© २०२३
काठमाडौं, ८ वैशाख ।
यही वैशाख ११ गतेदेखि देशभर सञ्चालन हुने भनिएको नेपाली राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को वार्षिक परीक्षा अनिश्चित बनेको छ । विभिन्न माग राखेर २० दिनदेखि जारी शिक्षक आन्दोलनका कारण परीक्षा निर्धारित मितिमा सञ्चालन हुनेमा अनिश्चितता देखिएको हो ।
परीक्षाको मिति नजिकिदै जाँदा परीक्षाको अन्तिम तयारीमा जुटिरहेका लाखौं विद्यार्थीको परीक्षा आन्दोलनका कारण पूर्व निर्धारित मितिमा नहुने हो कि भन्ने अन्योल छ । त्यस्तै, चिन्ता अभिभावकलाई पनि थपिएको छ ।
ग्लोबल कलेज बानेश्वरबाट यस वर्षको कक्षा १२ को परीक्षा दिने तथारीमा रहेकी वसुन्धराकी अनुषा भट्टराई आन्नदोलनरत शिक्षक र सरकारप्रति असन्तुष्ट छिन् । उनले भनिन्, “हामी दिनरात पढिरहेका छौं, तर परीक्षा हुने नहुने भन्ने स्पष्ट छैन । मानसिक तनाव बढेको छ । लाखौं विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।” उनले पुर्वनिर्धारित समयमा परीक्षा दिन पाउनुपर्ने विद्यार्थीको अधिकार सुनिश्चित गर्न सरकार र शिक्षकहरुसँग माग गरेकी छिन् ।
त्यस्तै, अभिभावकहरूले पनि सरकार र शिक्षक दुवैलाई विद्यार्थीको भविष्यप्रति उत्तरदायी बन्न आग्रह गरेका छन् । ललितपुर लगनखेलकी उमा अधिकारी पनि परीक्षाको तयारीमा जुटिरहेको छोराको परीक्षा समयमै नहुने हो कि चिन्तामा छिन् । उनले आक्रोशित हुँदै भनिन्–“शिक्षा राजनीति गर्ने विषय होइन । दुवै पक्षले सहमति गरेर समयमै परीक्षा गर्नुपर्छ ।” उनले भनिन्–“समयमै परीक्षा नहुने हो भने अभिभावक पनि आन्दोलनमा निस्कनुको विकल्प छैन । उनका छोरा समर्पण अधिकारी सेन्ट जेभियर्स कलेजबाट कक्षा १२ को परीक्षा दिंदै छन् ।
शिक्षकहरू सरकारले ल्याएको शिक्षा ऐन संशोधन विधेयकको विरुद्धमा २० दिन देखि आन्दोलनरत छन् । उनीहरूले सरकारले आफ्ना मागमा गम्भीर ध्यान नदिएको भन्दै परीक्षा बहिष्कारसहितका कडा कार्यक्रम सार्वजनिक गरेका छन् ।
उता, शिक्षा विधेयक संसदीय समितिमा छ । केही त्यस्ता बिषय छन् । जसमा गहिरिएर छलफल गर्नुपर्ने छ । त्यसका लागि केही समय लाग्छ । सरकारले आन्दोलनरत शिक्षकहरुलाई यसका लागि केही समय लाग्ने र सरकारले छिटो भन्दा छिटो माग पूरा गर्ने प्रतिवद्धता पनि ब्यक्त गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए ।
प्रधानमन्त्री ओलीले शिक्षकहरूको जायज मागहरू सम्बोधन गर्न सरकार तयार रहेको बताए । उनले शिक्षकहरूको आन्दोलनले कक्षा १२ को परीक्षा प्रभावित नहोस् भन्ने सरकारको प्राथमिकता रहेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले शिक्षक प्रतिनिधिहरूलाई वार्ता मार्फत समस्या समाधान गर्न आह्वान गरेका छन् ।
महासंघका प्रतिनिधिहरूले शिक्षा ऐनको ग्यारेन्टी नभएसम्म आन्दोलन जारी राख्ने अडान कायमै राखेका छन् । कक्षा १२ को परीक्षा नजिकिदै गरेको अवस्थामा आन्दोलन चर्किएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पद्बाट राजीनामा दिएकी छिन् । विद्यालय शिक्षा ऐन पारित गर्न आफू गम्भीर रहेको प्रष्ट पारेकी थिइन् । शिक्षककै घेराबन्दीमा परेकी मन्त्री भट्टराईले सोमबार साँझ बालुवाटारमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएकी छन् । शिक्षकको वकालत गर्ने मन्त्री भट्टराईले शिक्षा ऐन यदि पारित गर्न नसके राजीनामा दिनेसम्मको घोषणा यसअघि गरिसकेकी थिइन् ्। उनको राजीनामा सँगै मन्त्री भट्टराईले समाधान गर्न नसकेको शिक्षकको माग÷आन्दोलनको समाधान अरु कोही आएर पनि तत्कालै गर्न नसक्ने भन्दै चिन्ता ब्यक्त गरेकी छन् । आफै शिक्षण पेशामा लामो समय अनुभव बटुलेको बौद्धिक र उत्तिकै लोयल भएकाले पनि उनले शिक्षकको माग सम्बोधन गर्न सक्ने संभावना थियो । अब त आन्दोलन झन उल्टो बाटोमा गएन ? भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका हुन् ।
नेपाल शिक्षक महासंघका अध्यक्ष सुवेदीले भने, “प्रधानमन्त्रीले तपाईंहरूका माग पूरा हुन्छ भन्नु भएको छ । आन्दोलन रोकेर कक्षा १२ को परीक्षा सञ्चालन र एसईईको कापी परीक्षणमा सहजीकरण गरिदिनुस् भन्नुभयो, तर ऐन जारी हुने ग्यारेन्टी नभएपछि आन्दोलन रोक्ने कुरा भएन । आन्दोलनलाई अझ सशक्त बनाउने तयारीमा छौं । जसले गर्दा २ दिनपछि सुरु हुन लागेको परीक्षाको अन्योलता बढेर गएको हो ।”