© २०२३
बुटवल, २४ चैत । सत्तारुढ दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले रवि लामिछानेको पार्टीलाई लक्षित गर्दै नयां भनिएका दलहरुबाट लोकतन्त्र र गणतन्त्र खतरामा रहेको बताएका छन् । यी दलहरु विदेशी शक्ति राष्ट्रको निर्देशन र एजेण्डामा चलेको आरोप लगाउंदै केसीले लोकतन्त्र र गणतन्त्रका लागि लडेका दलहरु सच्चिएर आउनुपर्ने बताए ।
शुक्रबार बुटवलमा पार्टी निकट प्रगतिशील पत्रकार संघको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले सरकारको न्युनतम साझा कार्यक्रमप्रति आफ्नो दलको समर्थन नरहेको बताए ।
आफूले न्युनतम साझा कार्यक्रममा केही राम्रा कुरा पनि छन् मात्र भनेको तर प्रधानमन्त्रीलाई सर्लक्कै मान्यो भन्ने भ्रम भएर हस्ताक्षरसहित सार्वजनिक भएको बताए ।
न्युनतम साझा कार्यक्रममा संघीयता,सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी संशोधन विधेयक र नागरिकताको विषयमा आफ्नो दलको प्ष्ट विमति रहेको केसीले बताए ।
पुर्व उपप्रधानमन्त्री समेत रहेका केसीले देश बनाउन र बिगार्न दुबैमा पत्रकार र मिडियाको भूमिका हुने टिप्पणी गरे ।