© २०२३
पटक्कै निद्रा परेन
घरि यता फर्कन्छु
घरि उता फर्कन्छु
अहँ निद्रा आउँदै आएन
बरु मनभरि
आईरहे अनेक ताना तर्कना
महामारी छ यो कोरोना
के के हुने हो ?
कतै बाढि, पहिरो छ
कतै चट्याङ्ग, असिना
कति ठगिएर विदेशमा
सित्तै बग्छ पसिना ।
जब झुत्ति खेल्छन्
यावत् गन्थनहरु मनमा
छट्पटी बढिरहन्छ
झन झन यो तनमा
बोलाउन खोज्छु
चिम्लिएर आँखा
यो ज्यान सुस्ताउनै पाउँदैन
निद्रा पटक्कै आउँदैन ।
उठ्छु पानी पिउँछु
यसो घडी हेर्छु
फेरि पिसाब फेर्छु
झ्याल खोल्छु
ढोका उघार्छु
स्वागतार्थ कामना गर्छु
कति पुकार्छु
आँखा टर्रा भइन्जेल
प्रतीक्षा गर्छु
र भन्छु आईदेउ तिमी
अरु केहि चाँहिदैन
तर ऊ पटक्कै आउँदैन ।
यहि गुनासो पोख्छु
साथी सङ्ग
सुनेर मेरो कुरा
साथी पर्छ दङ्ग
र भन्छ
दिनभर व्यस्त छु काममा
सधै ढिला पुग्छु म घरमा
यसो गर्यो, उसो गर्यो
पटक्कै पुग्दैन समय
पक्डनै सक्दिन म आफ्नो लय
उता कलेजको पढ्नु छ
यता तयारि लोकसेवा गर्नु छ
फिजाउँछु जब म
किताब र कापी
कताबाट टुप्लुक्क आउँछ
त्यो दुष्ट पापी ?
म आँखा च्यात्छु
घटघट पानी घट्काउँछु
र छ्याप्प आँखा छ्याप्छु
किलै ठोकेर दलिनमा
टुप्पी तङ्गडी लगाउँछु
पटक्कै छोड्दैन
झुप्प झुप्प आईरहन्छ
रिसै उठ्छ
उठेर झ्याल ढप्काउँछु
ढोकामा आग्लो ठोक्छु
खोजि खोजि म
खोपा समेत टाल्छु
ढोका, झ्यालका चर चरमा
झुम्रो कोचेर हाल्छु
अहँ पटक्कै छोड्दैन
कता कताबाट त्यो छिर्छ
गम्लङ्गै अँगालो हाल्छ
मेरो पढ्ने सपना तुहाउँछ
पापी निद्रा
कहाँबाट आउँछ आउँछ ??