पर्यटकीय दृष्टीकोणले कर्णाली प्रदेश ‘भर्जिन ल्याण्ड’ हो । यहाँको सबै जिल्ला प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाहरू छन् । कर्णाली प्रदेशमा सल्यान, हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालीकोट, जाजरकोट, पश्चिम रुकुम, दैलेख र सुर्खेत गरेर जम्मा १० जिल्ला छन् । भाषा, साहित्य, सांस्कृतिक, प्राकृतिक हिसाब र ऐतिहासिक रूपले समेत कर्णाली धनी छ ।नेपाली भाषामा लेखिएको पहिलो दामुपालको अभिलेख, नेपाली भाषाको उद्गमथलो सिंजा, सबैभन्दा ठूलो रारा ताल, गहिरो फोक्सुन्डो ताल, मुलुककै ठूलो शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, सबै भन्दाउच्च स्थानमाफल्ने मार्सी धान, एक हजार वर्षभन्दा पुरानो हल्जीगुम्बा, दुर्लभ हिउँ चितुवा र नेपालको रैथाने वनस्पतिको वासस्थान हो कर्णाली ।
डोल्पाको त्रिपुरा सुन्दरी मन्दिर, सल्यानको कुपिण्डे दह, सुर्खेतको काँक्रेविहार र देउतीबज्यै, जुम्लाको चैत्य, हुम्लाको लिमिउपत्यका, मुगुको छायाँनाथ, खार्पुनाथ सिमिकोट, कालिकोटको पाचालझरणा, चुलीमालिका, कोटदरबार पिली र मान्मबजार, दैलेखको पञ्चदेवल, राकम कर्णाली र पञ्चकोशी सर्किट, जाजरकोटको खलंगा दरबार, रुकुम पश्चिमको चित्रे पाटन जस्ता थुप्रै पर्यटकीय स्थल यहाँ रहेका छन् । सुर्खेतको बुलबुले ताल र पञ्चपुरी सर्किट, सल्यानको छायाँनाथ तथा खैरावाङ मन्दिर, रुकुमपश्चिमको सिस्ने हिमाल र स्यार्पुताल, मुसीकोट दरबार र डिग्रेमाई मन्दिर, जाजरकोटको भेरी मन्दिर लगाएतका स्थल पर्यटकीय गन्तव्यका सुचीमा छन् ।
- कर्णालीका पाँच रणनीतिक पर्यटकीय क्षेत्रः
पर्यटकीय स्थलहरूको विषयगत र भौगोलिक विशेषताहरूको आधारमा कर्णाली प्रदेश सरकारले पाँचवटा रणनीतिक पर्यटकीय क्षेत्रहरू पहिचान गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार डोल्पो पर्यटन क्षेत्रको जिल्ला र केन्द्र डोल्पा (दुनै) रहेको छ भने यसको प्रवेश मार्ग जुफाल, त्रिवेणी, काइगाउँ, विजेर, ढोरपाटन, मरिमला रहेको छ । यहाँको पर्यटन उत्पादनभनेको हिमालवार पारको भूदृश्य, जैविक विविधता (हिउँचितुवा), बौद्ध र बोन धर्मको सम्पदा, संस्कृती तथा अत्यन्त साहसिक गतिविधि र पर्वतारोहण रहेका छन् ।यस्तै मध्ये भेरी पर्यटन क्षेत्रको जिल्ला र केन्द्र रुकमपश्चिम, सल्यान, जाजरकोट रहेको छ भने यसको गेट वे मुसिकोट, कपुरकोट, चौरजहारी विमानस्थल, छिन्चु, सल्ले विमानस्थल (मुसिकोट) रहेको छ । पानीमा आधारित साहसिक गतिविधि र बिदा मनाउने, सँस्कृति, युद्ध पर्यटन, कृषि पर्यटन, वन्यजन्तु अवलोकन, हिमाली श्रृंखलाको दृश्यावलोकन यस पर्यटकीय क्षेत्रमा गर्न सकिन्छ ।अर्काे रणनीतिक पर्यटकीय क्षेत्रको रूपमामध्य कर्णाली पर्यटन क्षेत्र रहेको छ । यसको केन्द्र र जिल्ला सुर्खेत, दैलेख रहेको छ भने प्रवेशमार्ग बबई, गुँरासे, तल्लो डुङ्गेश्वर, चिसापानी, सुर्खेत रहेको छ । यहाँ धार्मिक र पुरातात्विक, पानीमा आधारित गतिविधिहरू, जनजातिको सँस्कृति, र व्यापारको अवलोकन गर्न सकिन्छ । प्रदेशको चौथो पर्यटकीय गन्तव्य रारा जुम्ला सिंजा कालिकोट पर्यटन क्षेत्र रहेको छ । यसको केन्द्र कालिकोट, जुम्ला, मुगु रहेको छ भने गेट वे गुठीज्युला, काइगाउँ, सल्ली सल्ला, कोल्टी, ताल्चा, खलङ्गा, नाग्चे लाग्ना रहेको छ । बिदा मनाउने, धार्मिक, आध्यात्मिक, स्वास्थ्य लाभ, खस सभ्यता र सम्पदा, जैविक कृषि, वन्यजन्तु, विशेष अभिरुचिका पर्यटकीय गतिविधिहरू यहाँ हुने गर्दछन् ।
पाँचौ रणनीतिक पर्यटकीय क्षेत्रको रूपमाहुम्ला–लिमी–हिल्सा पर्यटन क्षेत्र रहेको छ । यसको केन्द्र र जिल्ला हुम्ला (सिमिकोट) रहेको छ । केन्द्र र जिल्लाचेली, राकम, कोल्टी, सिमिकोट, हिल्स रहेको छ भने यहाँको पर्यटन उत्पादनको रूपमा कैलाश तीर्थस्थल गेट वे र सानो कैलाश, प्राचीन सँस्कृति, धामीझाँक्री, अत्यन्त साहसिक गतिविधि, जैविक विविधता रहेको छ ।
- जसको चिनारी ओझेलमा छः
प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले विभिन्न पर्यटकीय स्थानहरूको विकास र प्रवद्र्धनले पर्यटनलाई नयाँ उचाइमा लैजान सक्ने बताउँछन् । पदयात्रा र पर्वतारोहण अन्तर्गत पदयात्रा, शिखर आरोहण (५,०००–७,००० मिटर), पर्वतारोहण (७,००० मिटरभन्दामाथि), हिमनदीमा हिँड्ने, स्की र जीप सफारीजस्ता साहसिक गतिविधिहरू रहेका छन् ।नेपाल पर्वतारोहण संघले कर्णालीमा २२ चुचुराहरू खोल्न सिफारिस गरेको छ । तीमध्ये केही प्रमुख चुचुराहरूमा कुटी (६३६४ मि.), चांगला (६५६३ मि.), गुर्जा हिमाल (७१९३ मि.), नालाकांकर (६०६२ मि.), कागमरा शिखर (५९६० मि.), कांजीरोबा (६८३८ मि.) रहेका छन् । हालसम्म हिमालको आधार शिविर, पर्वतारोहण, र स्की प्रवद्र्धन भएको छैन । प्राथमिकताका क्षेत्रहरूमा डोल्पाको मैकोट, छर्का क्षेत्र, जुम्लाको पातारासी र लिमी उपत्यका रहेका छन् ।
यस्तै वन्यजन्तु अवलोकनमा हिउँचितुवाको अवलोकन कर्णालीको प्रमुख आकर्षण हो । यसकालागि मुख्य क्षेत्रहरू डोल्पाको छार्का भोट, धो फोक्सुण्डो, धो ताराप, मुगुको मुगुम कारमारोङ्ग क्षेत्र, काङ्गला तथा हुम्लाको चाङ्गला र लिमी उपत्यका रहेका छन् । यसैगरी जल पर्यटन तर्फ कर्णाली र भेरी नदीका सहायक खोलाहरू साहसिक गतिविधिहरूका लागि उपयुक्त मानिएको छ । कर्णालीनदी (हिल्सा–मुचु–सल्लीबजार), भेरी नदी (लसिकाप–सहरतारा–दुनै–त्रिवेणी नलगाड) र सहायकखोलाहरू छार्का तुल्सीखोला, सुलीगाढ, तिला कर्णाली रहेका छन् ।
बौद्ध र बोन सम्पदामा आधारित तीर्थयात्रातर्फ बौद्ध परिपथ लुम्बिनीबाट सुरू भएर काँक्रे विहार, दुल्लु, सिन्जा, रारा ताल, खार्पुनाथ, रलिङ्गगोम्बा हुँदै तिब्बतको कैलाश मानसरोवरमा जोडिने परिपथ प्रस्ताव गरिएको छ । बोन परिपथतर्फ डोल्पाबाट सुरू भएर धो ताराप, साल्दाङ्ग, शे गोम्बा, क्रिस्टल माउन्टेन हुँदै दुनैमा अन्त्य हुने यो परिपथ प्रमुख बोन सम्पदामा आधारित रहेको छ । हिन्दू, खस सम्पदामा काँक्रे विहार, पंचकोशी धार्मिक धाम, कालीकोटको मालिका मन्दिर, जुम्लाको चन्दननाथ मन्दिर, रुकुम, जाजरकोटका मस्टो र मालिकाहरू, सल्यानको छत्रेश्वरी, त्रिवेणीधाम, खैराबाङ्ग भगवती मन्दिर लगायतका रहेका छन् ।
- भर्जिन गन्तव्यहरूको विकासमा के छ योजना ?
कर्णाली प्रदेश सरकारले पर्यटकहरूको चासो बढाउन र भर्जिन गन्तव्यहरूको विकास गर्न विशेष योजनाहरू अघि सारेको छ । पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास र सांस्कृतिक संरक्षणमा प्राथमिकता दिइएको मन्त्रालयले बुटवल टुडेलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ । कर्णाली प्रदेशमा भर्जिन गन्तव्यहरूको प्रवद्र्धनका लागि पर्यटन गुरुयोजना लागू गर्ने नीति लिइएको छ ।पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माण र स्तरोन्नति अन्तर्गत सडक, हवाई सेवा, होटल र रेस्टुरेन्ट निर्माणको काम भइरहेको जनाइएको छ । यद्यपी सडक, हवाई यातायात र सञ्चार सेवामा सुधारको आवश्यकता देखिएको छ भने होटल र स्वास्थ्य सेवाजस्ता आधारभूत सुबिधाको कमी देखिन्छ ।भर्जिन गन्तव्यहरूको प्रचार–प्रसार गर्न पर्यटन मन्त्रालयले विभिन्न रणनीतिहरू अघि सारेको छ । मन्त्री अधिकारीका अनुसार निजी क्षेत्र, संघ सरकार र सञ्चार क्षेत्रसँग सहकार्यलाई जोड दिइएको छ । सहकार्यलाई प्राथमिकता दिँदैकानूनी र नीतिगत व्यवस्था अन्तर्गत गोष्ठी, अन्तक्र्रिया र सह लगानीमा जोड गरिएको छ ।
- पर्यटनको नक्शाबाट ओझेलमा सल्यानः
कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्ला पर्यटकहरूको लागि एउटा ‘भर्जिन ल्याण्ड’ जस्तै छ । यो क्षेत्र अझै पनि धेरै हदसम्म पर्यटनको नक्साबाट ओझेलमा रहेको भान हुन्छ । पर्यटनको अपार सम्भावना लुकेको जिल्ला हो सल्यान । सल्यानको रमणीय दृश्यावली, हरियाली जंगल, नदी, खोला, झरणा र हिमालका आँगनहरूले सबैलाई लोभ्याउँछ ।
वेमौसमी तरकारी खेती, फलफूल खेतीसँगै नेपालकै उत्कृष्ट खुकुरी निर्माणका रूपले प्रख्यात छ सल्यान । कुपिन्डे दह, खैराबाङ भगवती, छत्रेश्वरी सतिपिठ, शंखमुल, कालिमाटी गंगामाला, लक्ष्मीपुर जस्ता धार्मिकस्थल यहाँ रहेका छन् भने अदुवा खेती, अमिलो जातका फलफूल खेती तथा बाख्रापालन संगै कृषि पर्यटनको हिसाबले पनि सल्यान महत्वपूर्ण छ ।
सल्यानमा प्राकृतिक सुन्दरताको अनुपम नमूना कुपिण्डे ताल सबैभन्दा उच्च महत्वको पर्यटन गन्तव्यको रूपमा रहेको छ । सल्यान सदरमुकामदेखि करिब १५ किलोमिटर टाढा पर्ने यो ताल असाध्य मनमोहक छ । यस्तै कर्णाली प्रदेशको प्रवेशद्वार कपुरकोट पनि वेमौषमी तरकारी खेतीले नेपालमै प्रसिद्ध छ । यहाँ घंगारिचौर पार्क र सिद्ध गुफा उत्कृष्ट पर्यटकीय गन्तव्यबन्न सक्छन् । वनस्पती उद्यान, देशकै एकमात्र अदुवावाली अनुसन्धान केन्द्र पनि कपुरकोटमै रहेका छन् । यस्तै कालिमाटी रामपुरमा रहेको कछुवा दह प्राकृतिक सुन्दरताको अनुपम नमूना छ । तल शारदा नदी, माथि पहाड, पहाडको काखमा रहेको कछुवा दहमा डुङ्गामा सयर गर्न सकिन्छ । यस्तै लेखपोखरामा अत्यन्त आकर्षक र अनौठो गुफा छ । सो गुफा सात तलाको भएकोले साततले चाँदनी गुफा नाम राखिएको छ । बागचौर नगरपालिकाको मोख्ला बजार नजिक पर्ने शिव गुफापनि धेरै आकर्षक छ । लामो सुरुङ जस्तो गुफा विकास र प्रचारप्रसारको प्रतिक्षामा छ ।
यस्तै सल्यान जिल्लाको सर्वाधिक उचाईमा रहेको जथाक लेक, दोश्रो अग्लो कुमाख लेक आफैमा एउटा अत्यन्त सुन्दर प्राकृतिक सम्पदाहुन् । यी लेकको सुन्दरता र महत्व यसको उचाई जस्तै अग्लो छ । सल्यानमा पर्यटक आकर्षण गर्नसक्ने केही नदीखोलाहरू पनि छन् । कर्णाली प्रदेशको एक प्रमुख नदी भेरी नदी सल्यान जिल्लाको पश्चिम भागबाट बगिरहेको छ । त्यसरी नै सल्यानको काल्चे र कापे्रचौर भएर बबई नदी बगिरहेको छ । यता सल्यानको ठूलो भूभाग छिचोलेर शारदा नदी बगेको छ । यसले आफ्नो वरीपरि फराकिलो फाँट दिएको छ । सल्यानमा ऐतिहासिक धार्मिक आकर्षणका केन्द्र पनि रहेका छन् । खैराबाङ्ग भगवति मन्दिर सल्यानको प्रमुख धार्मिक स्थल हो । पाटेश्वरी भगवतिको नामले चिनिने यो मन्दिरका आफ्नै विशेषता छन् । जे बर माग्यो त्यो पुग्छ भन्ने मान्यताका आधारमा खैराबाङ्ग भगवतिको दर्शन गर्न बर्षेनी हजारौं मान्छेहरू झुम्मिन्छन् ।
छायाँक्षेत्र सतिदेवीको सम्पूर्ण शरीर पतन भएको स्थानको रूपमा स्वस्थानी ब्रतकथामा उल्लेख भएको छ । छत्रेश्वरी देवीको मन्दिर एक महत्वपूर्ण धार्मिक स्थल हो । वर्षभरी नै मन्दिरमा पूजापाठ र दर्शन हुनेगर्छ । यस्तै लक्ष्मीपुर सतिदेवीको करङ पतन भएको स्थानको रूपमा स्वस्थानी ब्रतकथामा उल्लेख भएको छ । कालिमाटी गाउँपालिकामा रहेको यो धार्मिक तथा ऐतिहासिक स्थलअर्को पर्यटकीय स्थलको रूपमा परिचित छ । कालिमाटीकै रामपुरमा रहेको देउतीबज्यै मन्दिर एक धार्मिक स्थलको रूपमा स्थापित छ । छत्रेश्वरी २ को गुराँसे युद्ध पर्यटन क्षेत्र, तिन छहरी झरणा पनि महत्वपूर्ण गन्तव्य हुन् ।