© २०२३
ब्याज पनि छैन, साउँ पनि छैन । फोन गर्दा छोरोले पैसा पठाएकै छैन भनेर रुन्छ । हात्ती साहु ब्याज र मुलधन माग्दा माग्दा हैरान परे । मोवाइलमा असामीसँग कुरा गर्दा नै दुई सय भ्याइएहोला । तीन चारचोटी घरमा गए । गाडी भाडा नै सयौँ सकियो । भेट भयो कि छोराले पैसा पठाएन, फोन पनि गरेन । बडो दिक्क लाग्याछ हात्ती साहु । अब यहि घडेरी बेचेर भए पनि सामा ब्याज टक्राउँला । तर, के गर्नु ? यतिबेला छनक्क पैसा दिने ग्राहक पनि आउँदैनन् । छिमेकीले लकडाउनमा कारोबार हुँदैन भन्छन् । तेजबहादुरको समस्या सुनेपछि हात्ती साहु आश्वस्त भए । त्यहि घडेरीको लालपूर्जा मुठ्याएर उनले पैसा दिएका थिए । डुब्ने डर त थिएन । तर, अर्काको हातमा गएको धन्, लालपूर्जा त हरायो भनेर अर्को निकाल्न पनि सकिन्छ । घरायसी तमसुकको कानुनी मान्यता हुँदैन भन्छन् ।
तेजबहादुरले हात्ती साहुसँग छोरोलाई बिदेश पठाउने बेला दुई लाख रुपैया ऋण लिएका थिए । घरायसी तमसुक बनेको थियो । लालपुर्जा नै हात्ती साहुलाई सुम्पिएका थिए । एक बर्षको भाका थियो । ब्याजको दर भने निकै महंगो थियो । सयकडा चार रुपैयाँ प्रति महिना । यो एक बर्ष अघिको कुरा हो ।
अँस्ति लकडाउनको बेला छोराले किनेर ल्याइदिएको नयाँ मोवाइल सेटमा पुरानो सिम हालेर तेजबहादुरले हात्ती साहुलाई पैसा लिन लालपूर्जा, तमसुक दुबै लिएर घरमा आउनुस्, विदेशबाट छोरा घरमा आइपुग्यो भनेर फोन गरे । हात्ती साहु एकछिन् त खुसी भए । तर, झल्यास्स सम्झेः विदेशबाट आएको छोरा, क्वारेण्टाइनमा बस्यो कि बसेन ? कतै कोरोना साथमा लिएर आएको पो छ कि ? उनले सोधेः कहिले आइपुग्यो छोरा ?
तेजबहादुरले भनेः तीन दिन अगाडि उडेछ । हिँजो घरमा आयो । हिँजो नै बैंकमा गएर पैसा निकाल्यो । थुक लगाइ लगाइ गन्यो । सिँगान पनि दुई तीनचोटी फालेको थियो । हाच्छु तीन चारचोटी गरेको हो । गनेर ठिक्क छ । लिन आउनुस् । आज आउनु भएन भने पैसा खर्च हुन्छ । फेरि एक बर्ष कुर्नुपर्छ । तेजबहादुरले मोवाइल बन्द गरे ।
हात्ती साहु बडो हैरान परे । कोरोनाको बिग्बिगी छ । दोस्रोपटक लकडाउन घोषणा भएको छ । माक्स नलगाई आँगनमा पनि निस्कन पाइँदैन । यति मान्छे मरे, उतीजना संक्रमित भए, विदेशबाट आउनेले कोरोना फैलाए, समुदायमा पनि कोरोनाको संक्रमण देखियो भनेर समाचार आइरहेको छ । तेजबहादुरको छोरा पनि विदेशबाट आएको केटा, त्यसमाथि हाच्छँु गरेको छ रे, थुक लगाइ लगाइ र सिँगान फाल्दै पैसा गनेर मुठो पारेको छ रे । सुरक्षित रहनका लागि यत्रो महिना देखि आफूले कोठा छाडिएको छैन । पैसा आयो, सावाँ ब्याजसमेत बुझ्न पाइने भयो भनेर त्यस्तो पैसा समाउन जान त भएन । त्यो त कोरोनालाई आफ्नो हातले उचालेर घरमा ल्याएसरह हुने भयो । त्यो पैसा घरमा आयो भने आफू त मरिन्छ नै, जहान केटाकेटी पनि ज्युँदा रहने छैनन् । जब आफूलगायत सारा परिवार समाप्त भइन्छ भने त्यो पैसाको के अर्थ ? उनले मन मजबुत बनाए । लोभ लाग्दा लाग्दै पनि मनबाट हटाए ।
उनले निकै सोँचे । तेजबहादुरको छोरा परदेशबाट आएको मान्छे । तीन दिन अगाडि काम गर्ने देशबाट उडेको रे भनेपछि त्यसको स्वास्थ्य परीक्षण पक्कै भएन । त्यसमाथि थुक लगाइ लगाइ पैसा गनेको छ । हाच्छुँ पनि गरेको छ । सिँगान पनि काडेको छ भनेपछि त्यसलाई कोरोनाले समाएको छ । मैले त त्यो इलाका पनि टेक्न हुँदैन । तिनीहरुको छायाँ पनि नजिक पार्न हुँदैन । लाहुरबाट आएको केटा साहुजी नमस्कार भन्ला । अचेलका केटा, हात मिलाउन खप्पिस छन् । त्यसको लागि नजिकिएला ।
यहाँ आफूले छोराछोरीलाई कोठामा थुनिएको छ । बारीमा पनि टाढाटाढा नजाउ भनिएको छ । माक्स नलगाई आफ्नो कोठामा छिर्न दिइएको छैन । तरकारी घरमा जे छ त्यसमै निर्वाह गरिएको छ । घरमा कसैलाई ढिप्कन दिइएको छैन । मानिसलाई लखेट्नकै लागि भनेर एउटा कुकुरै पालिएको छ । चार महिनामा चार दर्जन त हात धुने साबुन सक्याइएको छ । सेनिटाइजरका खाली सिसी एक डोका पुगिसके । माक्सको एउटा पोका नै बनि सक्यो । यसरी सुरक्षित भएको ज्यानमा ढाइ तीन लाखको लोभमा आफू र परिवार नै समाप्त पार्न त भएन गाँठे ।
यो सोँचेर फोन गरेर तेजबहादुरलाई भनेः पैसा सुरक्षित राखिदेउ, लकडाउन सकिएपछि लेनदेन गरौँला । केही हतार छैन । ब्याज दिए देउला, नदिए नदेउला, मलाई ब्याजको लोभ छैन । बरु यसो गर । फलानो बैंकमा मेरो खाता छ । नम्बर एसएमएस गरी पठाइदिन्छु । त्यसमा जम्मा गरिदिए पनि हुन्छ । सबैभन्दा सजिलो उपाय ।
खाता नम्बर आएपछि तेजबहादुरले दुई लाख रुपैयाँ लिएर हात्ती साहुको खातामा पैसा जम्मा गरिदिए । हात्ती साहुले पनि तमसुक च्यात्न, लालपूर्जा लिन कुनै बेला माक्स लगाएर घरमा आउनु भने । भोलिपल्ट तमसुक च्यातियो । लालपूर्जा तेजबहादुरको हातमा आयो । लेनदेन फारफरक भयो । कोरोनाको त्रास देखाएर तेजबहादुर ब्याजबाट छुट्कारा पाए । छोरा क्वारेण्टाइनमा १५ दिन बसेर सुरक्षित भई आएको कुरा लुकाउँदा झण्डै एक लाख बच्यो ।
हात्ती साहुले एक्लै बसेर कोठामा हिसाव गरे । हात्तीछाप नोठ खेलाउने भएकाले गाउँलेले उनलाई हात्ती साहु भन्थे । कोरोनाले गर्दा बाघ साहुमा झरेका थिए । तेजबहादुरको जस्तै सबै असामीबाट विना ब्याजे कारोबार गर्दै जाने हो भने गैँडे साहुबाट पनि तल झर्नुपर्ने अवस्था आउने भयो भन्दै खुइ..य गरेर हिसाव जोडेको कागज आफ्नै हातले च्याते । किनभने उनलाई थाहा भइसकेको थियो तेजबहादुरको छोरा कोरोना मुक्त थियो । तेजबहादुरले चलाखी गरेको उनलाई खबर आइसकेको थियो । तर, के गर्ने ? आफ्नै मुखले ब्याज मिनाहा गरिदिएका थिए । तर, हाम्रा बैंकहरुले भने ग्राहकको खातामा ब्याज चढाएका चढायै छन् । लकडाउनले होला, घर जग्गाको लिलामीको सुची भने अझै प्रकाशित गरेका छैनन् । यसैलाई गनिमत मान्नुपर्ला ।