© २०२३
संसारमा केही मानिसहरू त्यस्ता हुन्छन् जो अरू सामान्य मानिससरह जन्मन्छन् र सदाका लागि अजर अमर रहन्छन् । महान व्यक्तिहरू तिनै हुन्, जसको आत्मा पवित्र हुन्छ र आफ्नो शरीरलाई अग्रगमनका लागि देशको जिम्मामा छोडिदिन तयार हुन्छन् । देश, समाज र जनकल्याणका लागि जीवन आहुति दिने व्यक्तिहरू नै शहीद हुन् । भनिन्छ–अत्याचारी मर्दछ र शासन समाप्त हुन्छ तर शहीद मर्दछ र उसको शासन शुरु हुन्छ । नेपालको १०४ वर्षे राणा शासनको विरुद्ध विभिन्न किसिमले संघर्ष गर्ने र ज्यान आहुति दिने शहीदहरूको संघर्षलाई नाटकको रूप दिएर पाँचवटा पुस्तकहरू लिएर आएका छन् सुव सेनले ।लखन थापालाई हामी प्रथम शहीद मान्छौँ । तर उनी कहिले कसरि, कहाँ र कुन अवस्था र परिस्थितिमा शहीद भए ? उनका सल्लाहाकार र सहयोगीहरू को–को थिए भन्ने कुराको जानकारी थोरैलाई मात्र छ । उनी प्रथम शहीद लखन थापा तथा उनका मुख्य सहयोगी जयसिंह चुमीले गरेको संघर्ष र उनीहरूको अन्त्यलाई सुव सेनले “लखन थापा जयसिंह चुमी’ नामक नाटकमा जीवन्त ढंगले प्रस्तुत गरेका छन् । यस कृतिका मुख्य नायक लखन थापा मगर र सहनायक जयसिंह चुमी छन् भने जम्माजम्मी ४० जना पात्रहरू नाटकमा देखिन्छन् । यी दुई पात्रहरू राणा शासनका मुख्य नायक जंगबहादुर राणाविरुद्ध आन्दोलनमा उत्रिए । गोरखाबाट संघर्ष शुरु गरेका उनीहरूलाई धीर शमशेर नेतृत्वको सेनाले गोरखामा पक्रिई झुण्ड्याएर मारियो भने केहीलाई काठमाडांै लगेर झुन्ड्याउने र केहीलाई बन्दी बनाउने काम गरिएको थियो । लखन थापाले राणाविरुद्ध संघर्षमा लाग्न जनतालाई कसरी उत्प्रेरित गरेका थिए र उनको अन्तिम अवस्था कस्तो रहेको थियो भन्ने कुराको चित्रण यस नाटकले गरेको छ ।
नेपालको राजनैतिक संघर्षको इतिहासमा नेपाली समाजले नचिनेका व्यक्तिहरू हुन्– नैना बहादुर खत्री र खण्डमान सिंह बस्नेत । यिनीहरूको संयुक्त प्रयासबाट “प्रचण्ड गोर्खा“ नामक राजनैतिक संस्थाको जन्म भएको थियो जसको अन्तर्भुत उद्देश्य भिम शमशेर र जुद्ध शमशेर जस्ता निरङ्कुश शासकहरूलाई मारेर देशलाई राणाको चंगुलबाट मुक्त बनाउनु थियो । तर, दुर्भाग्यवश चन्द्र विक्रम शाहबाट यसको रहस्य खुल्यो र उनीहरू पक्राउ परे । पक्राउपछि उनीहरूलाई कालकोठरीमा राखेर क्रुरतापूर्वक अनेकौँ यातना दिएर मारिएको थियो । यहि घटनाक्रमलाई समेटेर नैना बहादुर खण्डमान नाटक लेखेका हुन् सेनले । यो नाटक भित्र रंगनाथ शर्मा, उपेन्द्र विक्रम शाह लगायत २६ जना पात्रहरूको उपस्थिति छ । यी पात्रहरूको सम्बाद र सेरोफेरोमा रहेर कथानक अगाडि बढेको छ र आठ दृश्यमा नाटक समाप्त भएको छ ।
राणाकालका गैह्र राजनैतिक शहीद हुन्– सुब्बा कृष्णलाल । मकै खेति गर्ने तरिका, मकै खेतीमा स्याहारसुसार र औषधि उपचारका साथै उत्पादन बढाउने कुरामा किसानलाई ज्ञान, सिप र सहयोग पु¥याउन लेखिएको मकैको खेती नामक पुस्तकमा भएको रातो टाउको भएको किरा र कालो टाउको भएको किरा शब्दले गर्दा उनी राणाहरूको आँखाको कसिंगर बन्न पुगे र जेलमा कोचिए । यहि ऐतिहासिक तथ्यलाई पछ्याएर सुव सेनले शहीद कृष्णलाल नामक नाट्य कृतिको सिर्जना गरेका छन् । यसमा अंक वितरण छैन, सन्दर्भ अनुकूल दृश्य विभाजन गरिएको छ । जम्मा १२ दृश्यहरू यो नाटकमा संयोजित छन् । नाटकको समयावधि १९७५ माघ महिनादेखि १९८० मङ्सिर महिनासम्म ५ वर्षको रहेको छ । नाटकका मुख्य पात्र सुब्बा कृष्णलाल हुन् । नाटककारले उनलाई दृढ मनोबल भएका चेतनशील नायकको रूपमा उभ्याएका छन् । नाट्य परिवेशबारे जानकारी गराउन कतिपय दृश्यमा सुत्रधारको प्रयोग गरिएको छ । नाटकमा दृश्य कथावस्तुको संयोजन बढी मात्रामा छ र नाटकको बोलचालको भाषा सहज बोध्य र गतिशील छ । तत्कालिन समयको सजीव चित्रण यस नाटकले गरेकोले शहीद कृष्णलाल नाटकलाई त्यसबेलाको समाजशास्त्रीय अध्ययन मान्न सकिन्छ ।
आज शहीदको परिभाषा नै परिवर्तन भएको छ, हिँड्दा हिँड्दै अचानक गोली लागेर मरेकाहरूलाई पनि शहीद बनाइएको छ । तर नेपालीहरूको मस्तिष्कमा शहीद भन्ने वित्तिकै वि.सं. १९९७ सालमा राणा शासकद्वारा हत्या गरिएका चार शहीदको तस्विर आउने गर्दछ । १९९७ को काण्डमा शहीद भएकाहरू, ज्युँदा शहीदहरू र अन्य क्रान्तिकारीहरूको कथा समावेश गरी लेखिएको सेनको अर्को कृति हो– शहीदको रगत । यो नाटकको कथावस्तु नेपालको इतिहासको राणाकालीन निरंकुशताको चरम उत्कर्षको अवस्थामा आधारित छ । यो नाटकले मुलुकको एउटा कालखण्डलाई सशक्त रूपमा प्रस्तुत गरेको छ । शहीदको वास्तविक अर्थ र मूल्यलाई एकपटक हरेकको मनमा सियोले झैँ घाँेचिदिने स्थितिको सिर्जना गरिदिएको छ । ९७ सालको काण्ड, प्रजा परिषदको गतिविधिहरू, राणाको विरुद्ध तयार भैरहेको जनमतजस्ता कुराहरूलाई यस कृतिले वास्तविक रूपले प्रस्तुत गरिएकोले यो एक ऐतिहासिक दस्तावेज समेत हो ।
शहीदमै केन्द्रित सूब सेनको पाँचौँ नाट्य कृति हो– शहीद सभा । यो नाटकमा ऐतिहासिक पात्रहरू भएपनि पूर्णतः काल्पनिक नाटक हो । देशमा राजनैतिक र सामाजिक परिवर्तन गर्नको लागि आफ्नो ज्यानको आहुति दिएका शहीदहरूले देशको वर्तमानको लथालिंग अवस्था देखेर के सोचिरहेका होलान् भन्ने कुराको सजीव कल्पना गरिएको छ नाटकमा । नाटककार स्वयम् पंचायत देखि गणतान्त्रिक व्यवस्थाको राजनीतिमा संलग्न भएकोले राजनीतिमा देखिएको वेथिति र नागरिकको चिन्तालाई उनले विभिन्न कालखण्डका शहीद मार्फत नाटकमा आफ्ना कुरा र चिन्ताहरू प्रकट गरेका छन् ।
पूर्व अन्चालाधीश, सिडियो हँुदै पहिलो संबिधानसभाका सदस्यको रूपमा प्रशासकीय र राजनैतिक भूमिका निर्वाह गरेका सुर्य बहादुर सेनको साहित्यिक रूप नै सुब सेन हो । देशको विगत, वर्तमान र भविष्यको आशा देखेका सेनका ५० भन्दा बढी कृतिहरू प्रकाशित भएपनि नाटकतर्फ ५ वटा पुस्तकहरू आएका छन् । उनका सबै नाटकहरू शहीदसँग सम्बन्धित छन् र यी कृतिले कोतपर्व देखि हालसम्मको अवस्थालाई श्रृंखलाबद्ध रूपले चित्रण गरेका छन् । नाटक कृतिहरूमा लेखकले पात्र, तथ्य र तत्कालिन समाजको मर्मलाई मर्न दिएका छैनन् । तर, इतिहासका तथ्यमाथि कलम चलाउँदा तथ्यलाई पुष्टि गर्ने सन्दर्भ ग्रन्थ र पादटिप्पणी भने कतैपनि समावेश गरेका छैनन् । यी नाटकहरू साहित्यिक कृति मात्र नभएर इतिहासका दस्तावेज समेत भएकोले पाठकहरूलाई इतिहासका प्रमाणहरू समेत प्रस्तुत गर्नुपर्नेमा लेखक नमज्जाले चुकेका छन् । जे भएपनि इतिहासलाई माया गर्ने र नेपालको इतिहास तथा शहीदको योगदान सजिलोसँग बुझ्न चाहनेहरूका लागि सुव सेनका ५ वटा नाट्य कृतिहरू पठनीय र संग्रहणीय छन् । Email: [email protected]