© २०२३
बुटवल,२३ चैत । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारका सय दिन उपलब्धिहीन रहेको बताएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकार गठन भएका सय दिन पुगेको अवसरमा गोरखापत्रमा २ पेज कामहरु सार्वजनिक गरेको तर त्यसमा कुनै पनि कुरा महत्वपूर्ण नपाएको बताए।
उनले सरकारका सय दिनका प्राथमिकतामा किसानहरुका समस्या, आर्थिक अवस्थाका समस्याहरु नपरेको बताए। उनले सय दिनसम्म मन्त्रिपरिषद्समेत गठन गर्न नसक्ने सरकारसँग जनताले कुनै आशा राख्न नसक्ने बताए। उनले सरकार कार्यहीन, विचारहीन रहेको आरोप लगाए।
एउटासँग विवाह गरेर अर्कोसँग बसेको यो सरकार अहिलेसम्म १०० दिन पुग्दा मन्त्रिपरिषद् त गठन गर्न सकेको छैन, अरु के आश गर्नु
– सांसद पन्तले प्रश्न गरे ।
सांसद पन्तले दूर सञ्चार ऐन, २०५३ लाई संशोधन गर्न मस्यौदा तयार गरिएको बारे सरकारसँग प्रश्न गरे। उनले एनसिएललाई सरकारको स्वामित्वमा नल्याउन मस्यौदा विधेयकबाट चलखेल गर्न लागिएको बताए।
उनले अर्बौं, अर्ब नाफा भइरहेको कम्पनीलाई सेटिङमा कानुन फेरेर सरकारको स्वामित्वमा नल्याउने षड्यन्त्र रचिएको बताए।
सांसद पन्तले दूर सञ्चार ऐन, २०५३ लाई संशोधन गर्न तयार हुँदै गरेको मस्यौदामा सरकारको स्वामित्वमा कहिल्यै नआउने ढंगले प्रावधान राख्न लागिएकोप्रति आपत्ति जनाए।