© २०२३
तिलोत्तमा,१४ मंसिर । रुपन्देही क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले आफ्ना पुर्व सहकर्मी एवं भर्खरै सम्पन्न चुनावका प्रतिस्पर्धी घनश्याम भुसालका बुबालाई घरै गएर भेटेर आशिर्वाद लिएका छन् । घनश्यामका बुबा जनन्नाथको ९६ औं जन्मदिनको अवसर पारेर विश्वकर्मा तिलोत्तमा ९ स्थित घनश्यामका कान्छा भाइ दिवाकर भुसालको घरमा बुबासंग आशिर्वाद थाप्न र जन्म दिनको शुभकामना दिन गएका हुन् । घनश्यामका बुबाको जन्म दिन थाहा पाएर छविलालले फोन गरेर बुबाको जन्म दिन रहेछ, दर्शन गर्न र आशिर्वाद लिन भेट्न आउंछु भनेर भेट्न आएको जेठा छोरा ऋषिराम भुसालले बताए । ‘उहां आएर बुबालाई दोसल्ला ओढाइदिनुभयो,बुबाले अबीर र खादा लगाइदिएर आशिर्बाद दिनुभयो’–ऋषिराम भुसालले भने । भुसाल परिवार र छविलालको पहाड घर स्याङजाको बलाम पनि नजिक नजिकै भएको र अहिले चुनाव जितेको भएर बुबाको आशिर्वाद लिन र शिष्टाचार पुरा गर्न छविलाल आएको हुनसक्ने ऋषिरामले बताए । यसअघि २०७४ को चुनावका बेला पनि छविलाल घरमै आएको ऋषिरामले स्मरण गरे । घनश्यामका बुबालाई घरमै गएर भेटेकोबारे छविलालले पुर्व सहकर्मीको बुबा जगन्नाथ आफ्नो क्षेत्रको जेष्ठ नागरिक र मतदाता समेत भएकाले विशुद्ध आशिर्वाद लिन भेट्न गएको बताए । यो भेटभित्र कुनै राजनीतिक अर्थ नरहेको उनको भनाई छ । नेता विश्वकर्मा नेकपा एमालेभित्र शालीन नेतामा गनिन्छन् ।