© २०२३
उत्तर कुमार पराजुली
सोनामको घर पोखराको तल्लोदीप भन्ने ठाउँमा छ । उनको घरको पूर्वपट्टि काहँु नाम गरेको अग्लो पहाड छ । त्यसको फेँदमा काली खोला छ । घरको पश्चिमपट्टि निकै तल भासिएर बग्ने सेती नदी छ । सोनामले घर नजिकैको भँड्खालोमा सेती नदी भएको कुरा थाहा पाए पनि सेती नदीको पानी देख्न भने कि त आफू बसेको टोलको पुच्छारमा जानुपथ्र्यो कि त के.आई. सिं. पुलनिर जानुपथ्र्यो । स्कूल जाने हतारमा सो पुलबाट निकै तल सेती नदी देखिन्थ्यो । सेतो दूधजस्तो पानी देखेर सोनामलाई त्यो पानी नजिकैबाट हेर्न पाए कस्तो हँुदो हो भन्ने लाग्थ्यो ।
सोनामका बुबाआमाको शिक्षण पेशा छ । साँझबिहान ट्युसन पढाउन भनी दौडधूप गर्ने भएकोले बिहानमा सोनाम नउठ्दै हिँड्ने र साँझमा सोनाम सुतेपछि आउँछन् । त्यसो भएकाले सोनामलाई ख्वाईप्याई गरी विद्यालय पठाउने काम उनका हजुरबुबा हजुरआमाले गर्नुहुन्छ । उनका हजुरबुबा विदेशमा सैनिक नोकरी गरेका पेन्सन पाउने व्यक्ति हुनुहुन्छ । जागिर गर्दा भोगेको दुःख र आफूले निम्ट्याएका शाहसिक कामको बारेमा सोनामसँग थुप्रै कुरा गर्नुहुन्छ । बडो धैर्यसँग हात र अनुहारको हाउभाउसँग कुरा गर्ने हजुरबुबाको शैली सोनामलाई निकै मन पर्छ । कतै घुम्न जाने मन लाग्दा पनि सोनामले आफ्ना हजुरबुबासँग भन्ने गर्छिन् । फुर्सतिला हजुरबुबाले आफ्नी नातिनीले भनेको कुरालाई नाइँनास्ति गर्नुहुन्न ।
शनिबारको दिन थियो । सोनामले हजुरबुबासँग काली खोला र सेती नदी हेर्न जाउँ भनिन् । हजुरबुबाले ‘लौ हुन्छ’ भनी तयार भइहाल्नुभयो । सोनाम हजुरबुबाको दायाँ हातको चोर औँलो समाएर हजुरबुबासँग हिँडिन् । सोनामको हजुरबुबाले कालीखोलाको किनारैकिनार काली खोला र सेती नदी भेट हुने ठाउँमा लग्नुभयो । अनि हजुरबुबाले भन्नुभयो— नानी, यसरी दुईवटा नदी मिसिने ठाउँलाई दोभान भन्छन् । हामी अहिले सेती काली दोभानमा छौं । तीनतिरबाट नदी वा समुद्रले घेरिएको ठाउँलाई प्रायःद्विप भन्छन् । त्यसैले हामी बस्ने ठाउँलाई पनि दिप भनेको हो । दिपको तल्लो भेग भएकोले हाम्रो घरतिरको ठाउँलाई तल्लो दिप भन्छन् ।
कालीलाई खोला भन्ने सेतीलाई नदी भन्ने किन गरेको नि हजुरबुबा ?
सोनामको सोधाइमा खुसी हँुदै हजुरबुबाले भन्नुभयो— नानी, तिमीले राम्रो कुरा सोध्यौ । सानो नदीलाई खोला भनिन्छ भने ठूलो खोलालाई नदी भनिन्छ । पानी परेको वा बर्सातको बेलामामात्र पानी हुने नत्र सुख्खा हुने खोलालाई खहरे भनिन्छ । यहाँ काली खोला सानो भएकोले खोला भनियो । सेती खोला ठूलो भएकोले नदी भनियो । हाम्रो गण्डकी अञ्चल र लुम्बिनी अञ्चलको सीमाना छुट्याएर बग्ने ठूली नदी छिन् । तिनलाई काली गण्डकी नदी भनिन्छ ।
काली गण्डकी नदीलाई किन तिमी भन्नुभएको नि हजुरबुबा ?
हजुरबुबाले भन्नुभयो — ठूला नदीमा नुहाए आफूले गरेका पाप (नराम्रा काम) पखालिन्छन् भन्ने हाम्रो पुरानु विश्वास छ । त्यसैले काली गण्डकीलाई तिमी भनेको हुँ । हाम्री सेती नदीमा पनि त त्यस्ता तीर्थ घाटहरू छन् नि ! कार्तिके ठूली एकादसीमा उः त्यहाँ रामघाटमा नुहाउने, फूलपाती तार्ने कति ठूलो मेला लाग्छ ! माघे सक्रान्ति, बैशाखे सक्रान्तिमा पनि यहाँ नुहाउने जात्रुहरूको ठूलो भीड हुने गर्छ ।
हामी यति नजिकै भएर पनि किन कहिल्यै आएका छैनौं त मेला हेर्न ?
हजुरबुबाले मुसुमुसु हाँस्दै भन्नुभयो— नुहाउने मेलामा त केटाकेटी झुक्किएर नदी पस्लान् र डुब्लान् भनी हामीले तिमीलाई नलैजाने गरेका हौं । कार्तिके ठूली एकादशीको मेला लाग्ने बेलामा तिमी सधै मावल गएको मौका पर्छ । त्यसैले तिमीले यहाँ आउने मौका पाएकी थिइनौं ।
केटाकेटी भनेर घुम्ने, हेर्ने मौका नदिएपछि हामीले कसरी सिक्ने, बुझ्ने मौका पाउँछौं त हजुरबुबा ?
सोनामको कुराले हजुरबुबा झसङ्ग हुनुभयो र भन्नुभयो— हो नानी, हामीले राम्रो गरेनाँै । मेरा बुबाले म तिमीभन्दा कैयौं सानो छँदा रातीको भैराम नाच देखाउन बाटुले चौर लैजानु भएको थियो । मलाई काँधेकुरी हालेर भैराम नाच देखाउनु भएको ताजा सम्झना अझै पनि छ । आजसम्म जे भयो भयो अब म जहाँ जाँदा पनि नानीलाई लिएर जानेछु । बुबा, आमा, हजुरआमा पनि कतै जात्रा हेर्न जाँदा नानीलाई लैजान भनँुला ।
हजुरबुबाले अबदेखि कतै जाँदा आफूलाई लिएर जाने भन्ने कुरा र नदीलाई माया गरेर तिमी भनेको कुरा सोनामलाई निकै राम्रो लाग्यो । सोनामलाई सेती र काली दोभानको दृष्य निकै रमाइलो लाग्यो । उनका मनमा सेतीको पानी सेतो हुनाको कारण के होला भन्ने कौतुहल जाग्यो । अनि हजुरबुबासित भनिन्— हजुरबुबा, सेतीको पानी किन सेतो छ ? कालीको पानी किन कालो देखिन्छ ? हातमा लिएर हेर्दा भने यी दुबै पानी सफा नै छन् ।
नातिनीको जिज्ञासा सुनेर हजुरबुबा खुसी हुँदै भन्नुभयो— नानी, सेती नदीको मुहानतिर कमेरो माटोको पहाड छ । त्यही कमेरे सेतो माटो घुल्नाले सेती नदीको पानी सेतो भएको हो । बर्सातको समयमा त सेतीको पानी हातमा लिँदा पनि सेतो माटोको थिग्रो बस्छ । सेती नदीको पानी पटाउने (लगाउने) खेतमा हे¥यौ भने पनि सेतो माटो पाँको बसेको देख्नेछ्यौ । यो काली खोलाको पानी त्यस्तो कालो नै त छैन । सेतो पानीको तुलनामा कालोजस्तो लागेको मात्रै हो । के यो साँच्चै कालो छ र ?
हजुरबुबाले जवाफ दिनुहोला भनेको त उल्टै प्रश्न पो सोध्नु भो ! सोनामले भनिन् ।
नानी सबै कुरा अरूले भनेर मात्र सिक्ने होइन । आफै पनि अक्कल कमाएर जान्ने गर्नुपर्छ । हेर, बुद्धिका हिसाबले मान्छे तीन प्रकारका हुन्छन् । कसैलाई थोरै सिकायो भने त्यो सिकाइबाट अक्कल कमाएर थुप्रै कुरा सिक्ने गर्छन् । यस्तो बुद्धि भएका मान्छेलाई तेल बुद्धिवाला मान्छे भनिन्छ । यस्ता मान्छे एक लम्बरका बुद्धि भएका मान्छे हुन् । तिमीले कापीको पन्नामा सानो थोपा तेल राख्यौ भने त्यो तेल सर्दै सर्दै ठूलो टाटो बन्छ । त्यसैगरी यस्ता तेल बुद्धिवाला मान्छे पनि थोरै कुरा सिक्न पाए त्यसलाई तेलले टाटो ठूलो बनाए झैं बुद्धि बढाउँछन् ।
जति सिकायो त्यति मात्रै जान्ने खालको बुद्धि हुने मान्छेलाई छाला बुद्धिवाला मान्छे भनिन्छ । छालाका जुत्ता सिलाउँदा ख्याल ग¥यौ भने आरोले (जुत्ता सिलाउने सियो) जत्रो प्वाल पा¥यो तेत्रै रहन्छ न घट्छ न बढ्छ । यस्ता बुद्धिवाला मान्छे दोस्रा लम्बरका मान्छे हुन् ।
सिकायो सिकायो सिकेँ सिकेँ भन्ने तर सिक्नमा ध्यान नदिने र नसिक्ने मान्छेलाई कम्बल बुद्धिको मान्छे भन्छन् । कम्बलमा सियो सजिलै छिर्छ तर सियो झिकेपछि त्यसको केही डाम, प्वाल भेट्न सकिन्न । पहिले जस्तो थियो त्यस्तै हुन्छ । यस्ता बुद्धिवाला मान्छे तेस्रो लम्बरका बुद्धिवाला मान्छे हुन् ।
हजुरबुबा, म तेस्रो लम्बरको मान्छे पो हुने हँु कि ?
कुनै पनि कुराको चासो राखेर सिक्ने मान्छे कहिल्यै पनि तेस्रो लम्बरको मान्छे हँुदैन । सिकेको कुरालाई ओल्ट्याईपल्ट्याई गरी सोचविचार गर्ने मान्छेले आफ्नै प्रयासले थुप्रै कुरा सिक्न सक्छ । वैज्ञानिकहरूलाई कसले आविष्कार गर्न सिकाएको हो र ? यसो हुन्छ भने उसो गरे के होला ? उसो हुन्छ भने यसो गरे के होलाल? भन्ने गर्दागर्दै त धेरै कुरा जानेका हुन् नि !
हजुरबुबाका यस्ता कुरा सुनेर सोनाम खुसी भइन् । यस्तै यस्तै कुरा गर्दै सोनाम र हजुरबुबा घरतिर लागे ।à