© २०२३
कविता
दिपा अधिकारी
मेरो साथीको बिहेको लागि
उसको बाबा केटा खोज्न गए
उताबाट सोधियोः कुन प्रदेश ?
प्रदेश फरक प¥यो
बिहे तोडियो ।
पल्लाघरे दाइले भाउजु ल्याए
प्रेम चलेको थियो
विहे गर्ने सहमति भयो
तर, प्रदेश फरक थियो
भाउजुका माइती आए
आफ्नो छोरीलाई लिएर गए
दाइ हेरेको हे¥यै भए ।
माथ्लाघरका कालु बाजे
यसै ठाउँमा बस्न रोजे
परिवार आएनन् एक्लै परे
बुढा भए, मरे
उनी आँगनमा पसारिएका छन्
कुर्नेहरु कमै छन्
मलामी जान कोही तयार छैनन्
यसकारण कि उनी यो प्रदेशका हैनन् ।
अहिले हामीलाई सिंहदरबारले
यस्तै–यस्तैमा डोराएको छ
यस्तै–यस्तैमा भुलाएको छ
नेता, कार्यकर्ताका हुलहरुलाई
संसद्, सांसद र मन्त्री बनाएको छ
यस्तै–यस्तैमा लोभ्याएको छ
देशैभरी नयाँ सिंहदरबारहरु उभ्याएको छ ।
जनतालाई सोधियो भने
सोझो उत्तर आउँछ
खोई के हो संघीयता ?
कहाँ छ हाम्रो प्रदेश ?
कहाँ छ हाम्रो स्थानीय सत्ता ?
स्थानीय सत्ता तलव थाप्न मख्ख छ
प्रदेश सत्ता चिल्ला कारमा मस्त छ ।
सिंहदरबार
न हिँजो जनताको थियो
न आज जनताको छ
न भोलि जनताको हुनेछ
नेपाल र नेपालीको नियति
हिँजो यस्तै थियो
आज यस्तै छ
भोलि अझ दुर्गति हुने देखिँदै छ ।।
देवदह.