© २०२३
बुटवल, १५ कार्तिक ।
लुम्बिनी प्रदेशमा पुष्प व्यवसायीहरूको संख्या बढ्दै जाँदा लुम्बिनी प्रदेशमा यो बर्ष १२ करोड भन्दा बढिको सयपत्री फूल उत्पादन भएको छ ।
प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार किसानलाई पुष्प व्यवसाय खासगरी सयपत्री खेतीको लागि प्रोत्साहन समेत दिँदै आएको छ । निर्देशनालयका महानिर्देशक याम नारायण देवकोटाका अनुसार यो बर्ष प्रदेशका १२ वटै जिल्लामा व्यवसायिक सयपत्री खेती गरिएको छ । प्रदेशको कृषि विकास निर्देशनालयले तयार पारेको तथ्यांक अनुसार फूलको उत्पादन प्रदेशमा प्रतिरोपनी ६ सय किलो रहेको छ ।
निर्देशनालयका बागवनी विकास अधिकृत सुनैना बरालीका अनुसार यो बर्ष प्रदेशमा ३० लाख ८ हजार ५सय ८३.३५८ किलो सयपत्री फुल उत्पादन भएको हो । प्रदेशभरका किसानले गरेको व्यवसायीक सयपत्री फुल खेतीको कुरा गर्दा यो बर्ष १२ लाख ३४ हजार ३ सय ३३ वटा भन्दा बढि माल उत्पादन गर्न सकिन्छ । खासगरी तिहारको अवसरमा दिदी बैहिनीले आफ्ना दाजु भाईको गालमा सयत्री, मखमली फुलको माला लगाएर आशिष दिने प्रचलन रहेको छ । यसको साथै लक्ष्मी पूजा, घरको प्रवेशद्वार सजाउनको लागि देउँसी भैलो खेलमा समेत सयपत्री मालाको प्रयोग गरिने गरिन्छ ।
निर्देशनलायका बरिष्ठ बागवानी विकास अधिकृत बरालीका अनुसार यो बर्ष १२ करोड ३४ लाख ३३ हजार ३ सय ३९. २ रूपैयाँको सयत्रपी फूल उत्पादन भएको अनुमान गरिएको छ । यो संगै प्रदेश सयपत्री फूलको मालामा आत्मनिर्भर भएको हो ।
प्रदेशमा यो बर्ष २५.७२ हेक्टर क्षेत्रफलमा व्यवसायिक सयपत्री खेती गरिएको छ । यसको साथै करिब १० कठ्ठा क्षेत्रफलमा व्यवसायिक मखमली खेती समेत गरिएको छ ।
सयपत्री खेतीको व्यवसायिक खेती गर्नेमा सबैभन्दा बढि दाङ जिल्लामा खेती गरिएको हो । निर्देशनालयको तथ्यांक अनुसार ६.३८ हेक्टर क्षेत्रफलमा दाङमा सयत्रपी खेती गरिएको छ । यस्तै कपिलवस्तुमा ६ हेक्टरमा, रूपन्देहीमा ४.३० हेक्टरमा, गुल्मीमा २.७८ हेक्टरमा र पाल्पामा १.८८ हेक्टरमा व्यवसायिक सयपत्री खेती गरिएको हो ।
निर्देशनालयको अनुसार प्रदेशको जनसंख्या ५१ लख बढि छ । यो बर्ष १२ लाखको संख्यामा माला उत्पादन हुँदा प्रदेशको जनसंख्याको एक चौथाईलामा माला पुग्ने अनुमान गरिएको छ । विगतका बर्षहरूमा भन्दा यो बर्ष व्यवसायिक खेती गर्ने किसानहरूको संख्या समेत बृद्धि हुँदै गएको छ । स्थानीय पालिकाहरूले प्रदेश सरकारको सहयोगमा सयपत्री खेती विस्तार अभियान, व्यवसायिक पुष्प उत्पादन कार्यक्रम लगायतका कार्यक्रम समेत सञ्चालन गरेको कारण किसानहरूले व्यवसायिक उत्पादनमा हौसीएका हुन् ।