पाल्पा, ३१ भदौ ।
तानसेन नगरपालिका वड.नं. ९ तिन्तीआपका कृषक इन्द्र पौडेल कृषक पाठशालाका प्रशिक्षक हुन् । उनी जस्ता ३० जना भन्दा बढी कृषक खाद्यान्न तथा तरकारी बालीमा विषादीको प्रयोग रोकथाम गर्ने अभियानका अभियानकर्मी समेत हुन् ।
मुलुक संघीयतामा प्रवेश गर्नुअघि जिल्ला कृषि विकास कार्यालयद्वारा संचालित एकीकृत शत्रु जिव व्यवस्थापन तालिम संघीयताका कारण खोसिएको प्रशिक्षकहरु बताउँछन् । खाद्यान्न तरकारी, फलफुलमा कृषकहरुले अन्धाधुन्ध विषादीको प्रयोग गरेका कारण स्वास्थ्यमा प्रतिकुल असर परेकाले त्यसलाई न्यूनीकरण गर्न भन्दै कृषक पाठशाला खोलिएको थियो ।
कृषि विकास कार्यालयको क्षेत्राधिकार कटौतीसंगै कृषिलाई स्थानीय निकायमा पुर्याएपछि यस्तो कार्यक्रम हराउन पुगेको हो । जनताबाट निर्वाचित जनप्रतिनिधिले यसको महत्व बुझ्न नसक्दा र कृषिलाई प्राथमिकतामा राख्न नसक्दा यस्तो संवेदनशील कार्यक्रम एकादेशको कथा जस्तै भएको तानसेन नगरपालिका कृषि शाखाका प्रमुख सरोज तिमिल्सिना बताउँछन् ।
कृषि विकास कार्यालयले सेवा केन्द्र मार्फत यस्ता पाठशाला चलाउँथ्यो । किसानलाई वालीमा लाग्न साथ विषादीको प्रयोग गर्न नहुने जस्ता कुरा किसानलाई सिकाइन्थ्यो । सबै किराले बालीलाई नोक्सान नगर्ने र किराबाट किरा नियन्त्रण गर्ने विधि नै कृषक पाठशाला हो । यो कार्यक्रम कृषकहरुका लागि मात्र नभएर खाद्यान्न तथा तरकारी, फलफुल उपभोक्ताको लागि पनि प्रभावकारी भएको थियो । यसले कृषकहरुलाई कृयाशिल बनाएको कृषि विज्ञ महेन्द्र कौणाल बताउँछन् ।
पुर्वखोला गाउँपालिकाकी अगुवा कृषक मालती खनाल कृषक पाठशालाबाट प्रशिक्षित भएकी थिइन् । पछिल्लो समयमा स्थानीय सरकारले यस्ता कार्यक्रमलाई निरन्तता नदिंदा विषादीको प्रयोग बढेको उनी बताउँछिन् । “पहिले धानमा किरा देख्न साथ विषादीको प्रयोग गर्ने चलन थिएन । किराले किरालाई नियन्त्रण गर्ने चलन थियो । विषादी भन्ने प्रयोग नै हुँदैनथ्यो । कृषि विकास कार्यालयको संरचना हटेपछि यो कार्यक्रम हराउन पुग्यो”–उनी भन्छिन् ।
कृषक पाठशाला मात्र होइन, समग्र कृषिको विकास समेत खस्कँदो अवस्थामा रहेको पुराना कृषि प्राविधिकहरु बताउँछन् । पहिले जिल्लामा ५ वटा सेवा केन्द्रहरु थिए । एउटा सेवा केन्द्रले कम्तीमा ५–५ वटा पाठशाला चलाउने गर्थे । कृषकमा सचेतना तथा जागरणमा बल पुगेको थियो । पाठशाला भन्नासाथ एकोहोरो पुस्तक मात्र अध्ययन गर्ने भन्ने बुझिन्छ । कृषकको पाठशाला भन्नासाथ प्रयोगात्मक हुन्छ । कृषकले पढ्दै सिक्दै गर्ने पद्धति थियो । पहिले त घरमै विषादी बनाउने प्रचलन थियो । यसरी संचालित पाठशालाबाट जिल्लामा १ हजार भन्दा बढी कृषकहरु प्रशिक्षित थिए भने १ सय जति कृषकहरु दक्ष कृषि प्राविधिक बनेका पुराना कृषि विज्ञ थमन कार्की बताउँछन् ।
स्थानीय तहमा कृषिमा दक्ष प्राविधिक नहुनु, स्थानीय सरकारले कृषिको महत्व नबुझ्दा यस्ता कार्यक्रम हराएको विज्ञहरुको भनाई रहेको छ । कृषि ज्ञान केन्द्रका सन्तोष चौधरी भन्छन्, “कृषिमा धेरै कृयाकलाप संचालन गर्ने तालिम जस्ता कार्य स्थानीय तहलाई संघीय सरकारले अख्तियारी दिएका कारण कृषि ज्ञान केन्द्रबाट यस्ता गतिविधि नभएको हो ।”
क्यान्सर रोगी बढे
विषादीको प्रयोग जथाभावी गरेका कारण कृषकमा छालाको क्यान्सर देखा परेको छ । विषादीको प्रयोग आफु खुसी गरेका कारण छालामा क्यान्सर रोग देखा परेको हो । यसरी विषादी प्रयोग गर्दा हरेक गाउँपालिका तथा नगरपालिकामा क्यान्सरका रोगीहरु बढ्दो अवस्थामा रहेका छन् ।
हाल जिल्लामा १ हजार ५ सयको संख्यामा क्यान्सर रोगी तथा बिरामीको संख्या भएको स्वस्थ्यकर्मीहरु बताउँछन् । कृषि प्राविधिकको सुझावबिना कडा खालका विषादीको प्रयोग बढेका कारण यस्तो समस्या देखा परेको हो ।