© २०२३
अहिले शहरी क्षेत्रमा बस्ने मानिसको जीवन सधै हतारोमा बित्दछ । जता हे¥यो उतै मान्छे, कोलाहल, गाडिको धँुवा, सडकको धूलो र प्रदूषणले सबैलाई दिक्क बनाउँछ । शहरी क्षेत्रका मानिसहरू समय निकालेर घुमघाममा निस्कन चाहन्छन् । घुमघामले तन र मन दुबैलाई रिचार्ज गर्छ र उर्जा पनि बढाउँछ । परिवारका सदस्यहरूलाई समय पनि दिन नसक्ने अवस्थाका व्यस्त मानिसहरू घुम्ने बाहानामा परिवारलाई समय दिने गर्दछन् । घुमघाम गर्न विदेशै जानुपर्छ भन्ने छैन । पर्यटक भएर नेपाल भित्रनै घुमघाम गर्ने धेरै गन्तव्य छन् । पर्यटकहरूको लागि आधुनिक होटल, लज, रिसोर्ट र रेष्टुराँ मात्र होइन गाउँ घरमा होमस्टे पनि सञ्चालनमा आएका छन् । पछिल्लो समय विभिन्न फायबस्टार होटेलहरू भन्दा मानिसहरू अर्गानिक खाना र परम्परागत बासको अपेक्षा गर्दछन् ।
त्यसो त होमस्टे एउटा जातीयता झल्काउने तथा अर्गानिक खाना र परिकार खुवाउने ठाउँ हो । बास बस्नको लागि समेत त्यस्तै खालको व्यवस्था गरिएको हुन्छ । होमस्टेमा पर्यटक अर्थात पाहुनालाई परिवारका सदस्यसँग एउटै भान्छामा खाना खुवाइन्छ । बास बसेको घरमा परिवारसँगै खाना खाँदा पर्यटकहरू रमाउने गर्दछन । होमस्टे सञ्चालन गर्ने परिवार सँग रमाउँदै खाना बनाउन, तरकारी केलाउन वा बारीमा काम गर्न पनि पर्यटकहरू तम्सीन्छन । शहरी भेगका बालबालिकालाई होमस्टेमा बस्दा रमाउने मात्र होइन गाउँले जीवनशैली देख्दा खुशी मान्दछन् । चामल कहाँबाट आउँछ, गाइभैंसीले दूध कसरी दिन्छन, तरकारी कसरी फल्छ भन्ने जस्ता कुरा प्रत्यक्ष देख्न पाउँछन् । होमस्टे शहरी वातावरणमाम हुर्किएका बालबालिकाको सिकाइको थलो पनि हो । शहरी बालबालिकाहरूका लागि अनौपचारिक पाठशाला हुन्छ ग्रामीण भेगका होमस्टे । होमस्टेमा सित्तैंमा बस्न भने पाइँदैन । केही रकम तिर्नुपर्छ, तर त्यो रकम होटल वा रिसोर्टको भन्दा सस्तो पर्दछ । तर पनि होमस्टेमा पैसाले किन्नै नसकिने आत्मीयता पाइन्छ ।
शहर बजारका रेस्टुरेन्ट र होटेलको भन्दा छुट्टै स्वाद चखाउन र थारु परम्परा र संस्कृति जोगाउनका निम्ति कर्णाली प्रदेशको वीरेन्द्रनगर–१० नयाँगाउँस्थित थारु समुदायमा कर्णाली प्रदेश थारु होमस्टे स्थापना भएको छ । थारु समुदायमा लोप हुने अवस्थामा रहेको कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याइएको हो ।
स्थानीय कला संस्कृतिको संरक्षण तथा पर्यटनका माध्यमबाट समुदायको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याइएको सञ्चालक जितबहादुर चौधरीले बताएका छन् । उनले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका रूपमा परिचित क्षेत्र रहेकाले होमस्टे आकर्षणको केन्द्रबिन्दु बन्न सक्ने बताए । कर्णाली प्रदेश थारु होमस्टे प्राकृतिक र साँस्कृतिक सम्पदाले महŒवपूर्ण रहेका कारण अनुसन्धानकर्ताको लागि पनि उपयुक्त गन्तव्य बन्न सक्ने देखिन्छ । थारु जातीहरू बाट सन्चालन गरेको होमस्टेमा आजभोलि थारुको खानपिन, जीवनशैली र संस्कृति हेर्न पर्यटक आउने गरेको सञ्चालक चौधरीले बताए ।
कर्णाली प्रदेश थारु होमस्टेमा थारु परिकार ढिक्री खाजा सेट, लोकल कुखुराको परिकार, घोघी, माछा, स्थानिय सेतो भेडाको परिकार, गेगटा लगाएत परिकार पाइने होमस्टे सञ्चालक जितबहादुर चौधरीले बताए ।संचालक थारुले रेष्टुरेन्टमा विशेष तहः थारु परिकार पाइने भए पनि थारु भन्दा गैरथारु ग्राहक धेरै नै आर्कर्षित भएको बताए । होमस्टेमा सञ्चालनमा अझै नआईसकेको भएपनि निर्माणाधिन अवस्थामै दिनमा ५० जना भन्दा बढि ग्राहक आउने गरेको चौधरीको भनाइ रहेको छ । उनी थप्छन् ‘हामीले विधिवत रूपमा माघ १ गते नै यो होमस्टेको उद्घाटन गर्ने तयारी गरेका छौं । तर आन्तरिक पर्यटकहरूले निर्माणाधिन अवस्थामा पनि सेवा सुविधा दिन आग्रह गरेपछि अहिले हामीले ग्राहकहरूलाई सेवा दिइरहेका छौं ।’ उनका अनुसार ९ जनाको लगानीमा अहिलेसम्म ४० लाख बराबरको लगानी लागी सकेपनी अझै होमस्टे निर्माणको काम बाँकी छ । कर्णाली प्रदेशका १० जिल्लामा मध्ये सुर्खेतमा मात्र थारुसमुदाय रहेको र यो कर्णालीकै पहिलो होमस्टे भएको संञ्चालक जितबहादुर चौधरीले जानकारी दिए । वीरेन्द्रनगर नगरपालिका–४ का रमेश शाहि भन्छन् ‘कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यस्तो खालको होमस्टे पहिलो हो । यसमा आनन्द लिन र बिदाको समय विताउन म आएको हुं ।’ थारूपरिकारको स्वाद लिन पनी पाईने र एकान्त भएकोले थारुहोमस्टेमा आएको शाहिले बताए ।
कर्णाली प्रदेशमा पर्यटकहरूले घुम्ने र रमाउने थुप्रै ठाउँहरू रहेका छन् । त्यसमा पनि प्रदेशको राजधानी सुर्खेतमा देउती बज्यै मन्दिर, बुलबुले ताल र काँक्रेविहार घुमेर काँक्रेविहारको आडैमा रहेको थारु होमस्टेमा आएर थारु परिकार खाने तथा थारु संस्कृति हेर्नेको घुइँचो लाग्ने गरेको पाइन्छ ।