© २०२३
बुटवल,३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीकर्ताका लागि एकल बिन्दु सेवा सुचारु गर्ने प्रतिवद्धता जनाएका छन् ।
मंगलबार नेपाल–चाइना बिजनेस फोरम २०२३ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशी लगानीकर्ताका लागि सरकारले एकल बिन्दु सेवा सुरू गर्ने विषयमा कानून बनाएर संसदबाट पारित गर्ने क्रममा रहेको बताएका हुन् ।
उनले नेपालबाट निर्यात हुने आयुर्वेदिक औषधि, तरकारी, चिया, मासु लगायतका उत्पादनलाई सहजै चीनमा निर्यात गर्ने व्यवस्थालाई सहज बनाउनसमेत आग्रह गरे ।
प्रधानमन्त्री दाहालले नेपाल एक चीन नीतिमा स्पष्ट रहेकाले नेपाली भूमि छिमेकीकाविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङले ६७ वर्षदेखि नेपाल र चीनको सम्बन्ध विस्तार हुँदै आएकाले आगामी दिनमा पनि दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए ।
उनले नेपालबाट निर्यात हुने ९८ प्रतिशत सामानलाई चीन सरकारले कर छुटमा आफ्नो बजारमा पहुँच दिएको बताए । उनले चीन सरकारले नेपाललाई पनि पर्यटकीय गन्तव्यको रुपमा राखेकाले चिनियाँ नागरिकहरु नेपाल भ्रमण गर्दा अर्थतन्त्र विस्तार हुने विश्वास व्यक्त गरे ।
दुई पक्षीय व्यापार प्रवर्धन गर्दै जाने चीन सरकारको नीति भएको बताए । उनले आफूहरु नेपालमा लगानी र सहकार्यका लागि नयाँ क्षेत्रहरु पहिचान गर्ने काममा लागेको पनि बताए । उनले आफूहरुले नेपालसँग स्वच्छ उर्जा, प्रविधि र विद्युतका क्षेत्रमा सहकार्य गर्ने सोच बनाएको बताए ।
कार्यक्रममा नेपालका लागि चीनका राजदुत चेन साङले अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भइरहेको नेपाललाई पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
राजदुत साङले नेपालीहरुलाई चीन भ्रमण गर्न आग्रह गरे । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले चीन सरकारले नेपाली सीमानाकाहरु खोलेर व्यापारका लागि सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
नेपाल र चीनका व्यपारीहरुबीच सोमवारदेखि छलफल सुरू भएको हो । करिब ४ वर्षपछि नेपाल र चीनका व्यवसायीहरुबीच छलफल भएको हो ।
बैठकमा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङसहितको १२ सदस्यीय टोली नेपाल आएको छ ।