© २०२३
प्यूठान, २३ कार्तिक ।
मारुनी नाचका गुरुमुखे खगे पुन उमेरले ७७ वर्ष पुगे । उनको मारुनीमा विधिपूर्वक गाउने मोह भने जवानी अवस्थाकै जस्तै छ । युवापुस्तालाई साथमा लिएर माझकोट सहित प्यूठानका सरायँ मेलाहरूमा मारुनी देखाउन पुन पुग्ने गरेका छन् ।
प्यूठान नगरपालिका–६ माझकोट फुकेथुमका उनी आफूले जान्ने भएदेखि बाबुबाजेका साथ मारुनी देखाउन थालेको बताउँछन् । गाउँमा अहिले फुर्केथुम मारुनी नाच तथा भैलो समुह गठन गरेर गुरुमुखेको रूपमा मारुनी प्रदर्शन गरिन्छ । पुजाआजा, गाउँमा देउसीभैलोसंगै, जिल्लामा हुने सरायँ मेलाहरूमा, भाइटिकाको दिन हुने पुरभुरे (जेठो छोरो जन्मिदा मगर समुदायमा तिहारमा गरिने छैठीको प्रकार), छैठी, आमन्त्रण गरिएका देवालीहरूमा गइ मारुनी प्रदर्शन गरिएको पुनले जानकारी दिए ।
‘मारुनी पछिल्लो समय संकटोन्मुख छ, युवा पुस्ता बैदेशिक रोजगारी, पेसा व्यवसायको सिलसिलामा गाउँबाहिर, पढाइका कारण गाउँ नबस्ने हुँदा गाउन र नाच्न रहर गर्ने युवा भेटिदैन’ पुनले भने,‘केहीलाई साथमा लिएर सिकाउने गरेपनि कतिवेला विदेशिने हो भन्ने पो छ ।’ गाउँबाट टाढाटाढा जान यातायात, आभुषणका लागि प्रर्याप्त पोशाक उपलब्धता छ । पहिला आमा, दिदीबहिनीका सारी, चोलोलगायत भेषभूषा, गरगहना लगाएर नाच्ने गरेको अनुभव छ ।
प्यूठान नगरपालिका–६ माझकोट निवासी शिक्षक रहेका मादले पोषण पुनले सिंगारु(महिला भेष), पूरसुङ्गे (पुरुष) एक÷एक र मादले २ गरी चार जनाले नृत्य गरिने बताए ।