© २०२३
नेपालगञ्ज, ८ वैशाख ।
विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
नेपालगन्ज रङ्गशालामा सोमबार कर्णाली प्रदेश फुटबल संघविरुद्ध ६–० को एकतर्फी जित निकाल्दै एपीएफ सेमीफाइनलमा प्रवेश गरेको हो । एपीएफको तर्फबाट रेनुका नगरकोटी, अनिता केसी, गीता राना र रश्मि कुमारी घिसिङले समान १÷१ गोल गरेका थिए । खेलको १८ औं मिनेटमा कर्णालीकी टिना रावतबाट आत्मघाती गोल हुन पुग्दा एपीएफले अग्रता लिएको थियो । सविताको प्रहार टिनालाई लाग्दै गोल भएको थियो । रेनुकाले ३५औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाइन् ।
अनिताले दुई मिनेटपछि नै गोल गर्दा एपीएफ ३–० ले अगाडि बढ्यो । गीताले ५०औं मिनेटमा एपीएफले एपीएफका लागि चौथो गोल गरिन् । एक मिनेटपछि नै रश्मीकुमारीले टोलीलाई ५–० को अग्रता दिलाइन् ।सविताले ५५औं मिनेटमा गोल गर्दा एपिएफले ६–० को सानदार जित दर्ता गर्यो ।कर्णालीविरुद्ध एपिएफले राष्ट्रिय टोलीका ९ खेलाडी मैदान उतारेको थियो । गोलकिपर अञ्जना रानामगरले भने एपिएफको लागि डेब्यू गरिन् । उनी अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब छाडेपछि एपिएफ पुगेकी हुन् ।
दोस्रो हाफमा अञ्जनाको स्थान सावित्री किशनले लिएकी थिइन् । ‘प्लेर अफ द म्याच’ एपीएफकी रेनुका भइन् । रौतहट फुटबल संघ, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । मङ्गलवार पहिलो सेमिफाइनल दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । प्रतियोगितामा नेपाल र भारतका गरेर ८ वटा टिमको सहभागिता रहेकोमा भारतको सलिगुडी फुटबल क्लब, सुदुरपश्चिम एफसी, बाँके ११ र कर्णाली एफसी पहिलोचरणको खेलबाट बाहिरिएका छन् ।
बाँके जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा सञ्चालित प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ । प्रतियोगिता वैशाख १२ गतेसम्म चल्नेछ ।