© २०२३
सल्यान, पुस । – सल्यानमा गत बर्षको तुलनामा कम क्षेत्रफलमा मकै खेती गरिएपनी उत्पादन भने बढेको छ । उन्नत तथा हाइब्रिड जातको मकै रोपेको र मौसम अनुकूल भएका कारण उत्पादन वृद्धि भएको हो । कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतका अनुसार गत वर्षको भन्दा यस वर्ष ९५५ हेक्टर कम क्षेत्रफलमा मकै खेती भएको छ । मकै खेती हुने बारीमा किसानले मौसमी तथा बेमौसमी तरकारी खेती गरेको हुँदा क्षेत्रफल घटेको उनको भनाई छ ।
गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा ६ हजार ८ सय ९० मेट्रीकटन मकै बढी उत्पादन भएको कार्यालयले जनाएको छ । यस वर्ष १८ हजार ५० हेक्टर क्षेत्रफलमा मकै खेती हुँदा ७४ हजार ६८० मेट्रीकटन उत्पादन भएको छ । गत वर्ष १० हजार ५ हेक्टर क्षेत्रफलमा ६७ हजार ७९० मेट्रीकटन मकै उत्पादन भएको थियो ।
सल्यानमा उत्पादन भएको मकै जिल्ला बाहिर समेत निर्यात हुने गरेको छ । सल्यानबाट उत्पादन भएको झन्डै ४० प्रतिशत मकै जिल्ला बाहिर निर्यात हुने गरेको सुचना अधिकारी बस्नेतको भनाई छ । दाङ, नेपालगन्ज, बुटवल, पोखरा लगायतका स्थानमा मकै निर्यात हुनेगरेको कार्यालयले जनाएको छ ।
सल्यान खाद्यान्नमा आत्मनिर्भर जिल्लाको रुपमा रहेको छ । जिल्लामा वार्षिक रुपमा एक लाख २९ हजार २५५ मेट्रीकटन खाद्यान्न उत्पादन हुने गरेको छ । जसमा ५३ हजार ९२६ मेट्रीकटन जिल्लामै उपभोग हुने गरेको छ । जिल्लाको कुल जनसङ्ख्याको आधारमा बार्षिक ४८ हजार ४ सय १८ मेट्रीकटन खाद्यान्न खपत हुने गरेको कार्यालयले जनाएको छ । जसबाट वार्षिक पाँच हजार ५०७ मेट्रीकटन खाद्यान्न बचत हुँदै आइरहेको छ । धान, मकै, गहुँ, कोदो जौ जस्ता खाद्यान्न वार्षिक रुपमा उत्पादन वृद्धि हुँदै जाँदा सल्यान खाद्यान्नमा आत्मनिर्भर बनेको कार्यालयले जनाएको छ ।