© २०२३
बुटवल,२६ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज आइतबार हुँदै छ । जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्धको मुद्दाको पेसी आइतबारका लागि तोकेको हो ।
आज तोकिएको पेसी जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासमा परेको छ ।
यसअघि दुईपटक तोकिएको पेशी लगातार स्थगित भएका थिए । गत बिहीबार तोकिएको पेशीलाई सुनवाइ गर्न समयअभावका कारण नभ्याइनेमा राखिएको थियो ।
आजको पेशीमा भने सुनवाइ हुने लगभग निश्चित छ । जिल्ला अदालतको २ नम्बर इजलासमा परेको पेशी ३ नम्बरमै पालो परेको छ । सुनुवाई भएपनि आजै फैसला आउने संभावना कम रहेको छ ।
एक किशोरीमाथि बलात्कार आरोप लागेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । सो आदेशसँगै लामिछाने पुर्पक्षका लागि जेल गए पनि पाटन उच्च अदालतले कडा सर्तसहित २० लाख धरौटीमा उनलाई छाडेको थियो ।