© २०२३
चितवन,४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक चितवनको भरतपुरस्थित एक घरको तीन तला माथिबाट तल खसेको अवस्थामा फेला परेका छन् ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा घरको छतबाट तल भुइँमा खसेको अवस्थामा आज बिहान भेटिएका हुन् । उक्त घर चुनावका लागि लामिछानेको पार्टीले भाडामा लिएको घर हो ।
चितवन प्रहरी प्रमुख रामेश्वर कार्कीका अनुसार गम्भीर घाइते थापाको टाउको र खुट्टामा चोट लागेको छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको छ ।
उनी रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेका थिए ।
छतबाट खसेका चालक थापा हिजो लामिछानेलाई लिएर तनहुँको दमौली पुगेर फर्केका थिए । घटनाबारे विस्तृत विरण आइसकेको छैन । प्रहरीले अनुसन्धान शुरु गरेको छ ।