© २०२३
बुटवल, चैत्र १३ । राष्ट्रिय जनमोर्चाले संघीयताबिरुद्व सोमबार रुपन्देहीको बुटवलमा प्रदर्शन गरेको छ । प्रदेश संघीयता खारेज, मंहगी र भ्रष्टाचार विरुद्व राष्ट्रिय जनमोर्चाले प्रदर्शन गरेको हो । विभिन्न नारासहित बुटवलको वसपार्कबाट जुलुस निकालिएको थियो । जुलुसपछि बुटवलमा आयोजित सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका सल्लाहाकार तथा रुपन्देही अध्यक्ष बद्रे आलमले संघीयता असफल भैसकेको वताउंदै अब प्रदेश खारेज गर्नुको विकल्प नरहेको बताए ।
संघीयता विरुद्दको आन्दोलनमा सहभागी हुन सबैलाई आह्वान गर्दै नेता आलमले भने – संघीयता खारेज नभए देश थप संकटमा पर्छ, आम नेपाली जनता संघीयताको विपक्षमा छन् ।
महंगी, भ्रष्टाचार र कालोबजारीले कम आयश्रोत भएका जनतालाई सांझ विहानको छाक टार्न समस्या भएकाले दवावमूलक आन्दोलन आवश्यक भएको उनले बताए ।
राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य रामकुमार क्षेत्रीले संघीयताले देश आर्थिक रुपले संकटमा परेको बताउंदै संघीय प्रणाली आफैमा बेठिक नभएपनि नेपालको हकमा संघीयता आवश्यक नभएको बताए ।
रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढाले भौगोलिक रुपमा सानो देश नेपालले आर्थिक रुपमा संघीयता थेग्न नसक्ने बताउंदै प्रदेश खारेज गर्नुको कुनै विकल्प नभएको बताए ।
हालै सम्पन्न राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद् बैठकले यहि चैत १० देखि १५ गतेसम्म संघीयताको विरोधमा देशव्यापी कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनसार राष्ट्रिय जनमोर्चाले देशभर संघीयता खारेजी,मंहगी र भ्रष्टाचार विरुद्व राष्ट्रिय जनमोर्चाले प्रदर्शन गरेको पार्टीका रुपन्देही सचिव टानबहादर केसीले बताए ।