© २०२३
बुटवल,६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा बहुमतका नेताहरुबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो सिंहदरबारमा धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको नेकपा वहुमतको टोलीसंग भेटवार्ता भएको हो । भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताएका छन् ।
प्रधानमन्त्रीले संविधानमा समाजवाद उन्मुख नेपालको व्यवस्था सामान्य अर्थमा नलेखिएको चर्चा गर्दै नेपाली विशेषताको समाजवादी बाटोका बारेमा अहिले पनि बहस छलफल चलिरहेको बताए ।
भेटमा नेकपा बहुमतका नेताहरूले प्रधानमन्त्रीसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरेका थिए ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बास्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिँदै सरकारको न्यूनतम साझा कार्यक्रममा ज्ञापनपत्रमा उठाइएका अधिकांश विषय समेटिएको बताए ।
‘जनयुद्ध, थारु, मधेस लगायत विभिन्न आन्दोलन र संघर्षका क्रममा जेलमा रहेका बन्दीहरू रिहाइका विषयमा सरकार गम्भीर रहेको र यसअघि नै अध्यादेशमार्फत विधेयक ल्याउने भनिएकोमा संसद सञ्चालन भएकोले यो विषयमा अब संसदबाट नै विधेयक गरेर अघि बढ्ने प्रधानमन्त्रीले आश्वासन दिएका छन् ।