© २०२३
नेपालगञ्ज, ८ वैशाख ।
बाल विवाह न्युनीकरणका लागि बाँकेको राप्ती सोनारी गाउँपालिकाले वरघरहरुलाई गुहारेको छ । थारु र अन्य समुदाय मिश्रित गाउँ समाजमा अहिले पनि बरघर प्रथा कायम रहेको र बरघरको नेतृत्वमा समाज चलिरहेकोले वाल विवाह न्युनीकरणका लागि गाउँपालिकाले बरघरलाई गुहारेको हो ।
राप्ती सोनारी गाउँपालिकाले आइतबार बाल विवाह अन्त्यका लागि वरघरहरुको भूिमका सम्बन्धी अभिमुखिकरण कार्यक्रम समेत गरेको छ । अभिमुखिकरण कार्यक्रममा उच्च सरकारी वकिल कार्यालय नेपालगन्जका उपन्यायाधिवक्ता नगेन्द्र लम्सालले लैंगिक हिंसाको परिचय र महिलामाथि हुने कसुरलाई दण्डनीय बनाउन मुलुकी अपराध सहिंतामा भएको व्यवस्थाको बारेमा बरघरहरुलाई जानकारी गराएका थिए ।
उपन्यायधिवक्ता लम्सालले मातृमृत्यदर, बाल मृत्युुदर उच्च भएको कारण २० वर्ष पछि विवाह गर्ने निर्णय भएको बताए । बाल विवाह गर्दा बच्चा अस्वस्थ जन्मनु, महिलाको स्वास्थ्यमा समस्य आउनु, सम्बन्ध बिच्छेद जस्तो समस्या बढ्दै गएको बताए । विभिन्न हिंसामध्ये मानसिक हिंसा, शारीरिक हिंसा, यौन हिंसा सबै भन्दा बढी हुने गरेको पनि उनले बताए ।
यी सबै हिंसा रोक्नका लागि वालविवाह हुन नदिन बरघरहरुलाई उपन्यायाधिवक्ता लम्सालले आग्रह गरे । वालविवाहबाट हुने असरबारे थुप्रै घटनाहरुको उदाहरण दिँदै कार्यक्रममा सहभागी राप्ती सोनारी –५ टडुवाका बरघर ईतवारी थारुले पछिल्लो समय सम्बन्ध बिच्छेदका घटना बढ्दै गएको र श्रीमानसँग अंश लिएर आमा अलग बस्दा बालबच्चा राम्रो लालनपालन र शिक्षा नपाएको साथै बिचल्ली भएको बताए ।
सामाजिक सञ्जालले गर्दा पहिले भन्दा अहिले बाल विवाह बढ्दै गएको अर्का बरघर राप्ती सोनारी–८ पेरानीका रतिराम थारुले बताए । यस्तो अवस्थामा बरघरले मुखले सम्झाउने बाहेक अरु विकल्प नरहेको उनले बताए । अभिमखिकरण कार्यक्रममा राप्ती सोनारी अन्तर्गत विभिन्न वडाका करिब ६६ जना बरघरहरूको सहभागिता थियो ।