© २०२३
‘रेडियो र विश्वास’ भन्ने नाराका साथ आज विश्वभरि विश्व रेडियो दिवस मनाइँदै छ । विश्वभरी हरेक बर्षको १३ फेबु्रअरीमा यो दिवस मनाउने गरिएको छ । सन. २०११ मा युनेस्कोले विश्व समुदायका लागि निरन्तर रूपमा प्रभावकारी सञ्चारको माध्यम बनेर सशक्त ढङ्गले योगदान पु¥याएको भन्दै फेब्रुअरी १३ को दिनलाई विश्वभर विश्व रेडियो दिवसको रूपमा मनाउने घोषणा गरेको हो । आजको दिन विश्वका रेडियो, रेडियोकर्मी र यससँग जोडिएका लाखौंलाख श्रोताका लागि विशेष दिन बनेको छ । नेपालमा पनि १२ औं रेडियो दिवस विभिन्न कार्यक्रम गरि मनाईदैछ । विश्व सूचना युगको महादौडमा रेडियो सशक्त र प्रभावकारी माध्यम हो । यसको प्रभाव अहिलेपनि कायमै छ । तर, रेडियाका श्रोता अहिले धेरै घटदै गएको अनुभूति गर्न थालिएको छ । पहिले रेडियो समाचार, सन्देश, शिक्षा र मनोरञ्जनको मूख्य आधार थियो । रेडियोको अगाडि बसेर समाचार, गीत संगीत सुन्ने ती दिन सुनौला थिए । अहिले रेडियो विस्थापित हुने अवस्थामा पुगेको छ । नेपालमा रेडियोको सुरुवात विक्रमसम्बत २००७ सालमा भएको हो । एक समय रेडियो नै सूचना साम्राज्य थियो । नेपालमा २०४६ अघि रेडियो नेपालको विकल्प थिएन । रेडियो भनेकै रेडियो नेपाल थियो । बिबिसी र भारतबाट प्रसारण हुने अलइण्डिया रेडियोबाट नेपाली कार्यक्रम प्रसारण हुन्थ्यो र श्रोताका लागि ती सूचना सामाग्री समाचारका श्रोत हुन्थ्यो । विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाई निश्चय नै सम्मानका साथ हेरिने गर्दछ । नेपालमा प्रजातन्त्र पुनस्र्थापनामा पनि रेडियोको भूमिका थियो । सर्टवेभमा आउने बिबिसीले नेपालमा प्रजातन्त्रको बिगुल फुकेको थियो । अन्य समाचार श्रोत नहुँदा श्रोताका लागि हरेक दिन साँझ पौने नौं बजे आउने बिबिसी नेपाली सेवा सुनेर आफ्नो धारणा बनाउनुपर्ने अवस्था थियो । रेडियो नेपालबाट मनोरञ्जनका सामाग्री बजेपछि समाचारको रूपमा पञ्चायत विरोधी समाचार प्रसारण हुदैन्थ्यो । रेडियो नेपाल राजा महाराजाका सवारी, उदघाटन, विदेश भ्रमण, आन्तरिक कृयाकलापमा सीमित थियो ।
बिस्तारै समय परिवर्तन हुँदै गयो । २०४६ सालमा बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछि नेपाल सूचना युगमा प्रवेश ग¥यो । अझै भनौं एफएम, पत्रपत्रिका र टेलिभिजनको बाढी आयो । चिन्ताको कुरा के छ भने ३० बर्ष पुग्दा नपुग्दा रेडियो र पत्रपत्रिका विस्थापित हुने अवस्थामा पुगेका छन । सूचना साम्राज्यमा सामाजिक सञ्जालको बर्चस्व बढ्दै गएको छ । टेलिभिजनले आफ्नो साख अझै बचाउँदैछ । बिडम्वना नै भन्नुपर्दछ– मानव सभ्यताको विकासमा रेडियोले महत्वपूर्ण भूमिका निर्वाह गरेपनि अहिले ती लोप हुने अवस्थामा पुगेका छन । सहर बजारमा रेडियो सुन्ने श्रोता नै घटेका छन भने गाउँघरमा पनि श्रोताको संख्या घटदै गएको छ । आज विश्व रेडियो दिवस भएको नाताले विश्वमा रेडियोको इतिहासलाई बिर्सन सकिदैन । सन् १८९४ मा इटालीका वैज्ञानिक जी मार्कोनीले रेडियोको आविष्कार गरेका हुन । रेडियो संस्थापकको जस उनै मार्कोनीलाई जान्छ । त्यसयता आजसम्म रेडियोले धेरै उतारचढाव बेहोरेका छन । एक स्थानमा बोलेको आवाज तारका माध्यमबाट विश्वको अर्को कुनामा सुन्न सकिने रेडियो आविष्कार गरेर मार्कोनीले विश्वलाई ठूलो गुन लगाएका हुन । सञ्चार माध्यममा यो एउटा विश्वकै ऐतिहासिक क्रान्ति थियो । तसर्थ विश्व रेडियो दिवसको अवसरमा मार्कोनीलाई सम्झनै पर्ने हुन्छ । विश्व सूचनाको युगमा प्रवेश गरेसंगै रेडियोलाई विस्थापित गर्ने अन्य धेरै बिकल्प आएका छन । सामाजिक सञ्जालले सूचनाको प्रतिनिधित्व गर्न थालेको छ । तसर्थ समाचारका लागि रेडियो सुन्नैपर्ने स्थितिको अन्त्य भएको छ तरपनि रेडियोको भूमिकालाई नजरअन्दाज गर्न सकिदैन् । रेडियो इतिहास हो र बर्तमान पनि । तसर्थ यसको साख जोगाउनेतर्फ सवैको ध्यान जानु जरुरी छ । रेडियोको घटदो श्रोता बढाउनेतर्फ पहल गर्नु जरुरी छ । त्यसका लागि रेडियोले स्तरीय सामाग्री श्रोतामाझ पु¥याउन अव ध्यान दिनैपर्दछ ।