© २०२३
बुटवल,२९ फागुन । तिलोत्तमाको मणिग्रामस्थित राममणि क्याम्पसले ३५ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले क्यूएए प्राप्त राममणि बहुमुखी क्याम्पस यस क्षेत्रकै गौरवशाली संस्थाको रूपमा रहेको बताएका छन् ।
उनले संस्थाको भौतिक र शैक्षिक विकासमा नगरपालिका साथमा रहिरहने बताए।
सो अवसरमा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धिताल, उपाध्यक्ष कृष्णप्रसाद पौडेल, शान्ति नमूना माविका अध्यक्ष एवम् सामुदायिक विद्यालय संघ लुम्बिनी प्रदेश अध्यक्ष शरद भट्टराई, च्याम्बर अफ कमर्सका लुम्बिनी प्रदेश महासचिव जेपी कण्डेल, पशुपति कलेजका क्याम्पस प्रमुख कृष्णप्रसाद शर्मा, नेकपा एमाले नगर अध्यक्ष तामानाथ पाण्डे, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्मा, पूर्व क्याम्पस प्रमुख टेकराज अर्याल, प्राध्यापक संघका सभापति राजेन्द्र थापामगर,उप–प्राध्यापक मुक्तिनाथ गैह्रे लगायतले क्याम्पसको विकाशका लागि आफूहरूसँगै पुरै समुदाय सहयोगी र आत्मीय रहेको उल्लेख गरे ।
सो अवसरमा क्याम्पसको मुखपत्र दीपिकाको अठारौं अंक विमोचन गरिएको थियो भने क्याम्पसका संस्थापक, पूर्व सञ्चालक, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीलाई सम्मानित एवम् पुरस्कृत गरिएको थियो ।
क्याम्पस स्थापनाको पहलदेखि विभिन्न पदमा रही योगदान दिनुभएका क्याम्पसका संस्थापक, पूर्व अध्यक्ष एवम् संरक्षक रोमणीप्रसाद पाठकलाई कार्यक्रममा दोसल्ला र तामपत्र सहित विशेष सम्मान गरिएको थियो ।
त्यसैगरी पूर्व सञ्चालकहरू छत्रबहादुर दर्लामी, कन्हैयालाल कसौधन र गणेश पाठकलाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको थियो भने दर्शनाचार्य एमफिल पूरा गर्नुभएका प्राध्यापक राजेन्द्र थापामगर, सेवानिवृत्त पूर्व क्याम्पस प्रमुख बालकृष्ण अर्याल, पूर्व सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्याल र पूर्व संकाय प्रमुख नारायणप्रसाद भुसाल,क्याम्पसका दिवंगत उपप्राध्यापक आनन्दप्रसाद पाण्डेयका श्रीमती शान्ति पाण्डेय र भाई विष्णुप्रसाद पाण्डेयलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने कर्मचारीहरू सुमित्रा थापा, नारायण मरासिनी र श्रीधर भट्टराईलाई पनि सम्मान गरिएको थियो ।
शान्ति पाण्डेय र भाई विष्णुप्रसाद पाण्डेयले वार्षिकोत्सव समारोहमै सम्बोधन गर्दै दिवंगत आनन्दप्रसादको स्मृतिमा एकलाख एघार हजार एकसय एघार रूपियाँको विद्यार्थी छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने घोषणा गरे । कार्यक्रममा प्लस टु तर्फका ३१ जना मेधावी विद्यार्थीलाई नगद राशीसहित सम्मानित गरिएको थियो । त्यसैगरी, वर्षभरिका शैक्षिक तथा वार्षिकोत्सवका अवसरमा आयोजित अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पदक र पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीका गीत, कविता, गजल तथा साँस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो ।