© २०२३
बुटवल, ३० फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मानव साङ्लो सहितको सरसफाई अभियान सञ्चालन गरिएको छ । समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलाको अवसरमा बुधबार नगरको ६ लेन सडकको दुबैतर्फ मानव साङ्लो सहित सरसफाई गरिएको हो ।
योगिकुटीदेखि कोटिहवासम्म नगरवासीले एक—आपसमा हात समाएर सरसफाई अभियानमा आफ्नो प्रतिबद्धता जनाएका थिए । मानव साङ्लोमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक विद्यार्थी, कर्मचारी, विभिन्न संघ—संस्था, क्लव, आमा समूह, खानेपानी, वन, टोल विकास संस्थाहरुले सहभागिता जनाएको अभियान संयोजक सुरेन्द्र श्रीले जानकारी दिए ।
सरसफाई तिलोत्तमाको पहिचान र सभ्याता हो भन्ने कुरामा सबै नगरबासीको प्रतिबद्धता र एकताको सन्देश दिन मानव साङ्लो निकालिएको उनले बताए ।
सहभागीहरुले विभिन्न प्लेकार्ड प्रदर्शन गर्दै आफ्नो फोहोर आफैं व्यवस्थापन गर्ने, जथाभावी फोहोर नगर्ने, नगरपालिकाले चलाएका अभियानमा यथेष्ट सहयोग पुर्याउने प्रतिबद्धता जनाएका थिए ।
मंगलबार नैं मणिग्राम चोकमा निर्माण गरिएको सरसफाई स्मारक उद्घाटन समेत गरिएको छ । सरसफाई अभियान १०० औं श्रुंखलामा प्रवेश गरेको स्मरणमा मणिग्राममा सरसफाई स्मारक निर्माण गरिएको हो । स्मारकका पुरुष र महिलाले सरसफाई गरेको प्रतिमा राखेर अभियानमा सबैको सहभागिताको सन्देश प्रवाह गरिएको छ । स्मारकको नगर प्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वरी चौधरीले संयुक्त रुपमा गरे ।
त्यस क्रममानगर प्रमुख खाणले सरसफाईलाई तिलोत्तमाबासीको संस्कार र संस्कृतिसँग जोडेर दीगो बनाउने अभियानमा नगरपालिका रहेको बताए । तिलोत्तमाले बनाएको स्वच्छ र सफा नगरको पहिचानले यहाँ बसाइसराईको दर समेत तीव्र रुपमा बढेको नगर प्रमुख खाणले बताए । उनले बुधबार आयोजना गरिएको मुख्यकार्यक्रममा सहभागीहुन सबै नगरबासीलाई आह्वान समेत गर्नुभयो ।
उपप्रमुख चौधरीले तिलोत्तमाबासीको कडा मेहनताका कारण नगरपालिकाले सरसफाईमा आफ्नो विशिष्ट छवि बनाएको उल्लेख गर्दै तिलोत्तमाको पहिचानको श्रैय नगरबासीमाजाने बताइन् । उनले आफूले गरेको फोहोर आफैं व्यवस्थापन गर्ने बानीको विकास गर्न नगरबासीलाई अनुरोध गरिन् ।
तिलोत्तमामा २०७४ सालको स्थानीय तहनिर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु आएसँगै नियमित सरसफाई अभियान सुरु भएको हो । यो अभियानलाई २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले पनि निरन्तरता दिएपछि यो एक सयौं श्रृखंलामा पुगेको हो । चैत्र १ गते एक सयौं श्रृंखलामा पुग्ने अभियान अन्तर्गत् हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगर स्तरीय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ । वडा कार्यालय र टोल विकास संस्थाहरु समेतले नियमित सरसफाई अभियानचलाउँदै आएका छन् ।
सम्भवः निरन्तर सञ्चालनमा रहेको तिलोत्तमाको यो सरसफाई अभियान उत्पत्याका बाहिरको पहिलो हो । निरन्तर सरसफाई अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककैं पहिलो पूर्णसरसफाई उन्मुख नगरपालिका बनाउन सफल भएको छ । अभियानको मूल समारोह चैत १ गते हुने छ ।
तस्वीरहरु : विश्वास ढकाल