© २०२३
बुटवल,१६ चैत । २०७४ सालको स्थानीय चुनावबाट निर्वाचित तिलोत्तमा नगरपालिकाका नगर कार्यपालिकाको २०७६ पुस २५ गतेको वैठकले मंगलापुर—कान्छीबजार सडक स्तरोन्नती गर्ने निर्णय पारित गरेको थियो ।
प्रथम नगर प्रमुख बासुदेव घिमिरेको विशेष सक्रियतामासडक स्तरोन्नती योजना छनोट र कार्यान्वयन चरणमा पुगेको थियो ।
उक्त निर्णयपछि नगर प्रमुख घिमिरे शहरी विकास मन्त्रालयको शहरी शासकीय तथा पूर्वाधार आयोजना (एनयुजीआईपी) कार्यालयमा दर्जनौंपटक धाएका थिए । किनकी एनयुजीआईपी विश्व बैंकले आर्थिक अनुदान दिने निकाय हो ।
यो सडक तिलोत्तमा नगरपालिकाको पहिलो ठूलो विकास आयोजना हो । यो सडकको ग्लोबल टेन्डर २०७८ माघ २१ गते भएको थियो,जसमा शर्मा सगुन जेभीले ठेक्का पाएको छ । सडक निर्माणको काम गत असोज महिनादेखि शुरु भएको थियो ।
यो सडकको शिलान्याश मंगलबार ‘गुपचुप’ शैलीमा भएको छ । शिलान्याशमा जसले योजना छनोटदेखि कार्यान्वयनमा अग्रणी भूमिका खेले उनैलाई बोलाइएन ।
नयाँ योजना ल्याउन नसकेकोमा आलोचना खेपिरहेका तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खांणले आफैले ‘जस’ लिनका लागि गुपचुप शैलीमा मंगलापुर–कान्छीबजार सडक शिलन्यास गरेको टिप्पणी भएको छ ।
सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य छबिलाल विश्वकर्मा, प्रदेश सांसद अब्दुल रज्जाक र सो सडक निर्माणको लागि निरन्तर लबिङ गरेका तिलोत्तमा नगरपालिकाका प्रथम नगर प्रमुख तथा हालका प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे समेत गृहनगरमैं भएर पनि उनीहरु कसैलाई बोलाइएन ।
सबैलाई छलेर शिलन्यासको तयारी गराएका नगर प्रमुख खाणले कार्यक्रममा आफू निकटबाहेकका पत्रकारहरुलाई समेत बोलाएनन् । जबकी अरु कार्यक्रममा थुप्रै पत्रकारलाई जानकारी दिइन्थ्यो ।
सडक निर्माणका लागि विश्व बैंकका प्रतिनिधिसँग तत्कालीन नगरपालिकाका नेतृत्वले पटक पटक छलफल गरेको थियो ।
नगरपालिकाको गौरवको आयोजनाको शिलान्यास कार्यक्रम साँघुरो घेरामा गरिएपछि यसको बारेमा विभिन्न टिकाटिप्पण्ी सुरु भएका छन् ।
रुपन्देही १ का संघीय सांसद छविलाल विश्वकर्माले तत्कालीन मेयर बासुदेव संगै आफू पनि यो सडकको लागि वजेट पार्न धेरैपटक एनयुजीआईपी कार्यालयमा धाएको स्मरण गर्दै आफूलाई शिलान्याशमा खबर नगरिएको बताए ।
‘तत्कालीन नगर प्रमुख घिमिरे शहरी विकास मन्त्रालयको शहरी शासकीय तथा पूर्वाधार आयोजना (एनयुजीआईपी) कार्यालयमा दर्जनौंपटक धाउनुभएको थियो, र धेरै पटक धाएर सडक स्तरोन्नतिमा स्थानीयको अवरोध नहुने सुनिश्चितता दिलाएपछि विश्व बैंकले अनुदान दिन तयार भएको थियो’–तत्कालीन नगर प्रमुख घिमिरेका स्वकीय सचिव विष्णु अर्यालले भने–‘सडक स्तरोन्नतिमा अवरोध नगर्ने प्रतिवद्धतामा स्थानीयलाई सहमत गराउन तत्कालीन वडा अध्यक्षहरु ७ का दुर्गाप्रसाद पाण्डे, ९ का नारायण न्यौपाने र १० का व्यासमुन चौधरीको मेहनत पनि धेरै भएको थियो ।’
जसले सडक स्तरोन्नतिको निर्णय र वजेटका लागि सम्बन्धित निकायमा धायो उनलाई नै शिलान्याशमा नबोलाइनु ‘काम गर्ने कालु मकै खाने भालु’ भन्ने उखान जस्तै हुन पुगेको स्थानीयवासीको टिप्पणी छ ।
एनयुजीआईपी कार्यालयका प्रतिनिधिले समेत तपाईको जोडबलमा कार्यान्वयनमा आएको सडकको शिलान्याश कार्यक्रममा आउनुहुन्छ होला नि भनेर सोधेको तर घिमिरेले निमन्त्रणा नभएको जवाफ दिंदा उनीहरु आश्चर्यमा परेको स्वकीय सचिव अर्यालले बताए ।
नगरपालीकाका योजना प्रमुख इन्जिनियर प्रदीप वनका अनुसार अस्फाल्ट प्रविधिबाट बन्ने यो सडक पहिलो चरणमा ५ किलोमिटर निर्माणको लागि ७९ करोड ५५ लाखमा ठेक्का सम्झौता भएको हो । पहिलो चरणमा ५ किलोमिटर सडक बन्ने छ । फुटपाथ, नालीसहित ४३ फुट कायम गरिएको यो सडक क्रमसः अघि बढ्ने नगरपालिकाले जनाएको छ ।