© २०२३
सुर्खेत, १९ पुस ।
सल्यानबाट यस वर्ष ८ हजार ९ मेट्रिक टन अदुवा निकासी भएको छ । कृषि विकास कार्यालयका अनुसार यस वर्ष झन्डै ४१ करोड रुपैयाँको अदुवा निकासी भएको हो । गत वर्ष ८ हजार ४ सय ३१ मेट्रिक टन निकासीबाट झन्डै ४२ करोड आम्दानी भएको थियो । अदुवा खेतीको लागि सल्यान प्रसिद्ध जिल्ला हो ।
शारदा नगरपालिका–१४ र १५ अदुवाका लागि प्रख्यात मानिन्छ । सल्यानका किसानले अदुवालाई आयआर्जनको स्रोत बनाउँदै आएका छन् ।
यहाँको अदुवा सुर्खेत, नेपालगन्ज, दाङ, काठमाडौं मात्र नभई भारतमा समेत निर्यात हुँदै आएको छ ।
कृषि विकास कार्यालयका सूचना अधिकारी ईश्वरी नारायण घर्तीले गत वर्ष २२ हजार मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष झन्डै २१ हजार मेट्रिक टन उत्पादन भएको जानकारी दिए । ५÷६ मेट्रिक टन बिउ राख्ने गरेको र ४÷५ मेट्रिक टन स्थानीय बजारमा बिक्री भएको उनले बताए ।
जिल्लामा उत्पादित अदुवा धेरैजसो भारतमा निकासी भएको छ । सल्यानका शारदा नगरपालिका, बाग्चौर नगरपालिका र सिद्धकुमाख गाउँपालिकामा सबैभन्दा बढी अदुवा उत्पादन हुने गरेको छ ।
बेमौसमी तरकारी उत्पादनको पकेट क्षेत्र भनेर चिनिने कपुरकोटका ६ वडाबाट मात्र २ करोड ५० लाखको २ सय ९० मेट्रिक टन अदुवा निकासी भएको पालिकाले जनाएको छ ।