© २०२३
बर्दघाट, १३ चैत । बर्दघाट नगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेका अब्यवस्थित तार हटाउने अभियान सुरु भएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बेधविना तिवारी र प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाको नेतृत्वमा विशेषगरी बर्दघाट बजार क्षेत्रमा रहेका अब्यवस्थित तार हटाउने अभियान सुरु गरेको हो ।
मुख्य बजार क्षेत्रका विद्युत, टेलिकमका पोलमा गुजुल्टीएका र लत्रिएका तारले दुर्घटना जोखिम बढाएको र नगरको सौन्दर्य समेत विगारेकोले अब्यवस्थित तार हटाउन लागिएको वडा नम्बर ४ का अध्यक्ष वेधविना तिवारीले बताए ।
विशेषगरी इन्टरनेट सेवा प्रदायकहरुको तार अब्यवस्थित रहेका छन । नेपाल टेलिकमको पिएसटिएन फोनका केवुल र इन्टरनेट सेवा प्रदायकका केवुलहरु एउटै पोलमा गुजुल्टाएर राख्दा आगलागि लगायतका जोखिम रहेका छन ।
बर्दघाट नगरपालिकाले अप्टीकल फाइवर केवल प्रयोग गरी इन्टरनेट र केवल सेवा प्रदायकहरु गत मँसिर २१ गते मँसिर मसान्तसम्म तार ब्यवस्थापन गर्ने गरि निर्देशनात्मक समन्वय भएता पनि लामो समयसम्म कार्यन्वयन नभएकोले नगरले तार ब्यवस्थापन गर्ने अभियान सुरु गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए ।
नगरले चैत ८ गते पुनः सुचना जारी गर्दै नगर क्षेत्रमा अप्टीकल केवल मार्फत सेवा प्रदान गरेका १४ वटा सेवा प्रदायक सँस्थालाई पुनः पत्राचार गर्दै ब्यवशाय दर्ता गर्न र तार ब्यवस्थापन गर्न अनुरोध गरेको थियो तर सरोकारवालाहरुले ब्यवस्थापनमा आलटाल गरेकोले तार हटाउने अभियान सुरु गरीएको अधिकृत सापकोटाले बताए ।
नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणको नियम अनुसार आफूहरुले सेवा प्रदान गरेको र अहिले विना सूचना सेवा अवरुद्ध पार्दा सेवाग्राही मर्कामा परेको एक्मी इन्टरनेटका आकाश श्रेष्ठले बताए । नगरपालिकाले तार काटिसेकपछि ब्यवस्थापनको निर्देशन दिन भन्दा पनि केहि समय दिएर तार ब्यवस्थापनको लागि निर्देशन दिनुपर्ने उनको भनाइ थियो ।