© २०२३
बुटवल,१० चैत । सरकारमा भागवण्डाको कुरा मिलाउन नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिने र प्रदेश सरकारहरूबाट एमालेलाई हटाउने बारेमा छलफल भएको हो । केन्द्र सरकारबाट एमाले बाहिरिए पनि सुदूरपश्चिमबाहेक सबैमा एमाले सत्तारुढ छ ।
सत्तारुढ १० दलीय गठबन्धनबाट सरकारमा सहभागिताको छलफल चलिरहेका बेला नेकपा एसले संघीय सरकारमा तीन मन्त्री र प्रदेशतर्फ एक मुख्यमन्त्रीको अडान कायमै राखेको छ । नेकपा एसले गृहसहित तीन मन्त्रालय माग गरेको छ ।
केपी ओलीले राष्ट्रपति अफर गर्दा पनि छाडेको र उपराष्ट्रपतिमा पनि दाबी नगरेको भन्दै अध्यक्ष नेपालले गठबन्धनमा तीन ठूला दल कांग्रेस, माओवादी र जसपाले क्रमशः राष्ट्रपति, प्रधानमन्त्री र उपराष्ट्रपति पाएकाले अब रोज्ने पालो चौथो दलको रहेको बताएका छन् ।
गठबन्धनमा नेकपा एसलाई २ मन्त्रालय दिने तयारी भइरहेका बेला नेपालले तीनवटामा दाबी गरेका छन् । नेकपा एसले कोशी वा बागमती प्रदेशको मुख्यमन्त्री दाबी गरेको छ ।