© २०२३
बुटवल,२२ चैत । सर्वोच्च अदालतले रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरेको प्रमाण माग गरेको छ ।
बुधबार न्यायाधीश हरि फुयालको इजलासले रविले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा जहाँ भए पनि झिकाउन आदेश दिएको हो ।
रवि लामिछानेले अमेरिकी राहदानी त्याग नगर्दै नेपाली राहदानी लिएको र प्रयोग गरेको आरोप लागेको छ । उनले अमेरिकी नागरिकता र राहदानी कायम रहेको अवस्थामा खारेज भइसकेको नेपाली नागरिकता पेश गरेर नेपाली राहदानी लिएका थिए । सर्वोच्चले रविले अमेरिकी राहदानी त्याग गरेको प्रमाण नेपालको कुन कार्यालयमा पेश गरेका थिए भनेर माग गरेको हो ।
रविले खारेज भएको नेपाली नागरिकता पेश गरेर राहदानी लिनु गैरकानुनी भएको भन्दै उनीविरुद्ध प्रहरी र सरकारी वकिल कार्यालयमा उजुरी परेको थियो । तर ६ चैतमा महान्यायाधिवक्ता दिनमणि पोखरेलले रविविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए ।
महान्यायाधिवक्ताको निर्णय गैरकानुनी भन्दै सिन्धुलीका युवराज पौडेल सफलले उक्त निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले महान्यायाधिवक्ता कार्यालयलगायत विपक्षीसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको छ ।
तर रिट निवेदक पौडेलले माग गरेअनुसार महान्यायाधिवक्ताको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश भने दिएन । सर्वोच्चले रिट निवेदनका केही विषय मुद्दाको अन्तिम सुनुवाइको बेला नै सम्बोधन हुने प्रकृतिको देखिएको भन्दै अन्तरिम आदेश अस्वीकार गरेको हो ।
सर्वोच्चले यो मुद्दाको आगामी सुनुवाइमा नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गत १३ मागमा गरेको फैसला पनि पेश गर्न आदेश दिएको छ ।