© २०२३
लमही, ३१ बैशाख। गढवामा गौमुत्र बिक्रीवितरण सुरु गरिएको छ । गढवामा रहेको गाई संरक्षण केन्द्रबाट गौमुत्र संकलन गरि बिक्री सुरु भएको छ । गौमुत्र विभिन्न रोगको औषधिको रूपमा प्रयोग गरिन्छ । स्थानीयहरूले औषधीको लागि गाई संरक्षण केन्द्रबाट गाईको मुत्र किन्ने गरेको गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्रका व्यवथापक भक्त बहादुर रोकाले जानकारी दिए । उक्त गाई संरक्षण केन्द्रमा हाल २ सय ७५ गाई र २० बाच्छाबाच्छी रहेका छन ्। माग अनुसार गाई मुत्र संकलन गरेर २५ रूपैयाँ प्रति लिटरका दरले बिक्री गरेको गाई संरक्षण केन्द्रका अध्यक्ष जित बहादुर आले मगरले बताए । २०८० बैशाख १ गतेदेखि गाई मुत्र बिक्री सुरु गरीएको अध्यक्ष मगरले बताए ।
प्रशोधित बिनानै २५ रूपैयाँ प्रति लिटरका दरले बिक्री गरेका छौ, प्रशोधित गरेर बेच्दा भने बढी मूल्य पर्न सक्ने उनले बताए ।
गाईबाट संकलित मुत्र प्रशोधन गरि औषधिको रूपमा बिक्री गर्नका लागि योजना बनाई रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए । संकलित मुत्रलाई प्रशोधन गरि ग्याष्ट्रिक तथा पेटका अन्य समस्यामा औषधिको रूपमा प्रयोग गर्न सकिने भएकोले गाई मुत्र बारे ठूलो योजना बनाएर बिक्री बितरणका लागि प्रयास गरिरहेको अध्यक्ष पोख्रेलले जानकारी बताए । पोख्रेलले गाई संरक्षण केन्द्रलाई राम्रो तरिकाले व्यवस्थापन गर्दै यसलाई रोजगारसँग जोड्ने योजनाका साथ अघि बढेको बताए । गाईको संरक्षणसँगै गाईको मल, मुत्रलाई औषधीको रूपमा प्रयोग गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित भएको बताउँदै गाईको महव बारेमा सबैलाई बुझाउन आवश्यक रहेको बताए । हामी गाईको मल मुत्र र दुध सबै लाई उपयोग गर्ने र गढवामा नमुना गौशाला छ भन्ने सन्देश सबैलाई दिन खोजेको हो अध्यक्ष पोख्रेलले भने ।
हिन्दुहरूको महान पर्व तिहारको गाई पूजाको दिन २०८० कार्तिक २७ गतेका दिन गढवा गाउँपालिकाले सुरु गरेको स्थानीय जातका गाई संरक्षण तथा प्रवर्द्धन कार्यक्रम अन्तर्गत नव निर्मित गाई संरक्षण केन्द्र गढवाको उद्घाटन गरिएको थियो । गाई पूजाको शुभ अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले गाई संरक्षण केन्द्र गढवाको उद्घाटन गरेका थिए ।
गढवा बजार र आसपासका क्षेत्रहरूमा छाडा पशुु चौपायाले किसानहरूको बालीनाली खाएर सखाप पारेपछि किसानहरूको मागलाई ध्यान दिँदै गाउँपालिकाले झण्डै तिन सयको हाराहारीमा रहेका छाडा गाई–गोरुलाई गौशाला निर्माण गरि ब्यवस्थित गरेको छ । गढवा गाउँपालिकाले स्थानीय जातको गाई संरक्षणका लागि निर्माण गरेको गढवा गौशालामा हाल तिन जना गौ रक्षक राखिएको छ । गढवा गाउँपालिकामा रहेका छाडा गाई गोरुलाई गौशालामा ब्यबस्थापन गर्न पालिकाले सहयोग गर्दै आएको छ ।