© २०२३
पाल्पा, २६ भदौ ।
पाल्पाको पुर्वखोला गाउँपालिका, सिलुवाका अगुवा कृषक देव बहादुर बाह्रघरेले बारीमा अदुवा लगाउन छाडेको दुई वर्ष भयो । दुई वर्षअघिसम्म उनले राम्रो आम्दानी गर्ने योजना बनाएर बैंकबाट ऋण लिएर बारीभरि अदुवा लगाउँथे । तर अदुवाले प्रति केजी १० रुपैयाँ पनि मूल्य नपाएपछि उनले खेती गर्नै छाडे ।
सिलुवाकै अगुवा कृषक सन्तोष नेपालीले पनि यस वर्ष अदुवाको सट्टामा अन्य बाली लगाएका छन् । वर्षौदेखि पाल्पाली कृषकहरुको मुख्य नगदे बाली अदुवा खेती थियो । तर पछिल्ला वर्षहरुमा बजारीकरण र मूल्यको समस्या भएपछि अदुवाको सट्टामा यहाँका कृषकहरु अन्य खेतीतर्फ आकर्षित भएका छन् ।
विशेषगरी अदुवा मसला तथा औषधीजन्य बालीका रुपमा स्थापित थियो । कुनै समयमा १ हजार ५ सय हेक्टर क्षेत्रफलमा लगाइने अदुवा पछिल्लो दशकमा भारत निर्यात हुन नसक्दा किसानका बारीमा नै कुहिने अवस्था आएको छ । जसका कारण कृषकहरु अन्य बालीतर्फ आकर्षण बढेको स्थानीय पुराना कृषक मानबहादुर बयम्वु बताउँछन् ।
माथागढी गाउँपालिकाको गोठादीका कृषक नन्द बिर चिदी भन्छन्–“पहिले पहिले घरमा छोराछोरीको बिहे गर्दा र घर बनाउँदा लागेको ऋण बारीमा लगाएको अदुवा बिक्रीबाट तिर्न सकिन्थ्यो । बारीभरि लगाएको अदुवा डोकोमा बोकेर बजारसम्म लैजाने र बिक्री गर्ने चलन थियो, तर अहिले घरको आँगनमा मोटर आउँछ तर बारीमा केही छैन ।”
यसपटक मूल्य आउला भनेर अदुवा रोपेको तर लगातार तीन वर्षसम्म मूल्य नपाएको उनले दुखेसो पोखे । “बारीमा भएको अदुवा सबै सडेर र कुहेर गयो । अलिकति थियो रातिमा दुम्सी आएर सबै खनेर खायो । यसपटक लगाइएन तर मूल्य बढ्यो”–उनले भने । यसपल्ट अदुवा प्रति धार्नी २ सय रुपियाँमा बिक्री भयो । थोरै धेरै लगाएकाले पनि राम्रो मूल्यमा बिक्री गरेको उनी बताउँछन् ।
“जब बारीभरि लगायो त्यसैवर्ष मूल्य नै हुँदैन । पहिले पहिले टोलटोलमा संकलन केन्द्र थियो । ठाउँ ठाउँमा भारतीय व्यापारीहरु आउँथे”–उनी भन्छन् । उनका अनुसार भदौको पहिलो हप्तादेखि बारीमा अदुवा झिक्नेको लहरै हुन्थ्यो । बारीमा रोपेको मूल बिउ झिकेर बेच्दा तिज दसै मान्ने पैसाको जोहो हुन्थ्यो । त्यति बेला मूल्य र कृषकको उत्साह पनि थियो तर आजकल दुवै नभएको तिनाउ गाउँपालिका कोलडाँडाकी खेम कुमारी दलार्मी बताउँछिन् ।
अदुवा खेती यहाँका कृषकहरुको परम्परागत खेती हो । यसलाई थप व्यावसायिक बनाउनै भनेर गैरसरकारी संस्था पनि लागे । उत्पादनको ५ प्रतिशत पनि यहाँ खपत हुँदैन । खपत हुने भनेको भारत हो । जब भारत आफैले नै उत्पादन गर्न लाग्यो, तब यहाँका कृषकहरुलाई निल्नु न ओकल्नु भएको छ । भारतीय बजारमा प्रवेश नै नपाएपछि यहाँका कृषकहरुले ठूलो नोक्सानी बेहोर्नु प¥यो । त्यसपछि अदुवाको विकल्प खोज्न लागेको रिब्दीकोट गाउँपालिका देउरालीका पुराना अगुवा कृषक खिमानन्द पोखरेल बताउँछन् ।
किसानले उत्पादन गरेको अदुवा आफैले आगोको भट्टीमा सेकाएर सुठो बनाउने गर्थे । केही गैरसरकारी संस्थाले सौर्य उर्जाबाट प्रशोधन गर्ने काम पनि गरे । तर यो लामो समय सम्म टिकेन । एक दुई वर्षपछि यो बिस्तारै हरायो । अहिले त पहिलेको तुलनामा ५ प्रतिशतले पनि लगाउनै छाडेको पुराना किसानहरु बताउँछन् । पुरानो बालीलाई निरन्तता दिने काम निस्दी गाउँपालिकाले मात्र गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा अत्याधुुनिक प्रविधिबाट प्रशोधन गर्ने काम भएको कार्यालयका प्रमुख गणेश यादव बताउँछन् ।
सरकारले यसलाई प्रशोधन गर्नेतर्फ पहल गरेको खण्डमा पुनः यसको बिस्तार हुने र किसानहरुको लागि सजिलो र आयआर्जनको बलियो माध्यम बन्ने अगुवा कृषकहरु बताउँछन् ।