत ज्ञान भएको बताउँछन् । एउटै वंगुरबाट झण्डै १५ हजार रुपैयाँ आम्दानी भयो ।
काठ दाउराबाट समूहलाई प्राप्त हुने रकम मध्ये वन विकासका लागि ४० प्रतिशत रकम खर्चिनु पर्दछ । त्यसबाट हेरालुका लागि रोजगारी हो । बाँकी ६० प्रतिशत रकम बैंकमा राख्ने । रकमलाई परिचालन गरियो भने त्यसले वन व्यवस्थापन संग आय आर्जनको ढोका खुल्ने वन पधाधिकारीहरु बताउँछन् । डिभिजन वन कार्यालयका सुचना अधिकारी संयोग बस्नेत जिल्लाबाट हेर्दा कर्णाली जस्तो लाग्ने तर काम अत्यन्त राम्रा भएका बताउँछन् । आउने दिनमा यस्ता उदाहरणीय काम गर्ने समुहका लागि सालको पातबाट तयार गरिने दुना टपरी मेसिन उपलब्ध गराउने उनले बताए ।
सामुदायिक वन उपभोक्ता महासंघका निवर्तमान जिल्ला अध्यक्ष निरन्जन भुषालले भने चिदीपानी सामुदायिक वनबाट जिल्लाका अन्य सामुदायिक वन उपभोक्ता समूहले पाठ सिक्नु पर्ने बताउँछन् ।