© २०२३
बुटवल,३० पुस । राष्ट्रपति र सभामुख लगायतका पदमा एमाले र माओवादीबीच यसअघि भएको सहमति उल्टिन सक्ने संकेत प्रधानमन्त्री प्रचण्डले गरेका छन् ।
सरकार बन्दा र प्रधानमन्त्रीले विश्वासको मत लिँदाको राजनीतिक परिस्थितिमा फेरबदल आएको त्यसअघि एमालेसंग भएको सहमति फेरिनसक्ने उनले संकेत गरेका हुन् । अब सर्वदलीय बैठक गरेर निर्णय लिनुपरेको जानकारी प्रधानमन्त्री दाहालले दिए ।
‘आफ्नै निवासमा बालुवाटारमा शनिबार सम्पादकहरुसँग अन्तर्क्रिया गर्दै दाहालले कांग्रेसले विश्वासको मत दिन्छ भन्ने नभएको तर उसले मत दिएपछिको राजनीतिक परिस्थिति फेरिएको बताए । उनले आफुलाई शेरबहादुर देउवाको औधि माया लाग्ने र झन् विश्वासको मत दिएपछि विश्वासको जागेको बताए । सर्वदलीय बैठकबाट राष्ट्रपति–सभामुख चयनबारे विचार बुझ्ने र सहमतिको वातावरण बनाउन खोजेको उनले प्रष्ट पारे ।
दाहाल सरकार निर्माण हुँदा सात दलबीच एमालेलाई राष्ट्रपति र सभामुख पद दिने सैद्धान्तिक सहमति भएको थियो । सरकार निर्माण हुँदा कांग्रेस र एकीकृत समाजवादी संलग्न थिएनन् । तर विश्वासका लिँदा दुवैले समर्थन गरेपछि दाहालले २६८ मत पाएका थिए ।
दाहालले परिवर्तित परिस्थितिअनुरुप उक्त सहमतिमा तल–माथि हुन सक्ने संकेत गरे । तर, उनले स्पष्ट रुपमा केही उल्लेख गरेनन् ।
यसअघि शनिबारै दाहाल र एमाले अध्यक्षबीच बिहान मन्त्रिपरिषद् विस्तार र सर्वदलीय बैठक बोलाउने सहमति भएको थियो ।
मन्त्रिपरिषद् विस्तारका सवालमा लगभग सहमति बनिसकेको र आइतबार साँझसम्म मन्त्रीहरुको नाम घोषणा हुन सक्ने जानकारी पनि दाहालले दिए ।