© २०२३
हिन्दू संस्कारमा असौज कृष्णपक्ष प्रतिपदादेखि औंशीसम्मका १५ तिथि, १५ दिन र प्रतिपदाभन्दा पहिलेको दिन पूर्णिमासमेत १६ दिन सोह्र श्राद्धका दिन हुन् । यी तिथिमा देहान्त पुरुष वा बाहरुको सम्मानमा श्राद्ध हुन्छ । महिला अर्थात आमासहितको श्राद्ध, पद्दतिको विधिले स्मरणमात्र हुन्छ । बा ज्युँदै रहेर आमाको देहान्त भएको अवस्थामा उनीहरुको सोह्रश्राद्ध हुँदैन । तर हजुरबाको श्राद्ध हुँदा स्मरण हुन्छ । तर, महिला वा पुरुष जो व्यक्तिको जुन महिनामा पर्ने दिनको तिथिमा देहान्त भएको हो त्यसै तिथिमा नै श्राद्ध हुन्छ । यो सोह्रश्राद्ध अतिरिक्त श्राद्ध पनि हो । श्राद्ध पर्वजस्तै ।
कर्मकाण्ड पद्दतिको स्थिति कहिलेबाट बस्यो, श्वर्ग र नर्कका कुरा कहिलेबाट रचना भए, एउटा पक्ष भयो । हामीले यस्ता कुरा कहिलेबाट सिक्यौँ र अब कति परसम्म जान्छ भन्ने बिषयमा पनि कुरो खेलाउन जरुरी छ । श्राद्ध जुनसुकै विधिले गरे पनि पितृ वा दिवङ्गत मान्छेप्रतिको सम्मान तथा स्नेह नै श्राद्ध हो । शोक, रोदन वा क्रन्दन आदिको मन बिसाउने ठाउँ श्राद्ध हो । परम्परागत श्राद्ध नगर्नेले, अनुकूल नहुनेहरुले, त्यस भित्रका रुढीगत कुरालाई बढार्न चाहनेहरुले समेत कुनै न कुनै प्रकारले पितृहरुलाई, आफन्तलाई सम्झन्छन् । हृदयले सम्झनु पनि श्राद्ध हो । केही पनि गर्दिन भन्नेको पनि मन हुन्छ, हृदय हुन्छ । एकान्त कोठामा बसेर धुरुक्क रुन्छ, भावुक हुन्छ भने झन् ठूलो श्राद्ध हो । मदन भण्डारीको अस्तु देशभरि बाँडियो, त्यो पनि एकप्रकारको श्राद्ध नै हो । सबै प्रकारका शोक दिवस, जन्म जयन्ती सबै श्राद्ध हुन् ।
परम्परात्मक वा कर्मकाण्डीय विधिले श्राद्ध गर्ने कुरामा अचेल बहस चल्दै आएको छ । कर्मकाण्ड भनेको त्यस कर्मको पद्दति हो, नियमका कुरा हुन् । भाषाको ब्याकरण नियम हो । संविधान वा कानून देश तथा समाज चलाउने नियम हुन् । मान्छेका दैनिकीका नियम हुन्छन् । खाने, सुत्ने वा काम गर्नेका पनि नियम वा विधि हुन्छन् । प्रकृतिका झन् कडा अर्थात अनुशासित नियम हुन्छन् । ती नियमको आधारमा हामीले सास फेर्छौँ, आफै मुटु चल्छ । हो; वेदना, हर्ष तथा अन्य जीवनशैलीमा आइपर्ने कुराहरु, बिषयहरुलाई सूत्रवद्ध गराएर नीति बनाइएका कुरा नै पद्दति हुन् । त्यस्तै एउटा पद्दति श्राद्ध पनि हो ।
हरेक जात, धर्म वा भूगोलमा बस्ने मान्छेका श्राद्ध गर्ने तरिका फरक हुन्छन् । हिन्दू आर्य सभ्यताको संस्कृत भाषामा उल्लेख भएको श्राद्ध विधि बाहेक अरु तरिकाले श्राद्ध गर्ने मान्छे नर्कमा जान्छन्, पितृ तर्दैनन् भनेको पनि पाइन्छ । भन्ने कुरा वा विश्वास मान्ने कुरा एउटा हो । श्वर्ग नर्क छ वा छैन भनेर तर्क गर्ने कुरा अर्को पक्ष हो । संस्कृत भाषा नजानेका, किताबमा उल्लेख भएको विधिको पहुँचमा नभएका, ब्राह्मण वा पण्डितको पहुँचमा नभएका मान्छेले श्रद्धापूर्वक मनमनै भावको भाषामा बोलेका कुराले पनि श्राद्ध हुन्छ । यस्तो विधिले श्राद्ध गर्नेहरुको संख्या पनि दिनहुँ बढ्दो छ । कसैले यस विधिले श्राद्ध गरेकोमा पितृ तर्दैनन्, विधि मिलेन भन्छन् भने यो ती भन्ने मान्छेको टाउको दुख्ने मात्र हो । उनीहरुको टाउको उनीहरु आफैले दुखाएका हुन् । उनीहरुले पनि सुनेर वा पढेर सिकेका हुन् ।
हामीले बनाएका विधि वा नियम हाम्रो लागि हो । पुरानो सभ्यताले त्यस समयको विश्वासको आधारमा नियम बनायो । आज समय वा समाज परिवर्तित छ । नियममा पनि फेरबदल हुन्छ । संशोधन हुन्छ । सुधारेर पनि भएन भने पुरै नयाँ बन्छ । अहिले श्राद्ध गर्ने विधिको विकल्पमा अनलाइनको सहारा लिने प्रचलन छ । हुन त त्यसो गर्न पनि पर्दैन । मनले सम्झे मात्र पनि हुन्छ । कसैले अनलाइनमा पण्डित बसेर श्राद्ध गराउँछन् भने किन हुन्न भन्नु प¥यो र ? अमेरिकाको पैसा चल्ने, पाताल भन्छन्, पातालको पूजा विधि चल्ने, देउता बस्ने, पितृ त्यतै पुग्न सक्ने, अनि अनलाइनको आवाज सुन्न नसक्ने ? अनलाइन श्राद्ध ग्राह्य नहुने ? यस्ता तर्क पनि उठ्नु स्वाभाविकै हो । हामी कतिपयले त श्वर्गलोक तथा पितृलोक हुन्छ कि हुन्न भनेर तर्क गर्न मन पराउछौँ । यस अर्थमा हामीलाई पापी भन्नेहरुको जमात पनि हुन सक्छन्, होउन् । तर पनि सबैको आस्था वा भावनाको कदर गर्छौँ वा चलन मानेका छौँ । हामी पनि यसै सभ्यतामा छौँ र यसैको बिषयमा बहस गर्छौँ ।
हामी सबैले यस कर्मकाण्डीय विधिले श्राद्ध गर्न थालेको पाँच सय वर्ष पनि भएको छैन होला । लेख्य भाषा तथा छापाको विकास नहुँदै वा कर्मकाण्ड पद्दति नहुँदै पनि मान्छे मरे । त्यस समयमा पनि शोक मनाए । रोए । कुनै न कुनै विधिले कर्म गरे । के त्यसबेलाका पितृ सबै नर्कमै गए त ? अथवा यो श्राद्ध पद्दति नमानेर अन्य विधिले श्राद्ध गरिएका पितृ सबै नर्कमै गए त ? के हो नर्क ? श्वर्ग कहाँ छ ? पितृलोक कहाँ छ ? सबैले आफ्नो तर्क पेश गर्ने हो । आफ्नो आस्थाको पक्षमा बहस गर्ने हो ।
अहिले विश्वभरि कोरोनाको महामारी छ । यस अवस्थामा तोकिएकै विधिमा श्राद्ध गर्न संभव छैन । पुरोहित आउँदैनन् । आपसमा छोइन हुँदैन । टीका लगाउन मिल्दैन । दक्षिणाबाट कोरोना सर्ने डर छ । जहाँ पायो त्यहाँ भोजन गर्न हुँदैन । यस्तो अवस्थामा पनि श्राद्ध भएकै छ । पितृको सम्मान भएकै छ । के यो बाध्यात्मक श्राद्ध अमान्य हुन्छ ? त्यसोभए के गरेर मान्य हुन्छ त ? यो विधिको बारेमा अडान राख्नेले के विधिले श्राद्ध गर्छन् ? कोरोना लागेर मरेको मान्छे जसको संस्कार बिरुद्धको देहसंस्कार गरिन्छ । दाहसंस्कार गरिन्न, उ कुन लोकमा गएर बस्छ ? यावत तर्क उठ्छन् । हाम्रा गुरु पुरोहितहरुको के धारणा छ कुन्नि ?
सबै विधिविधानको निर्माता मानिस हो । मानिसले नै सबै संस्कृतिको जग हालेको हो । मेला पर्वहरु आयोजना गरेको हो । जनै लगाउने देखि डोरो बाँध्ने, पाठ पूजा गर्ने, ब्रत बस्ने, न्वारान गर्ने, विवाह गर्ने, काज किरिया गर्र्ने, श्राद्ध विधान गर्ने यावत तरिकाहरु मानिसले नै अपनाएको हो । कतिबेला कुन कार्य सम्पादन गर्दा आफूलाई आनन्द आउँछ त्यो प्रकारले मानिसले यस्ता रिवाजहरु बसाल्यो र भाबी पिँढीले त्यसको अनुशरण गर्दै आउँदा आजको अवस्था निर्माण भएको हो । कुनैबेला त्यो रुप सन्देश दिनको लागि थियो होला । शिक्षाको लागि थियो होला । अनुशासनको लागि थियो होला । मानिसले मानिसमाथि शासन गर्नका लागि पनि थियो होला । विभिन्न कारण हुन सक्छन् । स्वार्थहरु हुन सक्छन् । मनोरञ्जन हुन सक्छन् । भेटघाट गर्नका लागि कुनै बहानाहरु हुन सक्छन् । जस्तो घर खान लोग्नेको घरमा गएकी चेली माइतमा आउने बहाना तिज बनेको छ । घरका सबै पारिवारिक जमघट हुनका लागि दशँै बहाना बनेको छ । दाजु भाइ र दिदी बहिनी भेट हुनका लागि तिहार बहाना बनेको छ । दिवंगत भएका पितामातालाई सम्झनको लागि सोह्र श्राद्ध बहाना बनाइयो । संयोगले यतिबेला पनि सम्भव भएन भने आमाको मुख हेर्ने दिन, बाबुको मुख हेर्ने दिन पनि छुटइयो । यी सबै मानिसले आफ्ना आवश्यकताअनुसार रचना गरेका पर्वहरु हुन् । कथित देवलोकबाट मानिसलाई लादेका धार्मिक कानुन होइनन् । (साथमा गुरुदत्त ज्ञवाली, शंकरनगर)