© २०२३
कहिलेकाँही मानव जीवन र मानव चरित्रका वारेमा घोत्लिन मन लाग्छ । आफै विचार गर्छु– संसारमा विभिन्न वादहरू छन् । तिनै वादबाट निकै वर्षसम्म राज्य सञ्चालन पनि भएका छन् । कतिपय वादहरू कुनै विद्वानबाट प्रतिपादन भएर निकै लामो वहस र छलफल पश्चात मूर्तरूप दिइएको हो भनिन्छ । कनै वादहरू देवगणबाट प्राप्त भएका हुन पनि भनिन्छ । मानव सृष्टिको कुरा गर्दा पृथ्वी तातो अवस्थामा रहेको र विस्तारै सेलाउँदा वर्षा आरम्भ भयो । वर्षाकै कारणले विभिन्न जीवहरूको उत्पत्ति भयो । यीनै जीवहरूको विकसित रूप मानव जाति हो भन्ने गरिन्छ । यस्तैगरेर पृथ्वीको उत्पत्ति नै देवगणबाट भएको हो पनि भनिन्छ । उनीहरूले नै यसको रचना गरेका हुन भन्ने पनि सुनिन्छ । यस प्रकारका मतहरू निकै वर्षदेखि चलिआएका छन् र लाग्छ यस प्रकारको वहस आगामी निकै वर्षसम्म चलिरहने छ । यस्ता वहसहरू अत्य हुँदैनन् । जसले रचना गरे पनि अहिले विभिन्न वादहरूको अतित्व रहेको कुरा स्वीकार गर्नुपर्दछ । यही वादका कारणले विभिन्न जात जाति, भाषा भाषी, धर्म तथा सम्प्रदायमा विभाजन हुन पुगेको हो । वाद चाहे देव वाणी होस या मानव निर्मित होस् सबै मानव कल्याणका लागि बनेका छन् । कुन वादले मानव वस्ती ध्वंस पार्न भनेको छ र ? मानव जीवन समाप्त पार्ने कुरा पनि कुनैपनि वादले गरेका छैनन् । तर, आज वादका नाममा यदाकदा यस्ता विध्वंसका समाचारहरू सुन्न पाइन्छ । चाहे राज्य राज्य बीचको युद्ध होस चाहे एउटै राज्यभित्र आफ्नो अस्तित्वको लागि गरिएको विद्रोह होस या एउटाले अर्काको अस्तित्व समाप्त पार्नका लागि गरिको युद्ध होस । यी सबैले जनदेखि धनसम्मको नोक्सान गरिरहेका छन् । यस्तो कार्य आफूले गरेकोमा आत्मग्लानी हुनुपर्ने हो तर यसको उल्टो वीरता प्रदर्शन गरेको ठानेका छन् ।
आखिर जेसुकै वाद वा विचारका नाममा गरिएको विद्रोह होस । यसले मानव जीवन र मानव वस्ती नै ध्वंस भइरहेको छ । आज यसैबाट लाखौंको संख्यामा जनधनको नोक्सान भएको छ । हामीले हरेक मानिस स्वस्थ भएर बाँच्न पाउनु पर्छ भनेर विभिन्न स्थानमा अस्पताल स्थापना गर्न माग गरेका छौं । यसैबाट विभिन्न स्थानमा बडे बडे अस्पतालहरू सञ्चालनमा पनि आएका छन् । तर यसको उल्टो कतिपय स्थानमा युद्ध चलिरहको छ र लाखौं जनधनको नोक्सान भएको छ । कैयौं अस्पताल ध्वस्त भएका छन् । आज यही वादका नाममा या निषेधका नाममा अन्न उत्पादन हुनुको साटो खरखजाना, हात हतियार वा गोला बारुदहरू उत्पादन भइरहेका छन् । दिनहुँजसो मानव वस्तीमा बम बारुद पड्कीरहेका छन् र लाखौलाखको नोक्सान भइरहेको छ । एउटा विरुवा उमार्न, हुर्काउन र संरक्षण गर्न कति लगानी लाग्छ ? त्यसको हजार गुना बढी लगानी बच्चा जन्माउन हुर्काउन, दक्ष बनाउन लाग्ने गर्दछ । एउटा बच्चा दक्ष बनाउनका लागि परिवारदेखि राज्यको लगानी लागेको हुन्छ । कसैलाई आफ्नो अस्तित्वको निम्ति अर्काको ज्यान समाप्त पार्नका लागि तयार गरिएको हरियार प्रयोग गरेर क्षणभरमा जन र धन समाप्त पार्ने गर्दछ त्यो पनि एक दुईको संख्यामा होइन सयौं हजारौंको संख्यामा एकै पटक स्वाहा पारेको कुरा हामीले समाचारमा सुनिरहेका छौं । हामी त्यस्ता विध्वंस चलेको स्थानबाट टाढा छौं र त सुन्ने मात्र गछौं तर ती जसले यो क्रुरता भोगिरहेका छन् उनीको मनमा यतिवेला कस्तो भएको होला ?
दश वर्षको युद्धको नाममा हामीले यस्तै विकराल घटना भोग्न वाध्य भएका थियौं । यसको सार्थकताको वारेमा भोलीका दिनमा पनि प्रसस्त वहस र छलफल हुँदै गर्लान । हुनुपनि पर्दछ तर यहाँ एउटा पीडाको कुरा विसाउन मात्र चाहेको हो । त्यो समयका भोक्ताहरू अहिले पनि प्रसस्तै हुनुहुन्छ । त्यो अवस्थाको पीडा र दमन त आज सबैका मनमा ताजै छ । यसको वारेमा पनि भोलीका दिनमा पनि प्रसस्त मात्रामा बहस छलफल हुँदै गर्लान । हरेक कुरामा सकारात्मक र नकारात्मक साथैमा जोडिएर आएको हुन्छ भनिन्छ । त्यसैगरी दश वर्षे युद्धको सकारात्मक र नकारात्मक कुरा थपिदै गर्लान भन्ने अपेक्षा गर्न भने छोडनु हुँदैन ।
आज विश्वका विभिन्न मुलुकमा नागरिकले जुन पीडा भोगिरहेका छन्, वादका हिसाबले हामी भन्दा फरक होला तर आखिर एउटा मानव वस्ती सखाप भएको छ । कैयौंले ज्यान गुमाएका छन् । मानव स्वास्थ्य बचाउने अस्पताल जस्ता स्थानहरू नष्ट भएका छन् । उपचार नपाएर लाखौं छटपटाएका छन् । कति अंग भंग भएर मृत्यु पर्खेर बस्न वाध्य भएका छन् । यो त सत्य हो नी ? जसले अस्पताल समेत ध्वंस गरिरहेको छ, उसका लागि त्यो अस्पताल भन्ने स्थल चाहिन्छ कि चाहिदैन ? जसले बाटाघाटा पुल पुलेसा नष्ट गरेर बहादुरी देखायो वा देखाउँदै छ, उसका लागि त्यो बाटो वा पुल चाहिन्छ कि चाहिदैन ? अफूलाई चाहिने हो भने किन नष्ट गरियो र किन नष्ट गरिदै छ ? आफ्ना सन्तानको मायाँ उनीहरूलाई लाग्छ कि लाग्दैन ? यदि लाग्छ भने अर्काको सन्तान पनि उसका लागि उत्तिकै प्रिय त होला नी ? आफ्नो स्वार्थका निम्ति अर्काको ज्यान र अर्काले निर्माण गरेका संरचना किन समाप्त पार्नु परेको होला ? मानवताको परिभाषालाई अध्ययन गर्ने हो भने संसारमा जसले जति मात्रामा शोषण दोहन गरेको छ, निजी स्वार्थमा निर्लज्ज लागको छ, उसमा पनि केही सद्वुद्धि आउने थियो भन्ने लाग्दछ । आज जहाँको भएपनि नागरिकको ज्यान गएको छ । विभिन्न मुलुकमा भएका युद्धहरूले चारैतिर टाढासम्म सन्त्रास फैलाएको छ । विना कारण कतिपयको ज्यान गएको छ । उनीहरू मध्ये कतिपय विदेशी मुलुकका नागरिकहरू अध्ययनका लागि वा रोजगारका लािग पुगेका हुन सक्छन । अध्ययन गर्नेहरूले के विगार गरेका होलान ? रोजगारको सन्दर्भमा पुगेकाहरूले उनीहरूको के नोक्सान गरेका होलान र उनीहरूको ज्यान लिइएको होला ? हो यस्ता प्रश्नको उत्तर आज भेटिएको छैन । कतिको ज्यान गएको छ भने आज पनि कति जना वन्दी जीवन विताउन वाध्य भएका छन् ।
जहाँबाट जुन वादका लागि वा जुन स्वार्थका लागि गरिएको विद्रोह वा आक्रमण जेसुकै नाम दिएपनि यो पूर्णरूपमा बन्द हुनुपर्दछ । दुईपटक भएका विश्व युद्धले अव युद्ध होइन शान्ति चाहिन्छ भन्ने सन्देश छाडेर गएका हुन । जव हामीले युद्धले विध्वंस भन्दा अरू कोही कसैलाई केही दिन सक्दैन भन्ने बुझेका छौं । अनि फेरी अर्काको चित्त कुँडिनगरी कार्य किन गरिरहेका छौं ? युद्ध चाहनेहरूलाई त यसले आनन्द दिएको होला तर हरेक सर्वसाधारणलाई सन्त्रास भन्दा अरू केही दिन सकेको छैन । युद्धलाई सस्तो बनाउनु हुँदैन र आपसमा केही वेमेलका कुरा छन् भने सम्वादबाट र मध्यस्थताका माध्यमबाट समाधान खोज्न सकिन्छ । यो सुत्र हरेक स्थानमा लागू हुन्छ । यो शान्ति चाहनेहरूका लागि एउटा सुत्र पनि हो र एउटा मूल मन्त्र पनि हो । अरूलाई नष्ट पार्छु भन्दा कुनै दिन आफै त्यसको सिकार हुन वेर लाग्दैन । हिटलर त्यसै गरेर आफै समाप्त भएका हुन् । त्यसैले हरेक सत्जनले हरेक नागरिकको सम्मान गर्न जान्नु पर्दछ । चेतना भया ।