© २०२३
नेपालगञ्ज, ०७ भदौ ।
खेतमा रोपेको केही संख्या रुख बेचेर राम्रो आम्दानी भएपछि बाँकेको जानकी गाउँपालिका –५ का कुलेराज बर्मा रुख खेती तर्फ आकर्षित भए । करिब २४ बर्षअघि देखि नै पानी नलाग्ने खेतमा थोरै मात्रामा रुख रोप्दै आएका उनले अहिले १० विघा क्षेत्रफलमा ब्यवसायिक रूपमा रुख खेती गरिरहेको बताउँछन् । रुख खेतीमा आम्दानी बढी छ । ‘उनी भन्छन् मलैे नाफा हेरेर नै ब्यवसायिक रुख खेती गर्न थालेको हुँ, बार्षिक ५ देखि ७ लाख सम्मको रुख बिक्री गर्छु ।’ अन्न बाली भन्दा रुख खेतीमा मेहनत कम र थोरै लगानीमा धेरै फाईदा लिन सकिने बर्माको अनुभव छ । ‘एक कठ्ठामा दुई कुइन्टल धान फल्छ भने एक कुइन्टलको लगानी जान्छ, यो बिरुवा खेतीमा एक चोटी मात्र त्यही पनि धेरै लगानी लग्दैन ।’ बर्मा भन्छन्– ‘एक पटक कट्दा खेरी फेरी त्यसैबाट पलाउँछ कम्तीमा २० बर्ष लगानी लगाउन पर्दैन केवल नाफा मात्र हुन्छ ।’
पछिल्लो समय बाँके र बर्दियाका धेरै कृषकहरू रुख खेतीतर्फ आकर्षित भएको बताउँछन् । परम्परागत खेती भन्दा काठजन्य रुखबाट कम समयमा बढी आम्दानी हुने भएपछि यहाँका कृषक कृषि बनतर्फ आकर्षित भएका हुन् । रुख खेतीबाट फाईदा हुने सुनेपछि बर्दियाको बढैयाताल –७ मैनापोखर निवासी पार्वती काफ्लेले पनि सुक्खा एवं पाको जमिनमा रुख रोपेको बताईन् । करिब तीन बिघा क्षेत्रफल जमिनमा रुख खेती छ । उनले भनिन् ‘नगदे बाली भन्दा रुख खेतीमा मनग्य आम्दानी गरेको देखेर सुरु गरेको अहिले खडेरी लागला र बढी पानी परेर बिग्रेला भन्ने चिन्ता पनि छैन, म त रुख रोपेर ढुक्क छु ।’
एक पटक विरुवा लगाएपछि धेरै समयसम्म खासै मेहेनत समेत गर्नु नपर्ने भएपछि साना किसान मात्र नभई व्यवसायीक रूपमा स्थापित व्यक्तिहरू समेत नीजी वन तर्फ आकर्षित भएको देखिन्छ । कृषकहरूले लिप्टीस, बकाईनो, आँप, लहरे पीपललगायका विरुवा रोपोको बताउँछन् । विरुवा रोपेको ७ /८ बर्षमा बिक्री गर्न मिल्ने भएकाले अन्न बाली भन्दा रुख खेतीबाट करीव तीन गुणा बढी फाईदा लिईरहेको कृषकहरूको दाबी छ ।
पछिल्लो समय बाँकेमा प्लाईउड उद्योग लगायत विभिन्न काठ उद्योग खुल्नेक्रम पनि बढेका छन । जस्का कारण यस्ता काठहरूको माग अत्याधिक बढेकोले पनि नीजि वन प्रति कृषक आकर्षित भएको देखिन्छ । नेपालगञ्जको औद्योगिक क्षेत्रमा शिखर ग्रुप इन्ड्रष्ट्रीच सञ्चालन गरिरहेका चम्पालाल बोथ्राले करिब एक दशकदेखि ५० विघा बढी क्षेत्रफलमा तील लाख संख्याको हाराहरीमा रुख रोपेको बताए । नेपालमा ब्यावसायीक रुख खेती गर्न आफूले नै सिकाएको उनले दाबी गर्छन् । विदेशमा रुख खेतीबाट राम्रो आम्दानी भएको देखेर प्लाई उद्योग सँगै रुख खेती सुरु गरेको उनको भनाई छ । रुखखेतीबारे मलेसिया, इन्डोनेसियालगायत विभिन्न देशमा भ्रमण गरी अनुभव बटुलेर नेपालमा रुख खेतीको सुरुवात गरेको बोथ्रा बताउँछन् । ‘रुख खेतीबाट फाईदा लिनकोलागि मात्र नभई यहाँका किसानहरूलाई प्रोत्साहित गर्नकोलागि मइले रुख रोपेको हो,’ उनले भने –‘मेरो रुख खेती देखेर हाल बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका किसानहरूले करिब तीन करोडको संख्यामा रुख उत्पादन गरेर लाभ लिईरहेको अवस्था छ ।’ किसानहरूले उत्पादन गरेका रुखका काठहरू प्लाई उद्योगमा आउन थालेकाले उद्योगीहरूलाई पनि सहज भएको बोथ्रा बताउँछन् । ‘मेरो तीन लाख बिरुवा एकैपटक कटान गरेपनि उद्योगमा एक महिनालाई पुग्दैन ।’ उनी भन्छन्–‘अन्य किसानले उत्पादन गरेका काठ र बढी जसो पहाडी क्षेत्रमा पाईने उतिसको काठ उद्योगमा आउने गरेको छ ।’ पहाडी जिल्लामा प्रसस्त पाईने उतिस र तराईमा कृषकले गरेको ब्यावसायिक रुख खेतीका कारण नेपालमा प्लाईउड उत्त्पदानमा समस्या नरहेको बोथ्राको भनाइ छ ।
नेपाल सरकारले पछिल्लो समय २८ प्रजातिका रुखहरू बिना झन्झट बिक्री बितरण गर्न पाउने नीतिगत व्यवस्था बनाएपछि नीजी वन प्रती कृषकको आकर्षण अझ बढेको डीभिजन वन कार्यालय बाँकेले जनाएको छ । डिभिजन वन कार्यालय बाँकेमा नीजी वन दर्ता गराउनेको संख्या पनि बढ्दै गएको छ । विक्रम सम्वत् २०५२ देखि हालसम्म १८१ वटा नीजी वन दर्ता भएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी एवं वरिष्ठ वन अधिकृत विरेन्द्र रोकाले जानकारी दिए । किसानहरूले स्थानीय पालिकाहरूमा पनि दर्ता गराएर रुख खेती गरिरहेको उनले जानकारी दिए । बाँकेमा १५४.३४ हेक्टर क्षेत्रफल नीजी वनले ढाकोको जानकारी दिँदै उनले कृषकले उत्पादन गरेका काठजन्य रुखहरू अहिले बाँके मै खपत भईरहेको बताए । वरिष्ठ वन अधिकृत रोकाले भने ‘घरायसी प्रायोजनकालागि किसानलाई कुनै झन्झट छैन, तर कसले कति उत्पादन ग¥यो भन्ने लगत हामीलाई जानकारी गराउनु पर्छ ।’ डिभिजन वन कार्यालय नीजिवन प्रवद्र्धनकालागि सक्रिय रूपमा लागेको वरिष्ठ वन अधिकृत रोकाको भनाइ छ ।
नेपाली कृषकले उत्पादन गरेका कठबाट निर्माण गरिएका प्लाइउड भारतमा पनि अत्याधिक खपत हुँदै आएको ब्यावसायीहरू बताउँछन् । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालगञ्ज नाकाबाट २९ करोड ९३ लाख भन्दा बढीको प्लाइउड भारत निर्यात भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यो नाकाबाट १४ करोड १२ लाख ५४ हजार रूपैयाँको मात्र प्लाइउड निर्यात भएको थियो । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा १६ करोड रूपैयाँ बढीको प्लाइउड भारत निर्यात भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले बताए ।
उनले अघिल्लो आर्थिक वर्ष २०७९–८० मा नेपालगञ्ज नाकाबाट १४ करोड १२ लाख ५४ हजार रूपैयाँको प्लाइउड निकासी भएकोमा गत आर्थिक वर्ष २०८०–८१ मा दोब्बर बढी २९ करोड ९३ लाख ६१ हजार रूपैयाँको निर्यात भएको बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १५ करोड ८१ लाख ७ हजार रुपियाँ बढीको प्लाइउड निर्यात भएको छ । निर्यात दोब्बर वृद्धि भएपछि ब्यावसायीक रुख खेती गरिरहेका किसान र नेपालगन्जका प्लाइउड व्यवसायी थप उत्साहित भएका छन् । खासगरी नेपालमा उत्पादित उत्तिसका बिरुवाबाट निर्मित प्लाइउडको माग भारतीय बजारमा प्रशस्त रहेको उद्योगी व्यवसायीले बताएका छन् । नेपालगञ्ज स्थित ओम प्लाई एण्ड फर्निचरका प्रवन्ध सञ्चालक पशुपति दयाल मिश्रले भारतमा प्लाइउडकालागि काठ उत्पादन कम र माग बढी भएकाले नेपाली प्लाइउडको माग बढेको बताए । उनले भने ‘मेरो उद्योगमा उत्पादन भएको ६० प्रतिशत प्लाइउड हाल भारतमा खपत भईरहेको छ ।’ भारतमा नेपालबाट प्लाइउडको निर्यात हुनु राज्यसँगै रुख खेती गर्ने किसान र उद्योगी ब्यावसायीकोलागि पनि राम्रो अवसर रहेको मिश्रा बताउँछन् ।