© २०२३
बुटवल,२० चैत । चितवन निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय लिएको भए पनि तनहुँ जाने कार्यक्रम रहेकोले बिहानै उम्मेदवारी दर्ता गरेका हुन् ।
यस्तै, कांग्रेसले दिउँसो २ बजे, एमाले दिउँसो ३ बजे र राप्रपाले अपराह्न ४ बजे उम्मेदवारी दर्ता गर्ने तय भएको छ ।
यसअघिको निर्वाचनमा भारी मतान्तरले विजयी भएका लामिछाने नागरिकता विवादमा सर्वोच्चले गरेको फैसलापछि पदमुक्त भएका थिए ।
लामिछाने पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मतदान २०८० वैशाख १० गते हुनेछ ।
निर्वाचन आयोगका अनुसार चितवन–२, तनहुँ–१ र बारा–२ मा वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुन गइरहेको हो ।
आयोगले यसअघि नै सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार सो उपनिर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर आआफ्नो उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नेछन् ।
गत मङ्सिर ४ गतेको निर्वाचनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन २ रिक्त हुन पुगेको थियो ।
यसैगरी, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा २ रिक्त हुन पुगेको थियो । बारा २ मा जनता समाजवादी पार्टी नेपालले जीत हासिल गरेको थियो । रिक्त रहेका तीनवटा निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।
सो उपनिर्वाचन प्रयोजनका लागि शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।
यसैबीच चितवनमा कांग्रेस नेता जगन्नाथ पौडेलले रास्वपा उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका छन् भने मंसिर ४ को चुनावमा पार्टी छाडेका दिनेश कोइरालाले कांग्रेसलाई मत मागेका छन् ।