© २०२३
बुटवल, २४ वैशाख ।
रुपन्देहीको केरवानी माध्यमिक विद्यालयले कक्षा र खेतबारीलाई जोडेर बाली विज्ञान बिषयको पठनपाठन गरिरहेको छ । कक्षाकोठामा पढ्ने र खेतमा सिक्ने गर्दा बालबालिकाको सिकाईमा निखारता आएको विद्यालयको बुझाई छ । पाठ्यपुस्तकको ज्ञानलाई सीपको रुपमा बालबालिकाको हातसम्म रुपान्तरण गर्नका लागि विद्यालय छेउँको खाली जमिनमा गरिएको कृषिको अभ्यास अरु विद्यालयका लागि पनि सिक्न लायक छ ।
प्रयोगात्मक अभ्यासका लागि विद्यार्थीले लगानी गरिदिने र उत्पादनपछि बिक्री भएपछि लगानीभन्दा प्राप्त गरेको बढी रकम विद्यार्थीलाई नै प्रोत्साहनको रुपमा दिने नीति विद्यालयले लिएको छ । विद्यालयमा कृषि फर्मको अभ्यास सुरु भएपछि बालबालिकालाई प्रयोगात्मक अभ्यासका लागि अरुको फर्ममा जानुपर्ने झन्झट हटेको छ । उत्पादन भएको तरकारी विद्यालयको खाजा कार्यक्रम र विद्यालयकै चमेना गृहमा उपयोग समेत गरिने गरेको छ ।
विद्यालय पुग्नेहरुले विद्यालय छेउँमा बालबालिका खेतमा काम गरिरहेको र तरकारी फलेको देख्न सक्छन् । विद्यालयमै कृषिको प्रयोगात्मक काम गर्न पाएपछि बालबालिका पनि खुसी भएको र विद्यालयको शोभा समेत बढेको विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगाना बताउँछन् । केरवानी माध्यमिक विद्यालयमा कक्षा ९–१२ मा प्राविधिक धारतर्फको बाली विज्ञान पठनपाठन हुँदै आएको छ । २०७४ सालदेखि उक्त धारको बिषयमा पठनपाठन हुँदै आएको भएपनि यो बर्षदेखि विद्यालयले विद्यालयको छेउँको करिब १५ कठ्ठा जमिनलाई अघिल्ला बर्षको तुलनामा बढी प्रयोगमा आउनेगरी काम गरिरहेको छ ।
अहिले एसईई दिइ बसेका बालबालिकाहरुले तीन महिने ओजिटीको अभ्यास उक्त खेतबारीमा गरिरहेको बाली विज्ञान समूहका संयोजक संजय कुमार शुक्लले बताए । यसबर्ष केरवानी माविको प्राविधिक धारतर्फको बाली विज्ञान समूहबाट ४३ जनाले एसईई दिएका थिए ।शुक्लका अनुसार अहिले बाली विज्ञानमा पढ्नेहरुले ५० प्रतिशत सैद्धान्तिक र ५० प्रतिशत प्रयोगात्मक सीप हासिल गर्नुपर्ने हुन्छ । विद्यार्थीलाई खेतबारी तयारीदेखि नर्सरी तयार गर्ने, विरुवा सार्ने, गोडमेल गर्ने, मल राख्ने, लहरा लगाइदिने, टिप्ने, माछालाई दाना राखिदिने बिक्री गर्नेसम्मको काम सिकाउने गरेको बताए । यसरी विद्यालय छेउँमै फर्म बनाउँदा बालबालिकालाई सिकाउन सजिलो भएको, हेरचाह गर्न सजिलो भएको अनुभव शिक्षक गुप्ताले सुनाए ।
ओजिटीको ३ महिनाका लागि सरकारले प्रति विद्यार्थी कक्षा १० र ११ का लागि ३ हजार र कक्षा १२ का लागि ६ हजार खाजा खर्च दिने गरेको छ ।
एसईई दिएर खेतबारीमा रमाइरहेकी विद्यार्थी पुष्पा लुइटेलले पढेको कुरा उत्पादन गर्न पाउँदा निकै खुसी लागेको बताइन् । कृषि पढेर पनि बाँच्न सकिन्छ भन्ने सन्देश दिनका लागि आफुले बाली विज्ञान बिषयको विद्यार्थी हुन पुगेको उनले बताइन् । “कृषि मेरो इच्छा हो”– पुष्पाले भनिन्, “उच्च शिक्षामा पनि कृषि नै पढेर कृषि क्षेत्रमै रमाउने रहर छ ।” उनले अहिले खेतमा लौका, फर्सी, तितेकरेला फलिरहेको बताइन् । उनका अनुसार खेतमा सिमी, बोडी, भिण्डी लगायतका तरकारी पनि रोपिइसकेको छ । उनीहरुले खेतबारीबाट उत्पादन भएको तरकारी विद्यालयको चमेना गृहलाई बिक्री गरिरहेका छन् । विद्यालयका अनुसार सानो स्केलमा उत्पादन हुदा चमेना गृहलाई र उत्पादन बृद्धि हुदैजाँदा विद्यालय परिवार हुँदै समुदायसम्म बिक्री गर्ने गरिएको छ । पोखरीको माछाको उत्पादन बढी हुने हुँदा बाहिरी बजारसम्म माछा बिक्री गर्ने गरेको प्रधानाध्यापक ढुंगानाले बताए ।
विद्यालयको उक्त जमिनमा करिब ८ कठ्ठामा माछा पोखरी, पोखरीको वरिपरि केरा, त्यसैगरी बागवानीतर्फ आँप, लिचि, कागती लगाइएको छ । तरकारीको लागि छुट्याइएको जमिनमा सिजन अनुसारको तरकारी लगाउने गरिएको छ । उनीहरुले केही दिन अघिसम्म खेतमा उत्पादन भएको काँक्रा बिक्री गरेका थिए । अहिले केही तरकारी फलिरहेको छ भने केही तरकारीको विरुवा उनीहरुले रोपेका छन् ।
कृषिमा काम गर्न सके पैसा छ भन्ने सन्देश दिन, सीप हस्तान्तरण गर्न, श्रमप्रति सम्मान गर्न र घरमा पनि कृषिमा काम गर्ने बनाउनका लागि विद्यालयको लघु कृषि फर्म सफल हँुदै गएको विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगाना बताउँछन् । उनले बालबालिकालाई सिकाउनका लागि कलम र कोदालोलाई मितको रुपमा सँगसँगै हिडाउनुपर्नेमा जोड दिए । यसअघि बालबालिकाहरु प्रयोगात्मक अभ्यासका लागि विभिन्न फर्महरुमा धाउनुपर्दथ्यो । उनले सानो रुपमा स्थापना हँुदै गएको कृषि फर्ममा लगानी बढाएर केही ठूलोको साथै आधुनिक र देख्न लायक बनाउने योजना विद्यालयको रहेको बताए ।