© २०२३
बुटवल ,१० मंसिर । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन् । प्रदेश सभा निर्वाचनमा आफू सहित पार्टीका अधिकांश उम्मेदवारहरु पराजित भएपछि नैतिक जिम्मेवारी लिंदै उनले राजीनामा दिएका हुन् । बराल माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका दावेदार समेत थिए ।
शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै बरालले विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम राख्न समेत नसकेको र आफू स्वयंम उम्मेदवार बनेर पनि परिणाम सफल बनाउन नसकेकाले सबै परिणामको नैतिक जिम्मेवारी लिई अध्यक्ष पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
अध्यक्ष पदमा नरहे पनि अविचलितरुपमा पार्टी र आन्दोलनले सुम्पेको जुनसुकै जिम्मेवारी पूरा गर्ने र शहीदहरुको सामुमा लिएको शपथ कहिल्यै नभुल्ने प्रण गरेको विज्ञप्तिमा उल्लेख छ । उनले विविध कमि कमजोरीका वावजुद गठबन्धन सामान्यतः सफल भएको समेत उल्लेख गरेका छन् ।
पार्टीले पराजय भोग्नुका पछाडि प्रदेश सभा समानुपातिक तर्फको उम्मेदवार सुचि तयार गर्दा स्थानीय पार्टी कमिटिको भावना र मर्मलाई न्याय गर्न नसकेको, प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फका सीट वांडफाड र कतिपय स्थानमा स्थानीय पार्टीको सिफारिस वमोजिम उम्मेदवारलाई टिकट वितरणमा न्याय गर्न नसकेको,उम्मेद्वार मनोनयन दर्ता भैसकेपछि विभिन्न जिल्लामा देखा परेका समस्या र अन्तरविरोधलाई यथा समयमा सम्वोधन गर्न नसकेको लगायत कारण रहेको बरालले उल्लेख गरेका छन् ।
२०७४ को प्रदेश सभा सदस्य निर्वाचनमा माओवादीले एमालेसंगको तालमेलमा १९ सिट जितेको थियो । यसपटक नेपाली कांग्रेस सहितको सत्ता गठबन्धनमा रहंदा माओवादी केन्द्रले ५ सिट मात्र जितेको छ । प्रदेश सरकारका पुर्व सामाजिक विकास मन्त्री रहेका बराल माओवादी केन्द्रभित्र इमान्दार, स्वच्छ छवि र बौद्धिक नेतामा पर्छन् ।